सातबीसे(लमजुङ)– लमजुङमा गए राती मोटरसाईकल दुर्घटनामा परी परिवारका एकमात्र छोराको निधन भएको छ । राइनास नगरपालिका– ३ सातबिसे स्थित पाउदी– बोराङखोला सडक खण्डमा भएको मोटरसाईकल चालक रहेका सोही वडाको टिमुरे निवासी समिर ठकुरीको असोज १३ गते राती साढे एक बजोको समयमा भएको दुर्घटनामा निधन भएको हो ।
मृतक समिर २३ वर्षका थिए । सवइञ्जिनियरीङ पढेका उनी पोखरामा बसेर ठेकेदारी गर्दै पढाईलाई निरन्तरता दिदै थिए । उनी हरिबहादुर ठकुरी र सिर्जना ठकुरीदम्पत्तीका एक मात्र छोरा हुन् । बडादशैंको हर्ष एवम् उमङ्गको बेलामा सो ठकुरी परिवारमा बज्रपात परेको छ । समिर अविवाहित थिए ।
टिमुरेबाट सातबिसेतर्फ जादै गरेको ग२४प १६३० नं.को मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट दायाँ पट्टि नालामा पल्टिन जाँदा समिर गम्भीर घाइते भएका थिए । मोटरसाइकलका चालक रहेका समिर ठकुरीको उपचारका लागि स्थानीयको सहयोगमा प्रहरीले तत्काल उद्धार गरी सहोदर अस्पताल धमिलीकुवामा पठाएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी भनाइ छ ।
मोटरसाइकलमा पछाडि सवार अर्का घाइते बर्ष २६ को देवराज ठकुरी सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ, मृतक समिरको मुचुल्का कार्य लगायत बाँकी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राज किशोर साह तेलीले जानकारी दिनु भएको छ ।
मृतक समिरका बाबु, आमा तथा एक एक जना दिदी र बहिनी छन् ।
प्रकाशित मिति २०८२ आश्विन १४, मंगलवार ०८:३९ गते