एमाले नेता महेश बस्नेतउपर साइबर अपराधमा अनुसन्धान गरिदै

एमाले नेता महेश बस्नेतउपर साइबर अपराधमा अनुसन्धान गरिदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १४ गते मङ्गलबार ०८:०९

उक्त जाहेरी गत भदौ ३१ गते अनुसन्धान निरर्थक देखिएपछि तामेलीमा राख्न सुझाव दिएको थियो, तर सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएको छ ।

जिल्ला न्यायाधिवक्ता अधिकारीले लेखेको पत्रमा महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयमा अनुसन्धान गर्नु भनिएको छ ।

काठमाडौं– एमालेका नेता महेश बस्नेतमाथि साइबर अपराधमा विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । एक महिलाले दिएको जाहेरीका आधारमा उक्त चिठी पठाइएको हो ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन पत्राचार गरेको असोज १३ गते खुलासा भएको हो ।
काठमाडौँका जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले साइबर ब्युरोलाई असोज ५ गते पत्र लेख्नु भएको रहेछ । सो पत्र हालै सार्वजनिक भएको हो । पत्रमा शोभा पाठक भनिने जानुका पाठकले दिएको जाहेरीको आधारमा बस्नेतमाथि अनुसन्धान अगाडि बढाउन प्रहरीलाई भनिएको छ ।
शोभाले केही समयअघि हुलाकमार्फत् एमाले नेता बस्नेतविरूद्ध जाहेरी दिनु भएको थियो । साइबर ब्युरोले उक्त जाहेरी गत भदौ ३१ गते अनुसन्धान निरर्थक देखिएपछि तामेलीमा राख्न सुझाव दिएको थियो, तर सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएको छ । त्यसपछि शोभाले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिनु भयो । त्यही निवेदनपछि सरकारी वकिलको कार्यालयले बस्नेतविरूद्ध थप अनुसन्धान गरी राय पेस गर्नु भनी चिठी पठाएको साइबर ब्युरोका एक अधिकारीले बताएका छन् ।
जिल्ला न्यायाधिवक्ता अधिकारीले लेखेको पत्रमा महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयमा अनुसन्धान गर्नु भनिएको छ ।
‘पत्रका आधारमा हामी अनुसन्धान अघि बढाउँदै छौं ।’ ब्यूरो स्रोतले जनाएको छ । स्रोतका अनुसार महेश बस्नेत फ्यान क्लब कसको नाममा खोलिएको छ, त्यसमा पनि थप अनुसन्धान गरी राय पेस गर्न भनिएको छ ।
पत्रमा भनिएको छ, ‘ … प्रतिवादी महेश बस्नेतले आफ्नो फेसबुक वालमा नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिडिरहेको छ भन्दै अमूर्त ढंगले अमर्यादित ‘भालु’ शब्द विद्युतीय साधनको प्रयोग गरी गाली बेइज्जती गरेको देखिँदा उक्त शब्द कसलाई, कुन प्रयोजनका लागि पोष्ट गरेको हो ? प्रतिवादीबाट कागज गराई खुलाउन लगाउने ।’

प्रकाशित मिति २०८२ आश्विन १४, मंगलवार ०८:०९ गते
हजुरको प्रतिक्रिया