गोरखा– गोरखा प्रशासनले चाडवाडको मौका छोपेर यात्रुसँग बढी भाडा लिएको गुनासो बढेसँगै निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको नेतृत्वमा प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको टोलीले टिकट काउण्टर र बजार क्षेत्रमा छड्के चेकजाँच असोज २१ गते गरेको हो ।
गाडी लुकाएर राखेर यात्रुहरूसँग बढी भाडा लिएको र यात्रुहरू अलपत्र परेको भन्ने गुनासो आएपछि हामी आफै आज फिल्डमा खटिएका हौं प्रजिअ रामुराज कडरियाले बताउनु भयो । उहाँका अनुसार ‘काठमाडौं जाने यात्रुहरू धेरै भएकाले समस्या भएको रहेछ । नारायणगढ, पोखरा चल्ने केही बसहरूमा ती यात्रुहरू राखेर काठमाडौं पठायौ । उहाँले भन्नुभयो, ‘विभिन्न ठाउँमा छड्के चेकजाँच समेत भइरहेको छ ।’
बसको चलानी नकाट्ने र बढी भाडा लिने बसलाई कारवाही गरिएको प्रजिअ कडरियाले जानकारी दिनुभयो ।
मझुवा, बाह्र किलो र प्रत्येक प्रहरी यूनिटलाई छड्के चेकजाँच गर्न निर्देश समेत भइसकेको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताउनुभयो । उहाँका अनुसार हामी आफैं पनि फिल्डमा खटिएका छौं । उहाँले भन्नुभयो, ‘विशेषगरी मझुवा र बाह्र किलो प्रहरी चौकीलाई चेकजाँचमा कडाई गर्न भनेका छौ ।’
अन्य ठाउँमा पनि बढी भाडा लिए नलिएको बारे छड्के चेकजाँच भइरहेको उहाँले भन्नुभयो । उनका अनुसार बढी भाडा लिने केही सवारी कारवाहीमा समेत परेका छन् । उहाँले भन्नुभयो, ‘यात्रुसँग बढी भाडा लिएको भेटिएमा लागतभन्दा बढी भाडा यात्रुलाई फिर्ता गरेर त्यो सवारीलाई कारवाही समेत गरेका छौं ।’
एसपी बिकले बढी भाडा लिएको खण्डमा प्रजिअको फोन नम्वर ९८५६०५७७७७, प्रहरी प्रमुखको फोन नम्वर ९८५६०५५५५५ वा प्रहरीको हटलाइन नम्वर १०० मा फोन गर्न आग्रह गर्नु भएको छ ।
चाडवाडमा सार्वजनिक यातायातले साविकको भन्दा दोब्बर भाडा लिँदै आएको यात्रुहरूको गुनासो छ । उनीहरूका अनुसार काठमाडौ जाने यात्रुसँग बसले प्रति व्यक्ति आठ सय र माइक्रोले एक हजार रुपैयाँ लिने गरेका छन् ।
प्रकाशित मिति २०८२ आश्विन २१, मंगलवार १८:२० गते