भोटेओडार(लमजुङ)– नेपालीहरूको महान चाड बडादशैँको अवसरमा भोटेओडारमा विगतका चारवर्षदेखि सञ्चालन हुँदै आएको तार्कुकोट मिनी म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । अकला युथ सोसाईटीको आयोजनामा असोज ११ गते भएको सो दौड प्रतियोगितामा गोरखा नगरपालिका– ३ निवासी कमल नेपाली पहिलो हुनु भएको हो ।
यस्तै गोर्खा नगरपालिका निवासी सरोज गिरी दोस्रो हुनु भएको छ । सुन्दरबजार नगरपालिका– ८ भोटेओडारको डिडिसी खेल मैदानबाट तार्कुकोटसम्म ६.५ किलोमिटर दुरीमा दौड प्रतियोगिता भएको थियो । पहिलो हुन सफल नेपालीले ३५.१६ मिनेटमा उक्त दुरी पार गर्नुभएको थियो भने गिरीले ३६.३४ मिनेटमा सो दुरी पार गर्नुभएको आयोजक समितिको भनाइ छ ।
यसैगरी महिलातर्फको दौड प्रतियोगितामा दोर्दी गाउँपालिका– ३ निवासी प्रमिला तामाङ पहिलो र सुन्दरबजार नगरपालिका– ८ निवासी प्राथना तामाङ दोस्रो हुन सफल हुनु भएको छ । महिलातर्फ दौड डिडिसी खेल मैदानबाट कालिका शिक्षा मन्दिरसम्म गराइएको थियो । उहाँहरूले क्रमशः ३२ मिनेट ४२ मिनेटमा सो दुरी पार गर्नु भएको थियो । दौडको दुरी तीन किमि रहेको आयोजक समितिले जनाएको छ ।
सो म्याराथुन दौड प्रतियोगितामा पहिलो हुने नेपालीले १५ हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्र प्रदाप्त गर्नुभएको छ । त्यस्तै द्वितीय हुन सफल गिरीले १० हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । महिलातर्फको दौडमा पहिलो हुने तामाङलाई १० हजार रुपैयाँ नगद मेडल प्रमाणपत्र र दोस्रो हुन सफल तामाङले ५ हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष अभिशेक ढकालले बताउनु भयो ।
उहाँका अनुसार पहिलो पुरस्कार रकम सुन्दरबजार नगरपालिका– ८ का भोटेओडार निवासी समाजसेवी गुमानसिंह कार्कीले प्रायोजन गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा १६ जना पुरुष र ३ जना महिलाले भाग लिएका थिए ।’
प्रतियोगिता सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि के.सीले खेलकुदका माध्यमबाट भोटेओडार तार्कुकोट क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने काम भएको बताउनु भयो । यस्तै कार्यक्रममा सुन्दरबजार नगरपालिका– ९ का वडा अध्यक्ष मनराज गुरुङ, सुन्दरबजार नगरपालिका– ८ का कार्यवाहक वडा अध्यक्ष शेयरसिंह कार्की, पूर्ववडा अध्यक्ष कृष्णकान्त अधिकारी, रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, सिर्जनशील सिकाई केन्द्रका अध्यक्ष निश्चल ढकाल लगायतले आआफ्नो धारणासहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
आयोजक युथ सोसाईटीका अध्यक्ष अभिशेक ढकालको अध्यक्षतामा भएको कार्यक्रम भारती सदन माध्यामिक विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो ।
– निश्चल ढकालबाट ।
प्रकाशित मिति २०८२ आश्विन १२, आईतवार ०८:०१ गते