काठमाडौं– पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध भएको हुँदा बडादशैंको बेलामा राजधानीबाट बाहिरी जिल्लामा जाने यात्रुहरूलाई सास्ती भएको छ । नौबिसे– मुग्लिन सडकखण्डका दुई ठाउँमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा असोज ८ गते राती ९ बजेदेखि अवरुद्ध भएकोमा ऐले बिहानबाट आंशिक खुला भएको छ तर जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका– १० बादरेमोडमा खसेको पहिरो छ । त्यस्तै, धुनिवेशी नगरपालिका– १ ठूलोखोला धार्के सितापाइला सडकखण्डमा पनि पहिरो खसेको कारण सडक पूर्ण अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको हो ।
गए राति पौने ९ बजे ठूलोखोमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङको सञ्चार शाखाले जनाएको छ । बादरेमोडको पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिएको सो शाखामा कार्यरत प्रहरी जवान प्रेम थापाले बताउनु भयो । उहाँका अनुसार बादरेमोडको पहिरो ठूलो छ । अहिले तत्कालै पन्छाउने अवस्था छैन । उहाँले भन्नुभयो, ‘भोलि बिहान नभइ राजमार्ग खुल्ने अवस्थामा छैन ।’ आज ९ गते बिहानसम्मका लागि वैकल्पिक बाटो प्रयोग गर्न पनि आग्रह गरिएको उहाँको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले रातभर पानी पर्नसक्ने जनाएको छ । जसकारण पनि अहिले तत्काल पहिरो पन्छाउन असम्भव भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, यही सडकको मुग्लिन–नारागयणढ अन्तर्गत पर्ने तुइन खोलामा अस्तिदेखि नै गएको ठूलो पहिरोका कारण सडक खुल्न नसकेको मुग्लिनको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बडादशैंको मौकामा राजमार्गमा आएका पहिरोले सडक अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौंबाट घरजान हिडेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
काठमाडौंबाट लमजुङ आउन करिब ७ घण्टा लाग्ने गरेकोमा अहिले भने दुई दिन लाग्ने गरेको जिल्ला फर्किरहेका यात्रुहरूले बताएका छन् ।
प्रहरीले बैकल्पिक मार्ग प्रयोग गर्न भनेको भएता पनि ती मार्गका ठूला बसहरू सञ्चालन गर्न सक्ने अवस्था छैन । त्यसैले पनि यात्रुलाई थप कष्ट र मनपरी भाडा तिर्नु पर्ने स्थिति सिर्जिएको गुनासा बढीरहेका छन् ।
प्रकाशित मिति २०८२ आश्विन ९, बिहीबार ०५:५५ गते