खुदी(लमजुङ)– लमजुङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दीगाउँ पालिकामा आजदेखि बडादशैं लक्षित कृषि तथा पशु हाटबजार सुरु हुने भएको छ । मर्स्याङ्दी गाउँपालिका– ३, को यहाँस्थित कृषि सेवा केन्द्र परिसरमा गत वर्ष जस्तै यसवषै पनि कृषि तथा पशु हाटबजार सञ्चालन गरिने भएको हो ।
मर्स्याङ्दी गाउँपालिकाको कृषि तथा पशु हाटबजार सञ्चालक समितिले दशैलाई लक्षित गरी असोज १०, ११ र १२ गते तीन दिनसम्म हाटबजार सञ्चालन गर्ने भएको हो ।
सो मेला आज असोज १० गते शुक्रबारबाट सुरु हुने भएको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ हाटबजार सञ्चालन गर्न लागिएको हो । गाउँपालिकामा उत्पादन भएका वस्तुको बजारिकरणलाई सहज बनाउन र कृषकलाई अर्गानिक उत्पादनमा प्रोत्साहित गर्न गतका वर्षझैँ यस वर्ष पनि हाटबजार आयोजना गर्न लागिएको सो गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिका कृषि तथा पशु हाटबजार सञ्चालक समितिको बैठकले असोज १०, ११ र १२ गते तीन दिनसम्म हाटबजार सञ्चालन गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो ‘हामी त्यसको तयारीमा जुटेका छौं ।’ सो हाटबजारमा कृषकहरूले आफ्ना कृषि तथा पशुजन्य खास गरी अर्गानिक उत्पादन बिक्रीका लागि ल्याउने व्यवस्था गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
कृषकलाई आफ्ना उत्पादनबारे अग्रिम जानकारी दिन आग्रह गरेको छ भने उपभोक्ताले चाहिएको वस्तु अग्रिम बुकिङ गर्न सक्ने सुविधा पनि समितिले मिलाइएको छ । यो व्यवस्थाले कृषकलाई उत्पादन बिक्रीमा सहजता दिलाउने र उपभोक्ताले आवश्यक वस्तु समयमा पाउने प्रवन्ध गरिएको उहाँले जानकारी दिनुभयो ।
बडादशैं लक्षित हाटबजारले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र कृषकलाई प्रत्यक्ष बजार उपलब्ध गराउने रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उल्लेख गरे । उनका अनुसार यो हाटबजारले कृषकलाई उचित मूल्य र उपभोक्तालाई सस्तो मूल्यमा ताजा उत्पादन उपलब्ध गराउनु हो ।
उहाँले भन्नुभयो, ‘हाटबजारमा ताजा कृषि उपज र मासुजन्य सामग्रीसँगै स्थानीय रैथाने बालीको प्रदर्शन र फुड स्टल पनि रहनेछन् । यसले स्थानीय संस्कृतिको संरक्षण र कृषि पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास छ ।’ स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नका र गाउँले बजार प्रवद्र्धन यो मेला गरिने भएको अध्यक्ष गुरुङले जानकारी दिनु भयो । किसानले स–सानो स्केलमा उत्पादन गरेको ५, ७ किलो, ८, १०, १५ किलोको सामग्रीले बजार पाउन नसकेको र किसानकै बारीमा कुहिएर जाने स्थितिको अन्त्य गर्नका लागि हाटबजार सञ्चालन गर्न लागिएको हो, गत वर्षको अनुभव राम्रो रह्यो अध्यक्ष गुरुङले भन्नुभयो ।
न्यूनत्तम र अघिकत्तम मूल्य निर्धारण :
गाउँपालिकाले हाटमा ल्याइने वस्तुको मूल्य न्यूनत्तम र अघिकत्तम समेत निर्धारण गरेको छ । केही वस्तुको मूल्य बजार समान छ भने केहीको केही ससतो समेत रहेको जानकारीमा आएको छ । जस्तै : गोलभेडा, घिउ सिमी, प्याज, अम्बा(लोकल), सखरखण्ड र काउलीको प्रति केजी ८० रुपैयाँ देखि एकसय रुपैयाँसम्म । आलु प्रतिकेजी ६० देखि ८० रुपैयाँ, चिचिण्डो, लौका, हरियो भटमास, तामा, मोही, फर्सी कैडो वा पोकेको ५० देखि ६० रुपैयाँ, मुला ४०– ५० रुपैयाँ, तने(मिटर) बोडी– ७०– ९० रुपैयाँ, कुभिण्डो, घिरौला, भेन्टा– ४०– ५० रुपैयाँ तोकिएको छ । यसैगरी, भेन्डी, काक्रो हाइब्रिड ६०– ७० रुपैयाँ, काक्रो लेकल ८०– ९० रुपैयाँ, गाँजर १२०– १४० रुपैयाँ, ट्सा, मेवा, न्यूरो प्रति केजी १००– १२० रुपैयाँ, कुरिलो ४००– ५०० रुपैयाँ प्रति केजी निर्धारण गरिएको छ ।
त्यस्तै, भट्ट लोकल, मोहीको रोटी, मास १८० देखि २००, अकबरे खुर्सानी प्रति केजी २००– ३०० रुपैयाँ, लसुन लोकल ३५०– ४०० रुपैयाँ, हाइब्रिड २५०– ३०० रुपैयाँ, अदुवा २००– २२० रुपैयाँ, टिमुर १८००– २००० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ । गुन्द्रुक, कागती लोकल २००– २५० रुपैयाँ, हाइब्रिड १००– १५० रुपैयाँ, किवि २००– २५० रुपैयाँ, मकैको पिठो, केरा काचो ६० देखि ७०, पाकेको १२०– १४० रुपैयाँ प्रति दर्जनकोसा । एभोकाडो प्रति केजी २००– २५० रुपैयाँ, मस्यौरा ३००– ३५० रुपैयाँ, ड्रागन फुड ३००– ४०० रुपैयाँ तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताउनुभयो ।
उहाँका अनुसार अमला, लप्सी र भुइँ कटहर १२०– १५० रुपैयाँ, चामल लोकल २००– २२० रुपैयाँ, अनदीको चामल १५०– २०० रुपैयाँ, कागुनो चामल, फापरको पिठो २००– २५० रुपैयाँ, बेसार ४०० देखि ५००, गाई भैंसीको घिउ १८००– २००० रुपैयाँ, भिरमह २०००– २५०० रुपैयाँ, खुदो ५००– ६०० रुपैयाँ, सिस्नोको धुलो १०००– १२०० रुपैयाँ, तेजपत्ता १०००– १५०० रुपैयाँ, जिम्बु २५००– ३००० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको गाउँपालिकाको बजार प्रवन्ध समितिले जनाएको छ ।
सो हाटमा स्थानीयस्तरमा उत्पादित कृषि उपज, पशुजन्य उत्पादन तथा हस्तकलाका सामग्रीहरू प्रदर्शनी र बिक्रीका लागि राखिने छन् । ‘सबै वडातहमा पुगेर गाउँगाउँमा अर्गानिक उत्पादनलाई जोड दिदै आएका छौं, त्यसको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले हाटबजार सञ्चालन गर्न लागिएको हो ।’ गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यसले कृषकलाई उत्पादन बढाउन प्रोत्साहन गर्नुका साथै उपभोक्तालाई पनि स्थानीय उत्पादन सहज मूल्यमा प्राप्त हुने अपेक्षा गरिएको छ । मर्स्याङ्दी गाउँपालिकाले हाटबजारलाई स्थानीय उत्पादनको बजारिकरणलाई व्यवस्थित गर्ने, कृषकलाई व्यवसायिक उत्पादनमा जोड्ने र कृषक–उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अवसरका रूपमा लिएको छ । यसअघि पनि हाटबजारले स्थानीयस्तरमा राम्रो प्रभाव पारेको अनुभव भएकाले यसलाई निरन्तरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनु भएको छ ।
प्रकाशित मिति २०८२ आश्विन १०, शुक्रबार ०६:४५ गते