
काठमाडौं– नेपालमा आगामी ३० घण्टा मनसुन सक्रिय रहने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले त्यस्तो जानकारी असोज १८ गते साँझ दिएको हो ।
अबका ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट वाग्मती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागको भनाइ छ ।
विभागले सक्रिय मनसुनको ठूलो प्रभाव वाग्मती र मधेसमा देखिने हुँदा ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
१७ जिल्ला भएर बग्ने नदीमा छ आकस्मिक बाढीको उच्च जोखिम :
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज असोज १८ गते दिउँसोसम्म देशका सबै प्रमुख नदीको जलसतह सतर्कता तह भन्दा तल रहेको जनाएको छ । दिउँसो १ः५० बजेसम्म देशका सबै प्रमुख नदीको जलसतह सतर्कता तहभन्दा तल रहे पनि पछिल्लो वर्षाको मापनले जोखिम बढेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार काठमाडौंको वाग्मती जलाधार र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा छ । आज राति ती केन्द्रमा सतर्कता तह पार गर्ने सम्भावना छ ।
पछिल्ला ६ घण्टामा मधेस, वाग्मती र कोसी प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूको बहाव उल्लेख्य बढ्न सुरु हुनेछ । विशेषगरी, आज राति नवलपरासी (पूर्व–पश्चिम), तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र सिन्धुली र आसपासका जिल्लाहरू भई बहने साना नदीनालामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
भोलि के कस्तो होला ?
भोलि १९ गतेबिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, वाग्मती र कमलालगायत नदीहरू र तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको महाशाखाको भनाइ छ । महाशाखाले आइतबार रातिदेखि कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले भनेको छ, ‘कमजोर तथा भिरालो जमिनहरूमा समेत पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’ बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अत्यावश्यक रहेको महाशाखाले उल्लेख गरेको छ ।
काठमाडौंमा लगातार वर्षाको यो क्रम भोलि बिहानसम्मै जारी रहने :
यसैबीच, काठमाडौंमा पछिल्लो १२ घण्टादेखि लगातार वर्षा भइरहेको छ र यो क्रम भोलि बिहानसम्मै जारी रहने मौसमविद्ले बताएका छन् । यो अवधिमा नेपालभरमा वीरगञ्जमा सबैभन्दा धेरै वर्षा भएको छ भने काठमाडौंको नैकापमा बढी वर्षा मापन गरिएको छ ।
काठमाडौंमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै नैकापमा वर्षा भएको मौसमविद् डेविड ढकालले बताउनु भएको छ । उहाँका अनुसार पछिल्लो ६ घण्टामा नैकापमा ३९ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पानीपोखरीमा २५.२, कपनमा २४.४, सुन्दरीजलमा २१.८ र बबरमहलमा २१ मिलिमिटर वर्षा भएको ढकालको भनाइ छ ।
उता, वीरगञ्जमा ७८.८ मिलिमिटर वर्षा मापन गरिएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार बारा, पर्सा, सर्लाही, रौतहटमा अन्य स्थानमा भन्दा धेरै वर्षा भइरहेको छ । मौसमविद् ढकालले भन्नुभयो, ‘काठमाडौंमा आज दिनभर र राति पनि यस्तै वर्षा हुनेछ । केही समय केही कम वर्षा भएजस्तो भए पनि पुनः वर्षा बढ्नेछ, दिउँसोजस्तै यही अनुपातमा वर्षा हुनेछ ।’
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले उल्लेख गरेको छ ।
कहाँ कति वर्षा मापन भयो ?
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।
देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको जनाएको छ । पचास भन्दा बढी मापन केन्द्रहरूमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ । सो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ ।
प्रकाशित मिति २०८२ आश्विन १८, शनिबार १९:११ गते