भूमिसमस्या समाधान आयोग लमजुङले पछिल्लो छ महिने कार्यकालमा के के गर्यो ?

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १३ गते सोमबार ०१:१३

अरुको जमिन कमोत गरी बसेको र नकारात्मक दिन नमिल्ने जमिनहरू(बाटो, वन मठ, मन्दिर, सँघ संस्था जस्ता जमिन)मा बसेको अवस्था अनुगमनले देखायो । अतः सुगम स्थानमा कानुनले तोकेको सकारात्मक जमिन खोजी भूमिहीनहरूलाई व्यवस्थापन गर्नु अर्को जटिल कार्य रह्यो ।

छानिएका ३८२ परिवार मध्ये ७५ परिवारको बाहेक अन्य परिवारहरू भूमिहीन हुन् वा होइनन् मालपोत कार्यालयको अन्तिम सत्यापन कार्य मात्र बाँकी रहेको छ ।

बेसीशहर– जेनजी आन्दोलनबाट स्थापित अन्तरिम सरकारले खर्च कटौति गर्ने नीति लिए पछि केही संघसंस्था र समिति तथा आयोजनाहरूको खारेजी गरेको छ । त्यसमा भूमिसमस्या समाधान आयोग पनि परेको छ । अयोगको केन्द्र खारेजीमा परेसँगै जिल्ला समिति, लमजुङले पनि त्यही नियति नभोग्ने प्रश्न रहेन । तर आयोगिका जिल्ला समितिले बिदा भएर जादै गर्दा पछिल्ला छ महिने कार्यकालमा सम्पादन गरेका कार्यका बारेमा समितिका जिल्ला अध्यक्ष दामोदर अधिकारीले असोज १३ गते प्रगति विवरण सार्वजनिक गर्नु भएको छ ।
जसमा ९ बुँदा उल्लेख छ भने आफ्ना अनुभूति पनि अध्यक्ष अधिकारीले पस्कनु भएको छ । प्रस्तुत छ उहाँले सार्वजनिक गर्नु भएको प्रगति विवरणको पूर्ण पाठ जस्ताको तस्तै :
आदरणीय लमजुङ बासी बाआमा दिदीबहिनी तथा दाजुभाइहरू,
सर्वप्रथम भूमिसमस्या समाधान आयोग लमजुङ विजयादशमी २०८२ को पावन अवसरमा तपाईहरुको सुस्वास्थ दीर्घायु र निरन्तर प्रगतिका निम्ति मंगलमय शुभकामना व्यक्त गर्दछ. । साथै अप्ठ्यारो परिस्थितिमा गुज्रँदै गरेको परिवेशलाई चिर्दै मुलुकले निकासको बाटो समातोस् र शान्ति कायम होस् यसका निम्ति भवानी दुर्गामातासँग आशीर्वादको अपेक्षा गर्दछ ।
भर्खरै सरकारले भूमिसमस्या समाधान आयोग खारेज गरेको छ । एक टुक्रा जमिन पनि आफ्नो परिवारको नाममा नभएका भूमिहीनहरूलाई यो निर्णयले न्याय प्रदान ग¥यो वा गरेन त्यो भविष्यले देखाउनेछ । भूमिहीनहरूमा धेरै थोरै जे जस्तो भएपनि अब त हाम्रो पनि एक टुक्रा नेपाली भूमि छ हामी पनि नेपाल आमाका सन्तान हौँ भनेर गर्व गर्न खोजी रहेका दशौं लाख भूमिहिनहरूलाई यो निर्णयले निराश बनाएको मात्र होइन बरबर आँसु झार्दै रुन सक्छौ रोऊ भन्ने सन्देश प्रदान गरेको छ । ती भूमिहीन परिवारहरूप्रति सहानुभूति प्रकट गर्दै उहाँहरूको समस्या भविष्यको गर्भमा राखेर भूमिसमस्या समाधान आयोग लमजुङलाई बितेको छ महिने कार्यकालमा के कति कार्य सम्पादन भएको थियो त्यो कार्यप्रगति सार्वजनिक गरी सबैका लागि जानकारी गराउनु आफ्नो कर्तव्य हो भन्ने लागेको छ ।
जिल्लाभरि छरिएर रहेका भूमिहीनहरूसँग सम्पर्क गरी तथ्याङ्क सङ्कलन गर्न, तोकिएको मापदण्डका आधारमा तिनीहरूको पहिचान गर्न, आफैमा कठिन कार्य थियो । अझ लमजुङ जिल्लामा रहेका ९५ प्रतिशत भन्दा बढी भूमिहीनहरू दिन मिल्ने जमिनमा बसेको भेटिएन । अरुको जमिन कमोत गरी बसेको र नकारात्मक दिन नमिल्ने जमिनहरू(बाटो, वन मठ, मन्दिर, सँघ संस्था जस्ता जमिन)मा बसेको अवस्था अनुगमनले देखायो । अतः सुगम स्थानमा कानुनले तोकेको सकारात्मक जमिन खोजी भूमिहीनहरूलाई व्यवस्थापन गर्नु अर्को जटिल कार्य रह्यो । त्यस्तै अव्यवस्थित बसोबासीले आवाज कमोत गरी बसेको सकारात्मक र नकारात्मक दुवै खाले जमिनको अनुगमन तथा पहिचान गरी अव्यवस्थितहरूलाई व्यवस्थापन गर्ने कार्य पनि सरल थिएन ।
उपरोक्त कार्यसम्पादनका लागि आवश्यक भौतिक तथा मानवीय संसाधनको व्यवस्था बिना आयोग गठन गरी भिक्षामागेर कार्यसम्पादन गर्ने अभिभारा आयोगलाई सुम्पनु राज्य पक्षको आफैमा कमजोरी पक्ष थियो । यी सबै समस्या झेल्दै भूमि समस्या समाधान आयोग लमजुङले यो छोटो समयभित्र के कति कार्य सम्पादन गरेको छ त्यसको जानकारीका लागि हामी बुँदागत रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छौं ।
१) ७५ गोटा वोडाले दिएको जानकारीमा तथ्याङ्क सङ्कलन कार्य सम्पन्न भएको छ।
२) भूमिहीनहरूको कूल संख्या
क) भूमिहीन दलित परिवारको ३२२ निवेदन परेका थिए ।
ख) भूमिहीन सुकुम्बासी परिवारको ३१३ निवेदन परेका थिए ।
ग) अव्यबस्थित बसोबासीहरुका ९३७ निवेदन परेका थिए ।
३) क) वडा तथा पालिकाहरूको छानविन सिफारिस र भूमि आयोगको अनुगमनका आधारमा भूमिहीन दलितहरूको संख्या १९६ परिवार मात्र रहेको छ ।
ख) भूमिहीन सुकुम्बासी परिवारको संख्या १९२ परिवाररहेको छ ।
४) छानिएका ३८२ परिवार मध्ये ७५ परिवारको बाहेक अन्य परिवारहरू भूमिहीन हुन् वा होइनन् मालपोत कार्यालयको अन्तिम सत्यापन कार्य मात्र बाँकी रहेको छ ।
५) मालपोत कार्यालयबाट प्रमाणित भइ आएका ७५ जना भूमिहीनहरूमध्ये ५८ जना भूमिहीनहरूका लागि कित्ताकाट गरी जग्गा धनी दर्ता प्रमाण पुर्जा श्रेस्ता तयार भएको थियो । जम्मा जग्गाधनी दर्ता प्रमाण पुर्जा बुझ्नेहरूको संख्या ३९ मात्र रह्यो। बाँकी भूमिहिनहरू आफ्नै कारणले अर्थात् श्रीमान श्रीमती दुवै उपस्थित हुन नसक्नाको कारण १९ जना भूमिहीनले जग्गा धनी दर्ता प्रमाण पुर्जा लिन सक्नुभएन ।
६) विभिन्न पालिका र वडाहरूमा रहनु भएका बाँकी ३२८ जना भूमिहीनहरूका लागि जमिन खोज्ने काम सम्पन्न भएको छ । पालिका तथा वडाहरूको सहजीकरण समितिसंग संयुक्त बैठकबसी कुन ठाउँका कित्ताहरूमा भूमिहीनहरूका लागि कित्ताकाट गर्ने भन्ने निर्णय लिन बाँकी रहेको छ ।
७) अनुगमन प्रति समीक्षा गरी हेर्दा थोरै भूमिहीनहरूलाई जिल्लाभित्रको सकारात्मक जमिनमाा अटाउन सम्भावना नरहने र निजहरूको नामावली प्रदेश तथा संघीय समितिमा पठाउन पर्ने अवस्था देखिएको छ ।
८) अव्यवस्थित बसोबासीको कुल संख्या ९३७ रहेकोमा विभिन्न पालिका र वडामा सरकारी जमिन आबाद कमोत गरीबसेका परिवारको अनुगमन तथा मूल्याङ्कन कार्य प्रायः सम्पन्न भएको छ । सकारात्मक जमिनमा बस्ने परिवारको संख्या ज्यादै न्यून देखिएको छ ।
९) विगतका आयोगहरूद्वारा सम्पन्न हुन बाँकी रहेका कामहरूका लागि जम्मा १९ जनाको निवेदन जिल्ला कार्य समितिमा पर्न आएको छ । निजहरूको बसोबासको अवस्था पनि निरीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू बसोबास गरेका क्षेत्रहरू वन बुटेन, गौचर, सडक, मठ, मन्दिर गुम्बा, सँघ संस्था आदि मापदण्ड भित्र रहेका छन् । त्यस्ता जमिनहरू आयोगले वितरण गर्न मिल्दैन ।
अन्त्यमा भूमि समस्या समाधान आयोगको स्थानीय निकायमा गठित भूमि शाखा, वडाहरू र पालिकाहरूबाट आयोग र यसबाट खटिएका सर्वेक्षक अमिनहरूलाई प्राप्त भएको जिम्मेवारपूर्ण सहयोगप्रति आयोग हार्दिक आभार व्यक्त गर्दछ ।
भूमिहीन दलित तथा सुकुम्बासीहरूका लागि विभिन्न पालिका र वडाभित्रका पर्ति र ऐलानी जमिनका कित्ताहरू खोज्ने कार्यमा र ती कित्ताहरूको भौगोलिक अवस्थाको जानकारीका लागि नक्सा उपलब्ध गराउने कार्यका साथै पर्ती तथा ऐलानी जमिनहरू अनुगमन एवम् कित्ता काट श्रेस्ता तयार तथा बैठक आदि सबै कार्यमा नापी कार्यालयबाट प्राप्त भएको सहयोग प्रति पनि आयोग आभार व्यक्त गर्दछ ।
आयोगले मागी पठाएका सत्यापन सम्बन्धी कार्यहरू तथा श्रेस्ता कायम गरिदिने कार्यहरूमा मालपोत कार्यालयले देखाएको सक्रियता तथा जिल्ला समन्वय समितिको तर्फबाट प्राप्त मानवीय तथा कार्यालय कक्ष, फर्निचर आदि भौतिक पक्षको सहयोग प्रति पनि आयोग कृतज्ञता जाहेर गर्दछ। यसरी नै जिल्ला प्रशासन र जिल्ला वन कार्यालयले समयानुकूल सल्लाह सुझाव एवं अनुगमन कार्यका लागि प्रदान गरेको विशेष सहयोग प्रति पनि भूमि समस्या समाधान आयोग हार्दिक आभार व्यक्त गर्दछ ।
भूमिसमस्या समाधान आयोगमा जमिनको नाप जाँच, कित्ताकाट र कार्यालयमा अभिलेख सम्बन्धी कामका लागि भूमि व्यवस्था मन्त्रालयबाट नियुक्ति लिई आउनुभएका सर्भेक्षक, अमिन, कम्प्युटर अपरेटर भाइबहिनीले यो छोटो समयमा पनि भिर पहरा, झरी बादल, उकाली ओराली केही नभनी लगभग १५७२ परिवार र करिब १९०० कित्ता जमिन अनुगमन तथा कित्ताकाटका कामहरूमा जुन सक्रियता देखाउनुभयो भाइबहिनी प्रति पनि भूमि समस्या समाधान आयोग आभार व्यक्त गर्दछ ।
अन्त्यमा जग्गाधनी दर्ता प्रमाण पूर्जा लिनै लागेको बेला आयोग विघटनको नमिठो समाचारले दुःखी हुनु भएका भूमिहीनहरू र अव्यवस्थितहरू सबै सबैमा हार्दिक सहानुभूति प्रकट गर्दै पुनः नेपाली दाजु भाइ तथा दिदी बहिनीहरू सबै सबैमा विजया दशमी २०८२ को मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
दामोदर अधिकारी, अध्यक्ष,
भूमिसमस्या समाधान आयोग, जिल्ला कार्यसमिति लमजुङ ।

प्रकाशित मिति २०८२ आश्विन १३, सोमबार १३:१३ गते
हजुरको प्रतिक्रिया