बेसीशहर– सरकारले सञ्चालनमा ल्याउने भनिएको दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल अझै पनि सञ्चालन भएको छैन । सरकारले आफ्ना दुई प्रमुख संस्थानमार्फत गत भदौ ३० गतेदेखि देशका १ सय ५१ स्थानमा ती पसल गत भदौ ३० गतेनै प्रायः सबै स्थानमा सञ्चालन गरेको भएता पनि लमजुङमा भने आज असोज ४ गते बित्दा समेत त्यस्ता पसल सञ्चालनमा आएका छैनन् ।
सरकारले विगत वर्षजस्तै दुई प्रमुख संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण ३० गतेदेखि गर्ने गरी तयारी गर्न भदौ १७ गते निर्णय गर्दै गरेका थियो ।
लमजुङमा विगतका वर्षमा पनि यस्ता पसल सञ्चालनमा ल्याएको थिएन । गत वर्ष अन्तरङ्गका तर्फबाट दबाब मूलक ढंगले जिल्ला प्रशासन कार्यालयमा यो विषय राख्दा यो वर्ष तयारीका लागि ढिला भयो, आउँदो वर्षबाट भने खुल्न भन्ने तत्कालीन प्रजिअबाट प्रतिवद्धता व्यक्त भएको थियो । सायद त्यसैले यो वर्ष त्यस्ता पसल सञ्चालन हुने स्थानमा लमजुङको पनि नाम छ तर त्यस्तो पसल भने आजका दिनसम्म पनि खुल्न नसक्दा उपभोक्ताको गुनासो बढेको छ ।
यस कार्यले महंगीको मार खेपिरहेका सर्वसाधारणले चाडपर्वका बेला केही हदसम्म भए पनि राहत पुग्ने देखिएको थियो ।
कहाँ– कहाँ छन् सुपथ मूल्य पसल ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ ।
चाडपर्वका बेला बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्दै सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन कम्पनीले सात प्रदेशका विभिन्न शाखा, डिपो र बिक्री केन्द्रमार्फत यो सुविधा प्रदान गर्न लागेको हो ।
कम्पनीका अनुसार पसलको वितरण प्रदेश अनुसार फरक छ, जसमा सबैभन्दा धेरै कर्णालीका दुर्गम क्षेत्र समेटेर ४२ स्थान र सबैभन्दा कम मधेसमा ३ स्थानमा यस्ता पसल सञ्चालन हुनेछन् ।
कम्पनीको योजना अनुसार सबैभन्दा धेरै ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेर कर्णाली प्रदेशका दुर्गम क्षेत्रका बासिन्दालाई राहत दिने भएको छ ।
कर्णालीपछि सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । लुम्बिनीका १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।
रोल्पामा मात्रै लिवाङसहित पतलाचौर, घर्तीगाउँ, सुलीचौर र बडाचौर गरी पाँच स्थानमा सहुलियत पसल खोलिएको छ ।
पूर्वी नेपालको कोशी प्रदेशमा कम्पनीले ११ स्थानबाट सहुलियत दरमा खाद्यान्न बिक्री वितरण गर्ने छ ।
बागमती प्रदेशका ५ स्थानमा यस्ता पसल सञ्चालन हुनेछन् ।
सबैभन्दा कम मधेसका उपभोक्ताका लागि सिरहा लहान, धनुषा जनकपुर र पर्सा वीरगञ्जमा गरी तीन प्रमुख स्थानमा सुपथ मूल्य पसल व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
साल्ट ट्रेडिङका देशभरि न्यूनतम ४० बिक्री स्थल राख्ने जनाएको थियो ।
गण्डकी प्रदेशमा भने ११ जिल्ला भएता पनि जम्मा ७ स्थानमा सुपथ मूल्य पसल तयारी थियो । ती स्थानमा कास्की बिरौटा, तनहुँ विमलनगर, गोरखा सिर्दिबास डिपो, लमजुङ सुन्दरबजार, मनाङ र मुस्ताङका शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्ने उल्लेख छ । तरलमजुङमा भने आजका दिनसम्म पनि पसल खुल्न सकेको छैन ।
यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा मैले सहायकलाई सम्बन्धित स्थानमा समन्वय गर्नका लागि भनेको छु । १, २ दिनमा समस्या समाधान होला प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनु भयो ।
कुन वस्तुमा कति छुट ?
ती सुपथ मूल्य पसलहरूमा नुन, चामल, तेलदेखि खसी–बोकासम्म आकर्षक छुटको व्यवस्था गरिएको छ ।
सरकारले खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने गरी व्यवस्था गरेको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।
साल्ट ट्रेडिङले आफ्ना बिक्री केन्द्रबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा किलोको ७ रुपैयाँ छुट दिने जनाएको छ ।
कम्पनीले जिउँदो खसी, बोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाएको छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
प्रकाशित मिति २०८२ आश्विन ४, शनिबार १८:१८ गते