मौसमविद्हरू भन्छन्– ‘भोलिदेखि दुई दिन राजमार्ग बन्द गर्नु नै उचित’

no-image

एजेन्सी

@antaranganews

२०८२ असोज १७ गते शुक्रबार ०६:०२

काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले औंल्याएका छन् । उनीहरू भन्छन्, ‘बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्छ ।’

चारवटा प्रदेशका नदीमा पानीको बहाव आकस्मिक रुपमा बढ्ने जोखिम बढ्ने संकेत रहेको छ ।

काठमाडौं– मौसमविद्हरूले भोलिदेखि दुई दिन राजमार्ग बन्द गर्नु नै उचित हुने सुझाव दिएका छन् । बाढी पूर्वानुमान महाशाखाले आज असोज १७ गते ४ बजे आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै यस्तो सूचना दिएको हो ।
भोलि असोज १८ गते दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरूले जोखिमयुक्त ठाउँहरूमा राजमार्ग बन्द गरिदिनु नै उपयुक्त हुने सुझाव दिएका हुन् ।
उनीहरूले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द नै गर्नु उचित हुने सुझाव दिएका हुन् । उनीहरू भन्छन्, ‘सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरूमा नै भारी वर्षाको सम्भावना देखिएको छ ।’
भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै भोलि बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ मौसमविद्हरूले औंल्याएका छन् । उनीका अनुसार दशैंको दिन (हिजो) देखि नै सामान्य झरी परेको थियो भने विहीबार अपराह्नदेखि काठमाडौं लगायतका ठाउँमा पानी पर्ने सम्भावना छ ।
उता, भारतको मौसम विज्ञान विभागले आजदेखि नै बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिममा रहेको भनी अलर्ट जारी गरेको छ । त्यहाँ विकसित भएको प्रणाली वीरगञ्ज आसपासको क्षेत्र हुँदै भोलि दिनभरमा नेपाल भित्रिने मौसमविद्हरूको आंकलन छ ।
वीरगञ्ज आसपासदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेशभर नै भोलि पानी पर्नेछ ।
त्यसको प्रभावले पश्चिममा बुटवल÷भैरहवादेखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै पानी पार्ने प्रणालीले गोरखा र तनहुँसम्म प्रभावित पार्ने आँकलन छ ।
यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका ठाउँमा १९ गते भनेसम्म सक्रिय रहेर पूर्वी नेपालबाट बाहिरिने छ । २० गते बिहानसम्म देशभरको मौसममा क्रमिक सुधार हुने मौसमविद्हरूको आँकलन छ ।
मौसमको आंकलन गर्नका लागि विभिन्न मोडेलहरू अपनाइएको छ । तीमध्ये केहीले मुग्लिन आसपासको क्षेत्रमा पनि भारी वर्षा हुने सम्भावना देखाएका छन् ।
उनीहरूले भनेका छन्, ‘काठमाडौं उपत्यकाभित्रको आवत–जावत पनि नियन्त्रित हुनुपर्छ’
चारवटा प्रदेशका नदीमा पानीको बहाव आकस्मिक रुपमा बढ्ने जोखिम :
महाशाखाले जारी गरेको सूचना अनुसार भोलि दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरू भई नदीहरूमा बहाव बढ्न सुरू हुनेछ ।
भोलिराति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्ला हुँदै बहने स–साना नदीनालामा आकस्मिक बाढीको जोखिम छ ।
२० गते बिहानदेखि बेलुकीसम्म नारायणी, काली गण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौंदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदी तथा तिनका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।
काठमाडौं उपत्यकामा ८ देखि १० घन्टा भारी वर्षाको सम्भावना :
यसैबीच, काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले औंल्याएका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले आज १७ गते दिउँसोबाट दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र शनिबार दिउँसोबाट भारीदेखि अतिभारी वर्षा हुन सक्ने बताउनु भएको छ । उहाँका अनुसार बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना छ । उहाँले भन्नुभयो, ‘बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्छ ।’
काठमाडौं उपत्यकामा ८–१२ घन्टासम्म भारी वर्षाको सम्भावना भन्दै उहाँले पानी त आज दिउँसोबाट सुरू हुन्छ तर आज दिनभरि हल्कादेखि मध्यम वर्षा मात्र छ । भारीदेखि अति भारी वर्षा भोलि दिउँसोबाट सुरू हुने र भोलि राति भने सचेत हुनुपर्ने छ । सकेसम्म भोलि दिउँसोदेखि आइतबारसम्म यात्रा नगर्न सुझाव दिनु भएको छ ।

प्रकाशित मिति २०८२ आश्विन १७, शुक्रबार १८:०२ गते
हजुरको प्रतिक्रिया