
काठमाडौं– पछिल्ला दुई दिनमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । देशभर गरेर ४९ जनाले ज्यान गएको सशस्त्र प्रहरीले असोज १९ गते जनाएको हो ।
आज दिँउसो साढे १ बजेसम्मको तथ्यांकअनुसार, इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जारी गर्नु भएको सो विज्ञप्ति अनुसार देशभर गरेर ४९ जनाले ज्यान गएको उल्लेख छ । त्यस्तै, बाढी पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीबाट विकसित भएर भारत हुँदै नेपाल भित्रिएको यसपटक वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बहिरिएर मनसुन कमजोर भई उघ्रिएको छ । तर मनसुन पूर्ण रुपमा नबाहिरिएको विभागले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । जो अति भारी वर्षा हो ।
असोज १७ देखि १९ गतेसम्मको मनसुन सक्रियतामा मधेश र बागमती प्रदेशमा भारी वर्षा भयो । बागमती, सप्तकोशी लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरी घट्दो क्रममा छ । कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिकै रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ ।
आज दिनको २ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए अनुसार दुई दिनको वर्षापछि बाढीपहिरोमा परी ४३ जनाको मृत्यु भएको हो भने पाँच जना बेपत्ता भएका र १२ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार इलामा ३७ जनाको मृत्यु भएको छ । यस्तै रौतहटमा ३, पाँचथरमा १, खोटाङमा १, उदयपुरमा १ जनाको मृत्यु भएको हो ।
त्यस्तै घाइते हुनेहरूमा इलाममा ४, भोजपुरमा ३, खोटाङमा ३, मकवानपुरमा १ र पाँचथरमा एक जना छन् ।
पूर्वी नेपालमा अहिले पनि वर्षा भइरहेको छ ।
२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएमा ‘अति भारी’ वर्षा भनिन्छ । ‘भारी वर्षा’ भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हो भने ‘धेरै भारी’ भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६) गते भए पनि यसपटक केही ढिला गरेर बाहिरिने विभागले आकलन गरेको छ ।
प्रकाशित मिति २०८२ आश्विन १९, आईतवार १७:१६ गते