काठमाडौं– नेपालमा यस वर्षको मनसुन केही ढिला बाहिरिने भएको छ । यो वर्ष गत जेठ १५ गते मनसुन भित्रिएर असार ६ गते देशभर फैलिएको थियो भने अब मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ ।
मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् असोज १६ गते रहे पनि मनसुन उत्तराद्र्धमा पुगेका बेला पुनः सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनु भयो । त्यस्तै, बाहिरिन क्रम पनि केही समय ढिला हुने बताउनु भयो ।
उहाँका अनुसार मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको छ । वरिष्ठ मौसमविद् अर्यालले भन्नुभयो, ‘आउँदो सोमबार अर्थात असोज २० गतेबाट भने क्रमशः सुधार हँदै जाने छ ।’
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो। असार ६ देखि भने देशभर फैलिएको उहाँको भनाइ छ ।
प्रकाशित मिति २०८२ आश्विन १८, शनिबार ०९:४५ गते