लमजुङ- लमजुङको क्व्होलासोथार गाउँपालिका– ४, भुजुङ गाउँका १८ वर्षीय मनोज गुरुङ दूधपोखरी कुण्डमा पौडी खेल्ने क्रममा जनै पूर्णिमाको दिन हराएका थिए । उहाँको शव हेलिकप्टरमार्फत गोताखोरसहित उद्दारका लागि घट्ना स्थलमा पुगेको सशस्त्र प्रहरी टोलीले उद्धार गरी अन्तिम संस्कार गरिएको हो ।
जनै पूर्णिमाको दिनमा दूधपोखरी कुण्डमा डेढ महिना अघि आफ्ना ९ जना साथीहरूसहित नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।
गुरुङ गत साउन २४ गते हराएको मृतकका परिवार स्रोत उद्धृत गदै प्रहरीले बताएको छ । ५,३०० मिटरको उचाईमा रहेको दूधपोखरी कुण्ड लमजुङ र मनाङको सीमा क्षेत्रमा लमजुङतर्फ पर्छ । सो दुधपोखरी कुण्ड लमजुङको मस्र्याङदी गाउँपालिका– ३ मा पर्दछ ।
क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङको अनुरोधमा गाउँपालिकाले व्यवस्थापन गरी पोखराबाट एयर डाइनेस्टीको हेलिकोप्टरमा गोताखोरसहित ४ जना सशस्त्र प्रहरी टोली दुई दिन अघि अर्थात १० गते उद्धारका लागि पठाइएको थियो । सो टोलीले पोखरीबाट उद्धार गरेको किशोर गुरुङको शवलाई मृतकका सहोदर दाइ रेकबहादुर गुरुङले सनाखत गरेपछि कानुनी प्रक्रिया पूरा गरेर उक्त ठाउँबाट केही पर गुरुङ संस्कार संस्कृति अनुसार अन्तिम संस्कार गरिएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनु भयो । उहाँका अनुसार सो घटनाबारे जानकारी पाएपछि यसअघि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ४ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकसहित ५ जना गरी ९ जनाको टोली अन्य ४ जना सहयोगीहरूलाई घटना स्थालमा पठाएर ती किशोरलाई खोज्ने काम गरिएको प्रनाउ बोहराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यो टोलीले हराएका किशोरको स्थिति पत्ता लाउन नसकेपछि एक सातामा सो टोली फर्किएको थियो ।’
वेपत्ता किशोरको उद्धारका लागि पछिल्लो पटक अं. सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण हे.का .कालिका कास्कीबाट ४ जनाको गोताखोर टोली र मृतकका दाइलाई एयर डाईनेष्टि हे.क.द्वारा पठाई खोजतलास गर्ने क्रममा पोखरीमा निज मृतकको लाश सडेगलेको अवस्थामा फेला पारेको हो ।
मृतक किशोरको गाउँदेखि २ दिनको पैदल यात्राबाट पुगिने दूधपोखरी कुण्डमा नुहाउने जात्रामा साथीहरूसँगै गएका उनी पौडी खेल्ने क्रममा केही पर पुगेपछि वेपत्ता भएको उनीसँग गएका साथीहरूले बताएका थिए ।
गोताखोरसहित पुगेको टोली हेलिकोप्टरमार्फत शनिबारै पोखरा फर्किएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उनका अनुसार गाउँपालिकाको व्यवस्थापनमा अघिल्लो दिन हेलिकोप्टर पठाएर फर्किएपछि पुनः शनिबार हेलिकप्टर पठाइएको थियो । उहाँले भन्नुभयो, ‘जिल्ला सुरक्षा समितिको बैठकमार्फत शव खोजीका लागि गोताखोरसहित हेलिकप्टरमा सशस्त्र प्रहरी पठाउने र यसको व्यवस्थापन क्व्होलासोथार गाउँपालिकाले गर्ने निर्णय गर्यौं । शव फेला परेपछि उद्दार गरेर ल्याउन कठिन भएकाले उक्त ठाउँमै कानुनी प्रक्रिया पुर्याएर गाढेका छौं ।’
हराएका किशोरलाई स्थानीय र प्रहरी पुगेर खोजी प्रयास गरे पनि यसअघि उनी भेटिएका थिएनन् । मृतक किशोरको भुजुङ गाँउ क्व्होलासोथार गाँउपालिकाको उपाध्यक्ष गमीमाया गुरूङको गाँउ पनि हो । वेपत्ता किशोरको खोजी तथा उद्धारको लागि विषेश चासो राख्नु भएको थियो ।
प्रकाशित मिति २०८२ आश्विन ११, शनिबार १६:५८ गते