कांग्रेसको आन्तरिक राजनीतिमा तिब्र धु्रविकरणको संकेत : सहमति होला सभापति देउवाको विकल्पमा

no-image

एजेन्सी

@antaranganews

२०८२ असोज २१ गते मङ्गलबार ०७:३२

कांग्रेसमा नियमित महाधिवेशन, विशेष महाधिवेशन, कार्यवाहक सभापति तोक्ने र अहिलेको केन्द्रीय समिति नै विघटन गर्ने ४ विकल्पमाथि नेताहरू कुराकानीमा जुटे पनि यो विषय पदाधिकारी तहमा सामूहिक छलफलको विषय बन्न सकेको छैन ।

सभापति देउवाको विकल्प खोज्नका लागि विशेष महाधिवेशन माग्न ४० प्रतिशत हस्ताक्षर जुटिसकेको दाबी गरिएको छ । तर गत अधिवेशनको बेलामा देउवाको पक्षमा ८० प्रतिशत प्रतिनिधि देखिएका थिए ।

काठमाडौं– सधैं दुई चिराको राजनीतिक जीवन विताउँदै आएको नेपाली कांग्रेसमा फेरि एक पटक आन्तरिक पार्टी राजनीतिमा तिब्र धु्रविकरणको संकेत देखिएको छ । जेनजी आन्दोलनसँगै सत्ताबाट बाहिरिएपछिको कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक नजिकिएसँगै पार्टी नेतृत्वमा को ? भन्नेबारे आन्तरिक छलफल हुन थालेको असोज २० गते खुलासा भएको हो ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि कुटपिट हुनुका साथै उहाँको बुढानिलकण्ठ स्थित निवासमा समेत आगजनी भएको थियो ।
सो घट्नामा सभापति देउवाको गर्धनमा गहिरो चोट लाग्नुको साथै उहाँको टाउकोमा लगाइएका १२ टाँका खोलिसकिएको छ । सभापति देउवा दम्पती स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।
जेनजी आन्दोलनपछि अप्रत्यासित रुपमा बदलिएको परिस्थितिले सभापति देउवामाथि सभापति छाड्न दबाब बढेको छ । सभापति देउवाले बदलिएको परिस्थितिबीच केन्द्रीय समिति बैठक बोलाउनु भएको हो । देउवाको चाहना विपरित तत्कालीन संरचनामा काँग्रेस नेतृत्व परिवर्तन गर्न सहज भने छैन । केन्द्रीय समितिका एजेन्डा अहिलेसम्म तय भइसकेको पनि छैन । सो बैठकमा अबको पार्टी नेतृत्व र त्यसका लागि प्रक्रियाबारे कुनै न कुनै रूपमा छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् । काँग्रेसले असोज २६ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
देउवा नेतृत्वको ४ विकल्पमा केन्द्रित रहेर छलफल हुने स्रोतको भनाइ छ । ती विषयमा नियमित महाधिवेशन, विशेष महाधिवेशन, कार्यवाहक सभापति तोक्ने र अहिलेको केन्द्रीय समिति नै विघटन गर्ने ४ विकल्पमाथि नेताहरू कुराकानीमा जुटे पनि यो पदाधिकारी तहमा सामूहिक छलफलको विषय बन्न सकेको छैन ।
यसअघिका केन्द्रीय समिति बैठकअघि सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर एजेन्डा तय गर्नुहुन्थ्यो । पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच कुरा भएर पनि केन्द्रीय समितिका एजेन्डा तय गरिन्थ्यो । तर यसपालि सभापति देउवाले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यलाई अहिलेसम्म भेट्नु भएको छैन तर फोनमा संवाद गरिरहनु भएको छ ।
सभापति देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘एक, दुई दिनमा सभापतिज्यूले नेताहरूसँग भेटघाट सुरू गर्नुहोला, उहाँले फोन भने गर्नुभएको थियो, उहाँको स्वास्थ्यको चासो रह्यो, सुधारोन्मुख रहेछ । पार्टीबारे धेरै कुरा गर्न पाइएन । विशेष महाधिवेशन पनि भन्दैछन् भन्ने खालको कुरा भने गर्नुभएको थियो ।’
सभापतिमा देउवालाई नै निरन्तरता दिने पक्षमा उनीनिकट नेताहरू पनि छैनन् तर सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका छैनन् ।
प्रक्रिया पूरा गरेर सभापति देउवालाई धन्यवाद दिने र नयाँ नेतृत्वबाट कांग्रेसलाई अघि बढाउने पक्षमा उनीहरूसमेत देखिन्छन् । सभापति देउवाले फोन गरिरहेकोले पनि उनीनिकट नेताहरू केन्द्रीय समिति बैठकअघि देउवाको विकल्पमा बोलिरहेका छैनन् ।
नियमित महाधिवेशनका पक्षमा कांग्रेसका सबै छन् । सभापति देउवाको कार्यकाल मंसिरमा सकिने भएकोले अब नियमित महाधिवेशन गर्नुपर्ने धारणा धेरै छ ।
विशेष महाधिवेशन माग गर्ने सन्दर्भमा भने मतभेद देखिन्छ । तर अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरिरहेको बताइन्छ ।
विधानअनुसार १४ औं महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले विशेष कारण देखाएर विशेष महाधिवेशन माग गरे सभापति देउवाले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ ।
पार्टीलाई एकताबद्ध बनाउने हो भने विशेष महाधिवेशन गर्न नहुनेमा सभापति देउवानिकट सुदूरपश्चिमका नेताहरू जुटिसकेका छन् । उनीहरूले बडादशैंअघि सामूहिक विज्ञप्ति निकालेर विशेष महाधिवेशनले पार्टी कमजोर हुने र विभाजन ल्याउने चेतावनी दिएका थिए ।
त्यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नियमित वा विशेष महाधिवेशन प्रस्ताव गर्नु भएको थियो । नेता शेखर कोइराला पक्षका केही नेताहरूले पनि विशेष महाधिवेशनको माग गरेका छन् ।
सभापति देउवाको कार्यकाल सकिन लागेकोले पनि नेतृत्व र नीति परिवर्तनको कुरा आएको हो । १४ औं महाधिवेशनमा कांग्रेसले नीतिबारे छलफल नै नगरी नेतृत्व मात्रै चुनेको थियो ।
कांग्रेस विधानमा एक व्यक्ति दुई पटकभन्दा बढी सभापति हुन पाउँदैन । त्यसैले पनि सभापति देउवाले तेस्रो पटक सभापति उम्मेदवार नहुने केही समयदेखि खुलासा गरी सक्नु भएको छ ।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट देउवा दोस्रो पटक सभापति निर्वाचित हुनु भएको हो । उहाँको नियमित चार वर्षे कार्यकाल आउँदो मंसिरसम्म छ ।
सभापति देउवाले अहिले नै पार्टी नेतृत्व छाड्ने वा नछाड्नेबारे मुख खोली सक्नु भएको छैन एक केन्द्रीय सदस्यले बताए ।
संस्थापन इतर एक केन्द्रीय सदस्यले विशेष महाधिवेशन माग गर्न महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन भइरहेको बताएका छन् । उनका अनुसार असोज २६ गतेदेखि केन्द्रीय समिति बैठक छ, उक्त बैठकले नियमित वा विशेष महाधिवेशनबारे केही निर्णय लिएन भने त्यही बैठकमा विशेष महाधिवेशन माग गर्न ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउने तयारी गरेका छौं । उनले भने, ‘हस्ताक्षर बुझाएपछि सभापतिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ । नेतृत्व छाड्न सभापतिमाथि दबाब पनि पर्छ ।’

प्रकाशित मिति २०८२ आश्विन २१, मंगलवार ०७:३२ गते
हजुरको प्रतिक्रिया