३८ वर्षपछि नेतृत्वबाट हट्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घोषणा : पार्टीको विशेष महाअधिवेशन मंसिरको अन्तिम साता

३८ वर्षपछि नेतृत्वबाट हट्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घोषणा : पार्टीको विशेष महाअधिवेशन मंसिरको अन्तिम साता

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज ११ गते शनिवार ०७:५४

प्रचण्ड २०४४ सालको सेक्टर काण्डबाट मोहन वैद्य किरणलाई महासचिवबाट हटाएर महामन्त्री बन्नु भएको हो । त्यसपछि उहाँ नै निरन्तर पार्टीको नेतृत्वमा हुनुहुन्छ । पछिल्लोपटक २०७८ पुसमा उहाँ पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङउपर उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउने बेलामा कसको एजेन्ट हुनुहुन्थ्यो भन्दै प्रश्न उठाउनु भएको थियो ।

काठमाडौँ– अविछिन्न ३८ वर्षदेखि पार्टी नेतृत्वमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको प्रमुख नेतृत्वबाट विश्राम लिने घोषणा गर्नु भएको छ । पार्टीको विशेष महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णयसँगै दाहाल अब संयोजकको रुपमा मात्र रहने असोज १० गते घोषणा गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भंग गर्दै आउँदो मंसिर अन्त्यमा महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ । बैठकले माओवादी केन्द्रीय कमिटी अब महाधिवेशन आयोजक कमिटीमा असोज १० गते रूपान्तरण भएको छ ।
नेतृत्व छाड्नका लागि पार्टी भित्रै दबाब झेल्दै आउनुभएका प्रचण्डले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको परिणाम स्वरुप उहाँ माओवादीको नेतृत्व छाडने हुनु भएको हो । जेनजी पुस्ताको माग बमोजिम नेतृत्व र कार्यशैली बदल्न भन्दै माओवादीको केन्द्रीय कमिटि बैठकले आउँदो मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्डले ‘फेरि आफै अध्यक्ष बस्न खोजेको अर्थमा नबुझिदिन’ आग्रह समेत गर्नु भएको थियो । प्रचण्डले जीवनको अन्तिम समयसम्म पार्टी, आन्दोलन र देशप्रति सक्रिय रहने बताउनु भएको छ ।
बैठकमा प्रचण्डले पार्टी निर्णयविपरीत गतिविधि गर्ने नेताहरूलाई सचेत गराए, विशेष महाधिवेशनको प्रस्तावबारे प्रष्ट पार्नु भएको थियो ।
विशेष महाधिवेशनमा जाने निर्णयसँगै माओवादीलाई केन्द्रीय कमिटि भंग गर्दै महाधिवेशन आयोगक कमिटिमा रुपान्तरण गरेसँगै प्रचण्ड अध्यक्षबाट महाधिवेशन आयोगक कमिटिको संयोेजक हुनु भएको छ ।
एकीकृत समाजवादी, नेकपासहितका दलसँग जारी एकता प्रयासले सार्थकता नपाए माओवादी तोकिएकै मितिमा महाधिवेशन गर्न तत्पर देखिएको छ । यदि पार्टी एकता भयो भने केही समय महाविधेशन सर्ने नेताहरूको बुझाइ रहेको छ ।
केन्द्रीय कमिटिको बैठकपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भन्नुभयो, ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो ।’
दाहालका विश्वासपात्र नेता वर्षमान पुनले पनि अब उनी विशेष महाधिवेशनमा नेतृत्वको आकांक्षी नभएको दाबी गर्दै प्रचण्डले विशेष महाधिवेशनमा उम्मेदवार नै नबन्ने दाबी गर्नु भयो । अब उहाँको भूमिका कस्तो हुने भन्नेबारे पनि छलफल सुरु भएको छ ।
देव गुरुङविरुद्ध जनार्दन ः पार्टी फुटाउनुमा के स्वार्थ थियो ?
यसैबीच, माओवादी केन्द्रका महासचिव देव गुरुङउपर उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउने बेलामा कसको एजेन्ट हुनुहुन्थ्यो भन्दै प्रश्न उठाउनु भएको थियो । शर्माले बैठकमा आफ्नो धारणा राख्ने क्रममा भन्नुभयो, ‘म महासचिव कमरेडलाई मात्र सोध्न चाहन्छु । भएको ठूलो र बहुमतको पार्टीलाई कसको एजेन्ट भएर फुटाउनु भयो ?’ गुरुङले नेतृत्वबारे प्रश्न उठाउँदा साम्राज्यवादी एजेन्डा हुने धारणा राखेपछि शर्माले यस्तो कटाक्ष गरेको स्रोतको भनाइ छ ।
विगतमा मोहन वैद्यले माओवादी पार्टी फुटाउँदा गुरुङको पनि महत्त्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो । तर पछि गुरुङ माओवादीमै फर्कनु भएको थियो । उहाँले पार्टीभित्र उठेका बहसलाई रोक्नु उचित नहुने भन्दै नेतृत्वसम्बन्धी प्रश्न आफूले दुई वर्षदेखि निरन्तर उठाउँदै आएको स्मरण गराउनु भएको थियो । अध्यक्ष ‘प्रचण्ड’लाई आफूले पटक–पटक सङ्गठनात्मक जिम्मेवारी हस्तान्तरण गरेर वैचारिक तथा राजनीतिक नेतृत्वमा सीमित रहन सुझाव दिएको स्मरण गर्दै शर्माले संविधान ‘मुर्छित’ अवस्थामा पुगेको टिप्पणी गर्दै उनले राष्ट्रियता र सीमाको सङ्कटलाई प्राथमिक एजेन्डा बनाउनुपर्ने धारणा राख्नु भएको थियो ।
विशेष महाधिवेशन अगाडि समेत छरिएर रहेका र बिचार मिल्ने कम्युनिस्ट पार्टीहरूसँग एकताको पहल गर्ने निर्णय भएको छ ।
‘पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि भएको छ ।’ प्रवक्ता अग्नि सापकोटाले भन्नु भएको छ ।
बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव परिमार्जन सहित पारित गर्दा नेताहरू नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको प्रस्ताव भने अस्वीकृत गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले फागुन २१ को चुनावपछि मात्रै महाधिवेशन गर्ने प्रस्ताव गर्दै पार्टीको कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने माग गर्नु भएको थियो ।
उपमहासचिव जनार्दन शर्माले अहिलेका कोही पनि पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउन प्रस्ताव गर्नु भएको थियो ।
प्रचण्ड २०४४ सालको सेक्टर काण्डबाट मोहन वैद्य किरणलाई महासचिवबाट हटाएर महामन्त्री बन्नु भएको हो । त्यसपछि उहाँ नै निरन्तर पार्टीको नेतृत्वमा हुनुहुन्छ । पछिल्लोपटक २०७८ पुसमा उहाँ पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

प्रकाशित मिति २०८२ आश्विन ११, शनिबार ०७:५४ गते
हजुरको प्रतिक्रिया