चितवन– लमजुङमा लामो समय शिक्षासेवीका रुपमा परिचित हुनु भएका प्रजातन्त्र सेनानी सूर्यनाथ न्यौपानेको निधन भएको छ । लमजुङको ऐतिहासिक थलो दुराडाँडाँमा स्थायी बसोबास भएका उहाँ पछिल्ला दिनमा चितवनमा बासेबास गरिआउनु भएको थियो । उहाँ ८८ वर्षका हुनुहुन्थ्यो ।
उहाँकी कान्छी छोरी सुषमाको घरमा असोज २३ गते बिहान निधन भएको हो । न्यौपानेका एकमात्र छोरा नारायणमणि न्यौपाने सदम्पती अस्टे«लियामा बस्ने हुँदा उहाँ २०७३ सालदेखि कान्छी छोरीको साथमा बस्दै आउनु भएको थियो । पछिल्लो छ महिनादेखि न्यौपाने रगतमा हुने सोडियमक्लोरिडको कमी हुनुका साथै प्रेसर र सुगरबाट पीडित हुनुहुन्त्थ्यो ।
प्रेसर र सुगरका कारणले मोतियाविन्दुको शल्यक्रिया हुन नसक्दा आँखा देख्न पनि कठिन हुने गरेको थियो सुन्दरबजार नगरपालिका– ३ का वडा अध्यक्ष एवम् उहाँका नाती अमृत न्यौपानेले बताउनु भयो । उहाँका अनुसार उहाँ लमजुङको शिक्षक संघ र शिक्षक युनियनको जिल्ला पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘उनका छोरा अस्टे«लियाबाट फर्केपछि अन्तिम संस्कार गरिने भएको छ ।’
लामो समय शिक्षासेवामा समर्पित गर्नु भएका न्यौपाने लमजुङको मध्यनेपाल नगरपालिका– २ को मंगला माविमा करिब १२ वर्ष प्रधानाध्यापक हुनु भएको थियो । त्यसपछि उहाँको आफ्नै जन्मथलो लमजुङको ऐतिहासिक थालो दुराडाँडा स्थित सर्वोदय माविमा सरुवा भएको थियो । सोही विद्यालयबाट उहाँ निवृत्त हुनु भएको हो ।
पञ्चायतकालमा सो व्यवस्थाका विरुद्धमा २०४१ सालमा भएको मुलुकव्यापी शिक्षक आन्दोलन मत्थरिएपछि २०४२ सालमा नेपाली काँग्रेसले सत्याग्रहको तयारी गर्दै गर्दा न्यौपानेलाई लमजुङको विकट गाउँ च्याम्चे क्षेत्रमा पठाएर तत्कालीन प्रशासनले छ महिनासम्म एरिया बन्दी बनाएको थियो ।
२०५८ सालमा ६० वर्षे उमेर हदका कारण पेशाबाट निवृत्त हुनु भएपछि शिक्षा तथा समाजसेवामा सक्रिय रहनु भएका उहाँ तिनताका सशस्त्रद्वन्द्व चर्किएपछि केही वर्ष काठमाडौं निर्वासित हुनुभयो । त्यसपछिको उहाँको जीवन चितवनमा वितिरहेको थियो ।
उहाँ प्रजातन्त्र सेनानी सम्मानबाट सम्मानित हुनु भएको थियो ।
स्व. न्यौपाने लोकसंस्कृतिका समेत पारखी हुनुहुन्थ्यो । झ्याउरे गीत र ठाडोभाका गीत गाउन खप्पिस उहाँ रोधिं तथा मारुनी नाचका समेत पारखी मानिनु हुन्थ्यो ।
प्रहरी हवल्दार रहेकी उहाँकी जेठी छोरी लक्ष्मीको मनाङमा हत्या भएको थियो भने दुई नातिलाई समेत उहाँले आफ्नो जीवनकालमा गुमाएको पीडा सहन गर्नु परेको थियो ।
लमजुङको ऐतिहासिक थलो दुराडाँडाका स्व. पं. हेमलाल न्यौपाने र स्व. पार्वती दम्पतीका कान्छा सुपुत्र स्वर्गीय सूर्यनाथ न्यौपानका श्रीमती हरिमाया न्यौपाने, छ जना छोरीहरू र एक छोरा तथा सात नाती तथा ११ जना नातिनीहरू छन् ।
प्रकाशित मिति २०८२ आश्विन २३, बिहीबार १४:२४ गते