
काठमाडौं– एक ट्युनिसियाली नागरिकलाई राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ । उनीमाथि सामाजिक सञ्जालमार्फत राज्य सुरक्षामाथि आक्रमण गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले असोज १७ गते आफ्नो समाचारमा उल्लेख गरेको हो ।
राष्ट्रपति कैस सइदले सन् २०२१ मा लगभग सबै अधिकार आफ्नो हातमा लिएपछि अभिव्यक्ति स्वतन्त्रतामाथि कडाइ हुँदै गएको छ ।
मृत्युदण्ड पाउने व्यक्ति ५६ वर्षीय दैनिक ज्यालादार मजदूर साबेर चोउचाने हुन् । उनका वकिल उस्सामा बुथाल्जाले रोयटर्सलाई बताए अनुसार, उनी सामान्य नागरिक हुन् । औपचारिक शिक्षा कम भएका उनले पक्राउ पर्नुअघि केवल राष्ट्रपति विरुद्ध आलोचनात्मक पोस्ट लेख्दै आएका थिए ।
‘नाबेउल अदालतका न्यायाधीशले फेसबुक पोस्टका कारण उनलाई मृत्युदण्ड सुनाए । यो चकित पार्ने र अभूतपूर्व फैसला हो,’ बुथाल्जाले भने ।
ट्युनिसियन लिग फर ह्युमन राइट्सका अध्यक्ष र उनका वकिलले सो दिन दिएको जानकारी अनुसार, यो फैसलालाई अचम्मलाग्दो भनिएको छ ।
फैसला सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा कार्यकर्ता र साधारण ट्युनिसियालीबीच आलोचना र व्यंग्यको लहर फैलिएको छ ।
‘हामी विश्वास गर्न सकिरहेका छैनौँ,’ साबेरका भाइ जमाल चोउचानेले रोयटर्सलाई टेलिफोनमा भनेका छन्, ‘हामी गरिबीले पीडित परिवार हौँ, अब गरिबीसँगै दमन र अन्याय पनि थपिएको छ ।’
फैसला विरुद्ध पुनरावेदन गरिएको छ । त्यहाँको न्याय मन्त्रालयले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
सइदले निर्वाचित संसद् विघटन गरी अध्यादेशद्वारा शासन गर्न थाले यता, न्यायपालिकाको स्वतन्त्रता कमजोर भएको भन्दै अधिकारकर्मीहरूले आलोचना गर्दै आएका छन् । विपक्षी दलहरूले सैयदको कदमलाई ‘कू’ भनेका छन् ।
धेरैले यसलाई राष्ट्रपति सइदका आलोचकहरूलाई डराउन खोजिएको कदम भन्दै यस्ता कठोर निर्णयहरूले अभिव्यक्ति स्वतन्त्रता अझै दबाउने र राजनीतिक तनाव बढाउने चेतावनी दिएका छन् ।
ट्युनिसियाली अदालतहरूले कहिलेकाहीँ मृत्युदण्ड सुनाए पनि, विगत तीन दशकदेखि कुनै पनि सजाय कार्यान्वयन भएको छैन ।
प्रकाशित मिति २०८२ आश्विन १८, शनिबार १२:१३ गते