१
भाडामा मान्छे लगाएर इतिहास रचाउँछन्
अरुको मेटाउँछन् मात्रै आफ्नो बचाउँछन्
दुनियाँले गाली गर्दा पनि मतलव राख्दैनन्
सबैका सामु आँखा चिम्लेर लाजै पचाउँछन् ।
२
भएकै पनि काटिन्छ छाँटिन्छ केरेर आउँछ
आफ्नो रुप रङ्ग समेत सारा फेरेर आउँछ
भाग्य पनि कस्तो पक्षपाती र पुर्वाग्रही रहेछ
आउँदा पनि धनी गरिबको मुख हेरेर आउँछ ।
३
अगाडिबाट तान्ने पछाडिबाट धकेल्ने हुनुपर्छ
हजारौंको भिडमा हात समाएर ठेल्ने हुनुपर्छ
सोझो पाराले पनि कहाँ बाजी मार्न सकिएला
साथमा दुईचार सकुनी पासा खेल्ने हुनु पर्छ ।
४
तिम्रो इसारामा सधैं चल्न सकिदैन् माफ गर्नु
मुकाबिला हुन्छ बरु छल्न सकिदैन् माफ गर्नु
तिमीले कुनै लोभ देखाउ या डर त्रास देखाउ
आफ्नो दृष्टिकोण बदल्न सकिदैन् माफ गर्नु
५
हिमाली संस्कृति झल्काउने भोटेले हो सौकाले हो
बाजी जित्न सक्ने भनेको छक्का अनि चौकाले हो
अघिपछि को हुन असल मित्र को हुन् खराब मित्र
भन्न सकिदैन् चिन्ने त बेला बखत र मौकाले हो ।
प्रकाशित मिति २०८२ आश्विन १३, सोमबार ०९:३६ गते