काठमाडौं– अहिले देशका विभिन्न क्षेत्रमा वर्षा चलिरहेको छ । पानी पर्ने क्रम कम्तिमा भोलि असोज २० गतेसम्म जारी रहने पूर्वानुमान छ । मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् । यतिबेला बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुका कारण नेपालको मनसुनी प्रणाली सक्रिय भएको हो ।
अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा वर्षा चलिरहेको छ ।
मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको हो ।
नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको मौसमविदले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आज असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना औंल्याएको छ ।
काठमाडौं उपत्यकामा गए रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
उच्च सतर्कताका लागि आह्वान :
यसैबीच, केही जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक काम नपरेसम्म यात्रा नगर्न सूचना जारी गरिसकेका छन् । आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरो र डुबानको खतरा रहेको भन्दै सरकारले सबैलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो । लामो दुरीको यात्रा सकेसम्म नगर्न सडक विभागले जनाएको छ । विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरूमा रातिको समयमा यात्रा गर्न रोक लगाएको सडक विभागको भनाइ छ ।
पानी पार्ने यो बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्मै पुगेको छ । भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा केन्द्रित छ । खासगरी हेटौंडादेखि ललितपुर र आसपासमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ ।
आज भारीदेखि धेरै भारी वर्षा हुने स्थानहरू :
यतिबेला देशभरको मनसुनी प्रणालीमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पछिल्लो १२ घन्टामा कैलालीको गर्भ दरबार केन्द्रमा ८३.२ मिलिमिट वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मधेस, बागमती, लुम्बिनी, गण्डकी र मधेसको बारा, पर्सा, रौतहट, सर्लाही आदि जिल्लामा मध्यम वर्षा भइरहेको छ ।
के हो भारी वर्षा ?
कुनै स्थानमा २४ घण्टा भित्र ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ । त्यस्तै, २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे अति भारी वर्षा भनिने विभागले बताएको छ ।
यसैगरी, २४ घण्टामा १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा र १० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यम वर्षा भनिने विभागको भनाइ छ ।
प्रकाशित मिति २०८२ आश्विन १८, शनिबार ०९:०४ गते