नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकद्वारा समसामियक विषयमा पार्टीको धारणा सार्वजनिक

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकद्वारा समसामियक विषयमा पार्टीको धारणा सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज ३ गते शुक्रबार ०६:१०

हाम्रो पार्टीले पहिलेदेखि नै उठाउदै आएको अधिकारसम्पन्न उच्चस्तरीय छानबिन आयोग गठन गरेर हालसम्म राजनीतिक तथा प्रशासनिकलगायत सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूमाथि कडा कार्वाही गर्न पुनः जोडदार माग गर्दछ ।

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर गोली प्रहार गरी नागरिकको हत्या गर्ने तथा घाइते बनाउने घटनाको वस्तुनिष्ट छानबिन गरी दोषीलाई कडा कारबाही गर्न जोडदार माग सो दलले गरेको छ ।

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकद्वारा समसामियक विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ । सो पार्टिका अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा यहाँ सम्पन्न बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिका विषयमा गम्भीर छलफल गरी असोज २ गते सो निर्णय गरेको हो ।
सो पार्टीले गत भदौ २३–२४ जेन–जी पुस्ताको शान्तिपूर्ण विरोध प्रदर्शनको आन्दोलनका क्रममा धेरै ठूलो जन धनको क्षति भएको छ । गोली वर्षाएर निहत्था किशोर किशोरी लगायत दर्जनौँ नागरिकको हत्या गरिएकोमा उक्त कार्यको पार्टी भत्र्सना गर्दछ भन्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर आन्दोलनका क्रममा गोली प्रहार गरी नागरिकको हत्या गर्ने तथा घाइते बनाउने घटनाको वस्तुनिष्ट छानबिन गरी दोषीलाई कडा कारबाही गर्न जोडदार माग गर्दछ भनिएको छ ।
बैठकपछि सो पार्टीका उपाध्यक्ष तथा केन्द्रीय प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले १० बुँदाको विज्ञप्ति जारी गर्नु भएको छ । विज्ञप्तिमा आज मुलुक गम्भीर मोडमा छ । अव मुलुक कसरी अगाडि बढ्ने भन्ने प्रश्न उठिरहेको छ । यस्तो स्थितिमा हाम्रो सिङ्गो पार्टी पङ्क्तिलाई निराश नभई उच्च मनोबलकासाथ अगाडि बढ्न, आ– आफ्नो क्षेत्रको पार्टी काम नियमितरूपमा अगाडि बढाउन र अन्य राजनीतिक दल, नागरिक समाज एवं आम जनसमुदायसँग हालेमालो गर्दै अगाडि बढ्न निर्देशन गरिएको उल्लेख छ ।
सो विज्ञप्तिमा हाम्रो पार्टीले पहिलेदेखि नै उठाउदै आएको अधिकारसम्पन्न उच्च स्तरीय छानबिन आयोग गठन गरेर हालसम्म राजनीतिक तथा प्रशासनिकलगायत सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूमाथि कडा कार्वाही गर्न हाम्रो पार्टी पुनः जोडदार माग गर्दछ भनिएको छ । प्रस्तुत छ सो विज्ञप्तिको पूर्ण विवरण :
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको दशौँ बैठक यही मिति २०८२ असोज २ गते अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ । बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिका विषयमा गम्भीर छलफल गरी निम्नानुसारको निर्णय गरेको छ ।
१. जेन – जी पुस्ताका युवाहरूले आह्वान गरेको २०८२ भदौ २३–२४ को आन्दोलनका दौरान दर्जनौं व्यक्तिहरूको ज्यान गएको छ, सयौं जना घाइते भएका छन् । आन्दोलनका क्रममा ज्यान गुमाएका किशोर किशारीहरू लगायत नागरिकहरूप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । आन्दोलनमा घाइते भएका व्यक्तिहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निशुल्क र भरपर्दो उपचारका लागि हाम्रो पार्टी सरकारसँग माग गर्दछ ।
२. हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालको घरमा आगजनी गरी उहाँको जीवन संगिनी रविलक्ष्मी चित्रकारलाई सख्त घाइते बनाउने घृणित कार्यको निन्दा गर्दै यो बैठक उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
३. २०८२ भदौ २३–२४ को आन्दोलनका क्रममा धेरै ठूलो जन धनको क्षति भएको छ । जेन–जी पुस्ताको शान्तिपूर्ण विरोध प्रदर्शनमा गोली वर्षाएर निहत्था किशोर किशोरी लगायत दर्जनौँ नागरिकको हत्या गरिएको छ । उक्त कार्यको हाम्रो पार्टी भत्र्सना गर्दछ । उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर आन्दोलनका क्रममा गोली प्रहार गरी नागरिकको हत्या गर्ने तथा घाइते बनाउने घटनाको वस्तुनिष्ट छानबिन गरी दोषीलाई कडा कारबाही गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।
४. जेन–जी पुस्ताको शान्तिपूर्ण विरोध प्रदर्शनमा घुसपैठ गरेर सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी गर्नेजस्ता विध्वंस मच्चाइएको छ । भदौ २४ गते हाम्रो देशका ऐतिहासिक धरोहरहरू सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, संघीय सरकारका मन्त्रालयहरू, प्रदेश सरकार तथा स्थानीय तहका कार्यालयहरू, अन्य विभिन्न सरकारी कार्यालयहरू, व्यवसायिक प्रतिष्ठानहरू, सञ्चार गृहहरू, राजनीतिक दलका कार्यालयहरू, पार्टीका नेता, कार्यकर्ता लगायतका नीजि घरहरूमा तोडफोड र आगजनी गरी ठूलो क्षति पुयाइएको छ । उक्त कार्यप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । उच्चस्तरीय छानबिन आयोग गठन गरेर तोडफोड, लुटपाट र आगजनी गरेर राष्ट्रिय तथा व्यवसायिक एवं नीजि सम्पत्तिमा क्षति पूरÞ्याउने कार्यको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।
५. हाम्रो पार्टीले पहिलेदेखि नै उठाउदै आएको अधिकारसम्पन्न उच्च स्तरीय छानबिन आयोग गठन गरेर हालसम्म राजनीतिक तथा प्रशासनिकलगायत सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूमाथि कडा कार्वाही गर्न हाम्रो पार्टी पुनः जोडदार माग गर्दछ ।
६. राजनीतिक अस्थिरता, आर्थिक संकट, भ्रष्टाचार कुशासन र बेरोजगारीका समस्या झेलिरहेको मुलुक २०८२ भदौ २३–२४ को जेन–जी आन्दोलनपश्चात् अन्योलग्रस्त अवस्थामा पुगेको छ। यस्तो अवस्थामा मुलुकको सार्वभौमिकता, संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान र लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू आपसमा सहकार्य गर्दै एकजुट भई अगाडि बढ्न हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ ।
७. आज मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी छ । यस्तो चुनौतिपूर्ण परिस्थितिमा हाम्रो पार्टी कम्युनिष्ट आन्दोलन तथा राष्ट्रिय स्वाधिनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि सम्पूर्ण कम्युनिष्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकतावद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्दछ । हाम्रो पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णय गरिएको छ ।
८. आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा भएको छ । तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न, गराउन हाम्रो पार्टी नेपाल सरकार, राजनीतिक दलहरू, नागरिक समाज एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछ । ९. हाम्रो पार्टी विगतका कामको समग्र समिक्षा गरेर निश्कर्ष निकाल्न र भएका गल्ती कमी कमजोरीहरू सच्च्याउदै व्यापक सुधारको प्रक्रियाका साथ राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ । साथै, आ–आफ्ना कामहरूको समीक्षा गरेर कमी कमजोरीहरू सच्याउदै अघि बढ्न नेपालका हरेक राजनीतिक पार्टीहरूलाई आह्वानसमेत गर्दछ ।
१०. आज मुलुक गम्भीर मोडमा छ । अव मुलुक कसरी अगाडि बढ्ने भन्ने प्रश्न उठिरहेको छ । यस्तो स्थितिमा हाम्रो सिङ्गो पार्टी पङ्क्तिलाई निराश नभई उच्च मनोबलकासाथ अगाडि बढ्न, आ– आफ्नो क्षेत्रको पार्टी काम नियमितरूपमा अगाडि बढाउन र अन्य राजनीतिक दल, नागरिक समाज एवं आम जनसमुदायसँग हालेमालो गर्दै अगाडि बढ्न निर्देशन गरिन्छ ।
प्रकाश ज्वाला
उपाध्यक्ष, केन्दीय कमिटी तथा
प्रमुख, केन्द्रीय प्रचार विभाग ।

प्रकाशित मिति २०८२ आश्विन ३, शुक्रबार १८:१० गते
हजुरको प्रतिक्रिया