काठमाडौ– चर्चित लोकदोहोरी गायिका लमजुङे चेली विष्णुमाया गुरुङ तमु (गुरुङ) कलाकार संघ नेपालको महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । संघको पाँचौ महाधिबेसनबाट गुरुङ महिला उपाध्यक्षमा सर्वसम्मत रुपमा असोज ४ गते पुनः निर्वाचित हुनुभएको हो ।
तमु कलाकार संघ नेपालको पाँचौ महाधिवेशनले गोर्खाका सागर गुरुङको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशनले सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । महिला उपाध्यक्षमा पुनः निर्वाचित गुरुङलाई महाधिवेशनमा देउवहादुर र कमला गुरुङ अक्षय कोषबाट सम्मान गरिएको छ । गुरुङ परम्परा र संस्कृति सम्वर्दनका लागि पुराउनुभएको योगदानकोे उच्च मूल्याकंन गर्दै निवर्तमान अध्यक्ष शर्मिला गुरुङको समितिले विष्णुमाया सहित अन्य ४ जना कलाकाहरूलाई नगद १० हजार रुपैया पुरस्कार राशी सहित सम्मान गरेको थियो ।
महिला उपाध्यक्षमा निर्वाचित हक्की स्वभावकी गुरुङ लमजुङको दोर्दी गाउँपालिका– ८ बन्सार स्थाई घर भई हाल काठमाडौलाई कर्मथलो बनाएर साँगीतिक यात्रामा अगाडि बढिरहनु भएकी उहाँ संघको दोस्रो कार्याकालका लागि निर्विरोध चयन हुनुभएको हो ।
काठमाडौमा बसेर संगीतमाला रोधिंघरको समेत सञ्चालिका रहनु भएकी गुरुङ हुनुहुन्छ । संस्थाको पदमा आसिनपछि आफ्नो जिम्मेवारी मिहिन ढंगले पूरा गर्नुपर्छ भन्ने सोचका साथ तमु कलाकार संघमा आवद्ध हुँदै आएको उहाँले बताउनु भएको छ । संस्थाभित्र कुनै पनि खालको राजनीति हुनुहुँदैन, कलाकारहरूको संस्थामा गुट उपगुट हुनुहुँदैन, सवैलाई एकताको सुत्रमा बाँधेर अगाडि बढाउनुपर्छ भन्ने सोँच राखेर आफू संस्थामा आवद्ध भएको उहाँको भनाइ छ ।
अग्रजलाई सम्मान गर्दै नवप्रतिभालाई प्रोत्साहन गर्ने कार्यमा आँफू कटिवद्ध भएर अगाडि बढ्ने गुरुङले बताउनुभयो । उहाँले आफ्नो सांगीतिक क्षेत्रलाई फराकिलो बनाउँदै करिव ३ दर्जन कलाकारहरूलाई रोजगारीसमेत प्रदान गर्दै आउनुभएको छ । रात्रीकालीन व्यवसाय आफैमा चुनौतीको व्यवसाय हो । त्यसलाई सामना गर्दै गीत संगीतको संरक्षण र संवर्दनको साथमा आफूजस्ता थुप्रै कलाकारहरूलाई रोजगारी दिन पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । देशमा केही भएन भनेर लाखौँ युवाहरू परदेश पलायन भइरहेको अवस्थामा गुरुङले नेपालमै झण्डै ३०÷३५ जनालाई रोजागरी प्रदान गरिरहनुभएको छ ।
दोर्दी गाउँपालिका– ८ बन्सारको वनपाखामा घाँस दाउरा, मेलापातसँगै आफ्नो सांगीतिक यात्रालाई अघि बढाउनुभएकी गुरुङले काठमाडौ प्रवेश गरेको १७÷१८ वर्षको अन्तरालमा सफल गायिका मात्रै नभएर एक सफल व्यवसायीको रुपमा समेत आफूलाई स्थापित गराउनु भएको छ । लमजुङमा हुने कार्यक्रमहरू, गाउँघरमा, विद्यालयमा हुने कार्यक्रमहरूमा सहभागी भएर आफ्नो गाउने रहन पूरा गर्दै आउनुभएकी गुरुङ २०६४ सालमा काठमाडौ प्रवेश गर्नुभएको हो । उहाँले गाउनुभएको ‘सल्ला धुपैले ………. ’ लगायतका केही गीतहरू करोडौँ क्लवमा प्रवेश गरेका छन् । सयौँ गीतमा आवाज भर्नु भएकी गायीका विष्णुमाया गुरुङले हङकङ, बेलायत लगायतका दर्जनौं देशहरूमा पूगेर आफ्नो प्रतिभा प्रस्तुत गरिसक्नुभएको छ ।
प्रकाशित मिति २०८२ आश्विन ५, आईतवार २१:४७ गते