बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ स्थित दुराडाँडा बेसीशहर समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । समाजको आयोजनामा स्थानीय अर्थ्ली प्याराडाइज आमाविको सभाहलमा असोज ४ गते विहान सो कार्यक्रम गरिएको हो ।
समाजका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले कार्यक्रममा सहभागिता बढेकोमा खुशी व्यक्त गर्दै प्राप्त सुझाव अनुसार आउँदा दिनका कार्यहरू अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । सदस्यहरूबाट उठाइएका प्रश्नको जबाफ दिदै उहाँले सदस्यहरूको पलायन(बसाइसराई)को स्थितिप्रति चिन्ता एवम् दुःख व्यक्त गर्दै बेसीशहरमा स्थायी घर रहेका ११ घरले बसाई सरेको जानकारी दिनु भयो । त्यस्तै अन्य पनि व्यापार, पेशा, व्यवसाय गर्नेहरू समेत पलायन हुने क्रम बढीरहेकोतर्फ ध्यानाकर्षण गर्दै आर्थिक संलकनलाई जोड दिनु भएको थियो ।
कार्यक्रमका सहभागीहरू सबैलाई आफ्नो परिचय सहित आआप्mना धारणाका साथमा शुभकामना आदान प्रदान गर्ने अवसर दिइएको थियो । सो कार्यक्रममा समाजका सल्लाहकार एवम् तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङले गत भदौ २३ र २४ गतेको आन्दोलन तत्कालीन सरकारको दम्भका कारण भएको हुँदा सरकार पनि जिम्मेवार छ भन्नुभयो । ऐले एआईको जमानामा फेसबुक लगायतका सञ्जाल बन्द गर्नु सरकारको गल्ती थियो भन्दै उहाँले वेथिति र भ्रष्टाचारका विरुद्धमा भएको आन्दोलनमा १९ जनाको ज्यान जाँदा पनि संवेदनशीलता देखिएन, जसका कारण राष्ट्रिय सम्पत्तीको ठूलो क्षति भयो भन्नुभयो ।
काँग्रेसको महासमिति सदस्य समेत रहनु भएका गुरुङले त्यो ओलीको अराजकता र उग्रराष्ट्रवादले निम्त्याएको विनास हो तर त्यसमा काँग्रेससमेत सरकारमा हुँदा समयमा सही निर्णय लिनबाट चुकेको हो भन्ने स्मरण गर्नु भयो ।
त्यस्तै, समाजका आजीवन सदस्य एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले समाजका सदस्य तथा सुभचिन्तकहरूको आशाअपेक्षा अनुरुप काम गर्न समितिले नसकेको टिप्पणी गर्दै उपलब्धिमूलक सेवाका अपनत्व हुने कार्यक्रम ल्याएमा पैसाको कमी हुँदैन भन्नुभयो । उहाँले समाजले गत वर्ष प्रकाशन गरेको दुराडाँडाको ऐतिहासिक दस्तावेज प्रकाशनको काम नगरेको भए त्यसको प्रकाशनको खर्च पनि जुट्दैनथ्यो, ऐले त्यो प्रकाशनको ऋण पनि छैन तर यौटा उदाहारणी काम भएको छ, त्यस्ता रचनात्कम काम गर्न र योजना समितिले ल्याउनु पर्ने सुझाब दिनु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का जिल्ला सल्लाहकार परिषदका संयोजक समेत रहनु भएका पहाडीले देश विषम परिस्थितिमा छ, झण्डै संविधान मात्र नभई व्यवस्थानै धरापमा पर्ने हो कि ! भन्ने स्थितिसमेत सिर्जिएको थियो तर राष्ट्रले केही क्षति बेहोर गर्नु परेता पनि ठूलो अनिष्टको क्षण टरेको छ भन्नुभयो । उहाँले पहिलो राष्ट्रपति रामवरण यादवबाट हिजोमात्र सार्वजनिक भएका भनाई जस्तै आफ्नो पनि सोच रहेको उल्लेख गर्दै उहाँका ती शब्द सापटी लिदै आउँदो फागुनका लागि तोकिएको आमनिर्वाचन निर्विवाद रुपमा सम्पन्न गर्न सक्दा लिक छाड्दै गरेको संविधान ट्याकमा आउँछ र त्यस्तो वातावरण बनाउनका लागि दुर्गा भवानीले सबैलाई सदबुद्धि र शक्ति प्रदान गरुन् भन्ने कामना गर्नुभयो ।
बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले जीवन्त संगठनका रुपमा अघि बढेको समाज सदभाव बाड्ने चौतारी बन्न सकोस् भन्ने कामना गर्नु भयो । उहाँले एकताबद्ध कार्यक्रमबाट त्यस्ता उपलब्धि हुने भन्दै उहाँले कमीकमजोरीलाई सच्याएर अघि बढ्नु पर्छ भन्नुभयो । समाजलाई आफूले व्यक्तिगत रुपमा पनि केही सहयोग गर्नु पर्यो भने सदैव तयार रहेको उहाँले उल्लेख गर्नु भयो ।
समाजका सल्लाहकार रमाराज खनियाले पछिल्ला वर्षमा समाज सुस्ताएको दाहोर्याउँदै यो स्थितिलाई चिर्न सक्नु पर्छ भन्नुभयो ।
समाजका उपाध्यक्ष उदयनाथ न्यौपानेले एकता र मिलनका चाडले हामीलाई उत्साह, उमङ्ग र सेवाका काममा उत्प्रेरणा दिन सकोस् भन्ने कामना गर्दै समाजले अध्यक्षको नेतृत्व र सक्रियतामा सकेसम्म राम्रा काम गर्न प्रयास गरेको स्मरण गर्नुभयो ।
पशुचिकित्सक नारायण कुसुमले भदौ २३ र २४ गतेको राष्ट्रिय क्षतिले दुःखी बनाएको उल्लेख गर्नुभयो । उहाँले फोन डायरीलाई अध्यावधिक गर्नु पर्ने सुझाब दिनु भएको थियो ।
नेपाली सेनाका निवृत्त कृष्णप्रसाद न्यौपानेले सत्य, निष्ठा, न्याय, संस्कृतिको धरोहरका रुपमा रहेको ऐतिहासिक थलो दुराडाँडाका उपज हामीहरूले त्यो धराको गरिमा बढाउने काम गर्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी, गैरी क्याम्पसका प्रशासन प्रमुख दिपक न्यौपानेले समितिले कसैलाई काखा कसैलाई पाखाको व्यवहार गरेको भन्ने गुनासो सुनिने गरेको हुँदा आउँदा दिनमा त्यस्ता कार्यमा सुधार होस् र गुनासा रहित काम गरियोस् भन्ने सुभेच्छा व्यक्त गर्नु भयो ।
शिक्षिका शिवकुमारी अधिकारीले समाज दुःख परेको बेलाको साथी हुन सक्नु पर्छ त्यस्ता कार्यक्रम र सबैलाई जोड्ने सञ्जालको सञ्चालन जरुरी छ भन्नुभयो । तरुण दलका जिल्ला सदस्य कुमार विकले समाजका कामप्रति आफू जानकार भएता पनि आफ्नो बेसीशहरको बसाईको टुंगो नभएका कारणले सदस्य बन्न मन नभएको बताउन भयो ।
त्यस्तै समाजका सुभचिन्तक लक्ष्मण कमलीले अन्य समाजका भवनहरू छन् हाम्रो समाजले पनि त्यसतर्फ सोच अघि बढाओस् भन्ने सुझाव दिनुभएको थियो ।
सो अवसरमा कार्यक्रम स्थलका दाता एवम् अर्थ्ली पाराडाइज आमाविका प्रिन्सिपल उद्धव घिमिरे, कर्मचारी युनियन लमजुङका जिल्ला अध्यक्ष विष्णुहरि न्यौपाने, जेष्ठ सदस्य लक्ष्मीप्रसाद तिमिल्सिना, समाजका कोषाध्यक्ष एवम् अर्थ्ली प्याराडाइज आमाविका सहायक प्रिन्सिपल रञ्जिता अधिकारी घिमिरेले आर्थिक अवस्थाका कारणले समाजले चाहेर पनि काम गर्न नसकेको उल्लेख गर्नुभयो ।
समाजका सचिव विनोद न्यौपानेले कार्यक्रमको सञ्चालन गर्दै काम गर्दा आएको दुःखद अनुभूति पस्कने काम गर्नु भएको थियो । उहाँले समाजको फेसबुक पेज आजै बताउने प्रतिवद्धता व्यक्त गर्दै निकट भविष्यमा दुराडाँडा क्षेत्रमा होमस्टे प्रवर्धनका लागि कार्य गर्ने, डेल्टासँगको सहकार्यमा शिक्षकहरूसँग अन्तरक्रिया गर्ने योजना रहेको जानकारी दिनु भएको थियो ।
प्रकाशित मिति २०८२ आश्विन ४, शनिबार १८:०८ गते