काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले फागुन २१ गते घोषित निर्वाचनलाई कुनै पनि निहुँमा बिथोल्न दिन नहुने बताउनु भएको छ । भुसालले संविधान संशोधनको मुद्दा उठाउनेहरू र पपुलिष्ट समूहले सामाजिक आक्रोश बढाउन सक्ने चेतावनी राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी महासचिव भुसालले असोज १३ गते दिनु भएको हो ।
उहाँले समयमै चुनाव हुनुपर्ने र सरकारको नालायकीले मुलुक असफलतातर्फ जान सक्ने चिन्ता व्यक्त गर्नु भएको छ । जेनजीको आन्दोलनपछिको परिस्थितिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले कुनै पनि निहुँमा निर्वाचनलाई बिथोल्न दिन नहुने बताउनु भएको हो । उहाँले आह्वान गर्नु भएको छ, ‘कुनै पनि निहुँमा निर्वाचनलाई बिथोल्ने र संविधानलाई असफल पार्ने सबै परिस्थितिको सामना गर्न सक्ने बलियो लोकतान्त्रिक शक्ति निर्माण गरेर मुलुकलाई निकास दिनुपर्छ ।’
गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए, प्रतिनिधिसभाबाट अर्को सरकार बन्न सक्ने अवस्था बनेन, त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको स्मरण गर्दै महासचिव भुसालले अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी प्रतिनिधिसभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको उल्लेख गर्नु भएको छ ।
भुसालको नजरमा निर्वाचनभन्दा अगाडि नै संविधान संशोधनको मुद्दा उठाउनेहरूको स्वर चर्को हुँदै जानेछ । यस्तोमा तथाकथित परम्परा र राष्ट्रवादका नयाँ–पुराना शक्तिले सामाजिक लफङ्गाहरूलाई संगठित गर्ने प्रयास गर्ने उहाँको बुझाई रहेको छ ।
‘अनेकौं सामाजिक मुद्दा लिएर पपुलिष्ट तथा अराजकहरू सडकमा देखिन थाल्नेछन्, ‘सबै आफ्ना दाबीहरू जेनजीको भावना र मर्म हुन् भनेर अगाडि आउने छन् ।’
त्यसो भएमा लोकतान्त्रिक पार्टीहरू कमजोर हुँदै जाने र बहुपक्षीय द्वन्द्व बढ्न थाल्ने उहाँको व्याख्या छ । उहाँले थप भन्नुभयो, ‘अराजनीतिक–आपराधिक समूह र प्रतिगामीहरूको स्वर बलियो हुँदै जान्छ, समाजमा भय र आतंकको विस्तार हुँदै जान्छ, भूराजनीतिक खेलहरू तीव्र हुँदै जानेछन् ।’
पुराना पार्टीहरू नसुध्रे अस्थिरताका कारक बन्ने ः
उहाँले पार्टीहरू संस्थागत रूपमा सुधार नभएमा प्रतिगमनकारी बन्ने चेतावनी दिनु भएको छ । भुसालले कांग्रेस, एमाले, माओवादी लगायत दलका नेतृत्वबाट परिवर्तन असम्भव रहेको बताउनु भयो । उहाँले अहिलेका पुराना पार्टीहरू दुई–तीन महिनामा पनि नसुध्रिए नयाँ आन्दोलन र नयाँ पार्टी जन्मने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी, हाम्रा विचार र सत्ता भयंकर ठूलो संकटमा देखिन्छ, यदि हामी नसुध्रे नयाँ पार्टी र नयाँ सचेत मानिसहरूले आन्दोलन अलग्गै उपाय खोज्नुपर्ने हुन्छ ।’
नेता भुसालले केही समययता कांग्रेस, एमाले माओवादी लगायतका दलका नेतृत्वबाट परिवर्तन असम्भव रहेको बताउँदै आउनु भएको छ । उहाँले पार्टीहरू संस्थागत रूपमा अबपनि नसुध्रे प्रतिगमनकारी र मुलुकलाई अझ विध्वंस मच्चाउने त्यसको कारक बन्ने बताउनु भयो । उहाँले जोड दिदै भन्नुभयो, ‘यसबिचमा पनि पार्टीहरू सुध्रिँदैनन् र संस्थागत रूपमा सुधारतर्फ जाँदैनन् भने ती पार्टीहरू प्रतिगमनका, मुलुकलाई विध्वंश गर्ने, सत्यानाश गर्ने र अस्थिरताको कारक बन्ने छन्, त्यो अवस्थामा इमान्दारहरु त्यसरी कैद भएर बस्न हुँदैन विद्रोह गर्नुपर्छ भन्ने म पनि सङ्कल्प गर्छु । म आफै पनि सडकमा जान पछि पर्दिनँ ।’
राजनीतिक दल निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दै छ ः
महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका निम्ति शीर्ष नेतामा बहानाबाजी सुरु भइसकेको बताउनु भएको छ । ‘जेनजी’ आन्दोलनको माग पुरानो नेतृत्व परिवर्तन हो । तर, संकटका बेला नेतृत्वलाई जोगाउनुपर्ने भनेर बहानाबाजी सुरु भइसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी सुरु भइसकेको जिकिर गर्नु भएको छ । हालका नेताबाट राजनीतिक दलहरू निर्वाचनमा नजाने स्पष्ट भइसकेको जिकिर गर्दै उहाँले निर्वाचन गराउन नसके मुलुक अर्कै दिशामा जाने आंकलन छ । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिले पनि खेल्ने क्रम जारी रहने उहाँको विश्लेषण छ । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिले समेत खेल्न सक्ने भन्दै मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने उहाँको चेतावनी छ ।
नयाँ राजनीतिक परिस्थितिमा सरकारको नालायकी बढ्ने र निर्वाचन हुन नसक्ने परिस्थिति बन्दै गए मुलुक असफलतातर्फ जान सक्ने उहाँले चिन्ता व्यक्त गर्दै समयमै चुनाव हुनुपर्ने उहाँको धारणा छ ।
प्रकाशित मिति २०८२ आश्विन १४, मंगलवार ०९:५२ गते