दोर्दी गाउँपालिकाको मुटु हिलेबसीमा फुकियो घण्टीको विगुल

दोर्दी गाउँपालिकाको मुटु हिलेबसीमा फुकियो घण्टीको विगुल

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २६ गते आईतबार ०७:१८

सो भेलाले मिनबहादुर गुरुङको सभापतित्वमा वडा समिति गठन गरेको छ । ११ सदस्यीय उक्त समितिको उपाध्यक्षमा हुमराज घले चयन हुनुभएको छ भने सचिवमा कुमार तामाङ चयन हुनुभएको छ ।

शपथ ग्रहण पछि रास्वपाको दोर्दी गाउँपालिका– ८ का नवनिर्वाचित वडासभापति मिनबहादुर गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

हिलेबेसी, दोर्दी(लमजुङ)– लमजुङको पूर्वीक्षेत्रमा रहेको दोर्दी गाउँपालिकाको मुटु हिलेबसीमा घण्टीको विगुल फुकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जिल्ला समितिको आयोजनामा भएको सो वडा(नं– ८)को भेलामा असोज २६ गते घण्टीको विगुल फुकिएको हो । भेलाले रास्वपाको सो वडामा वडा समिति गठन गरेर उक्त पालिकामा संगठन विस्तारको जग बसाउने काम गरेको छ ।
रास्वपा जिल्ला समितिका उपसभापति एवम् बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सो भेला भएको हो । सो अवसरमा रास्वपा गण्डकी प्रदेश समितिका सदस्य तैयामा गुरुङ, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, सो दलको महिला विभागको प्रदेश उपप्रमुख सन्तोषी गौली, जिल्ला सहसचिव एवम् जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारी, रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, सोही दलका सुन्दरबजार नगरपालिकाका नगर सभापति विमल अधिकारी तथा सदस्य डम्बरबहादुर थापाको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रदेश सदस्य गुरुङले पार्टी सभापति राजनीतिक व्यक्ति मात्र नभई भविष्यद्रष्टाका रुपमा आफूले देख्दै आएको छु, किनकि, उहाँले भनेका कुराहरू सत्य हुँदैछन् भन्नुभयो । उहाँले वडाभेलाको संयोजन गर्नु हुने मिनबहादुर गुरुङलाई विशेष धन्यवाद दिदै आवश्यक सहयोगका लागि आफू सदैव तयार रहेको बताउनु भयो ।
वडाभेलाको सभाध्यक्ष समेत रहनु भएका रास्वपाका जिल्ला उपसभापति थापाले पार्टीको सैद्धान्तिक, रणनीतिक एवम् वर्तमान गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले रास्वपाले संगठन विस्तार गर्दै गइरहेको र सो क्रममा यो भेला भएको जानकारी दिदै आउँदो फागुन २१ गतेका लागि घोषित निर्वाचनमा घण्टी चिन्हमा मतदान गर्न र यस वडालाई घण्टीमय बनाउनु पर्नेमा जोड दिनुभयो ।
रास्वपाका जिल्ला सल्लाहकार संयोजक पहाडीले देश विषम परिस्थितिमा छ । यो अवस्था कथित् ठूला भनिने तीन दल त्यसमा पनि यसअघिको सरकारमा प्रतिनिधित्व गरेका नेताहरूको अकर्मण्य कार्यशैली तथा भ्रष्टाचारमा रेकर्ड ब्रेक गरेका कारणले उत्पन्न भएको हो भन्नुभयो । त्यसको समाधान आमनिर्वाचनबाट सम्भव देखेरनै हाम्रो पार्टी रास्वपाले ‘अर्ली इलेक्सन’को माग गरेको थियो, ऐले पार्टीको त्यो माग पुरा भएको छ तर मुलुकमा अकल्पनीय अपूरणीय जनधनको क्षति भएको प्रति भने आफू दुःखी रहेको बताउनु भयो । उहाँले पार्टी स्थापना भएको छोटो अवधिमा २१ जना सांसद संघीय संसदमा पठाएर, केही महिना भने पनि चार जना मन्त्री भएर सम्हालेको मन्त्रालयमा भ्रष्टाचारका काम नहुनु पार्टीका लागि गौरवको विषय हो र यसले भोलिको दिशासमेत निर्देश गर्दछ भन्नुभयो ।
वरिष्ठ पत्रकारसमेत रहनु भएका पहाडीले लमजुङ जलस्रोतको खानी जिल्ला हो, यहीको दोर्दी करिडोरमा पनि जिल्लाकै धेरै हाइड्रो कम्पनी सञ्चालनमा छन् तर ती पारदर्शी छैनन् । उनीहरूले नेताहरूलाई खुशी बनाउनेका नाउँमा सर्वधारणको शोषण गरेका छन्, त्यो सैह्य छैन, सहिन्न भन्नुभयो । उदारहणका लागि एआई प्रतिवेदन अनुसार काम नहुनु र स्थानीयले रोजगारी नपाउनु हो उहाँले ठोकुवा गर्नु भयो । हाइड्रो कम्पनीका जनसम्पर्क अधिकारी भन्नेहरू तल बगाएर भाथि खोज्न जाने स्वभावका भएको उहाँले उल्लेख गर्नुभयो । 
यो वडा दोर्दी गाउँपालिकाको मुटुमा रहेको छ । यहाँबाट सिंगो पालिका परिचालन हुन सक्छ । यो थलोले त्यो क्षमता राख्छ त्यसैले पनि हामीले सुरुमा यो वडामा समिति गठन गर्नुपर्छ भनेर आफूहरू लागि परेका हौं भन्दै यो सपनालाई साकार बनाउन सहयोग गर्नुहुने मिनजीसहित सहभागी हुनु भएका र विविध कारणले भेलामा सहभागी हुन नसक्नु भएका वडाबासीहरू सबैप्रति कृतज्ञता ज्ञापन गर्छु, अब पार्टीको संगठन विस्तार क्रमले थप गति लिनेछ, त्यो यात्रामा यहाँहरूसँगै आफू पनि लाग्ने छु भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी गण्डकी प्रदेशका महिला विभाग उपप्रमुख गौलीले जेन– जीको आवाज बोल्न हाम्रो पार्टी सभापतिलाई थुन्ने गलत काम भएको छ भन्नुभयो । उहाँले तत्काल संविधान संशोधन गरेर युवाको प्रतिनिधित्व र युवा आवाजको सम्मान हुने वातावरण बनाउन लाग्नु पर्छ भन्नेमा जोड दिनुभयो । नेताहरूले अवैधानिक तौरतरिकाले अकुल सम्पत्ति आर्जन गरेको हुँदा जलाइएको हो, अभिव्यक्ति स्वतन्त्रता हरण गर्ने यसअघिको सरकारलाई सत्ताच्युत गर्न दुई दिन पनि लागेन, जबकी २०६२÷६३ मा राजा फ्याँक्न १९ दिनसम्म आन्दोलन गर्नु परेको थियो भन्ने उहाँले स्मरण गर्नुभयो । उहाँले हामी युवाहरू उद्यमशील बन्नु पर्छ र त्यो वातावरण स्वदेशमै हुनुपर्छ त्यस्तो वातावरण बनाउनका लागि घण्टीमा मतदान गर्नु एकमात्र विकल्प हो, त्यसैले घण्टीका उम्मेदवारलाई जिताउने वातावरण तयार गर्न सबै जुटौं भन्ने आह्वान गर्नुभयो ।
जिल्ला सहसचिव एवम् जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले हामी परिवर्तनको पक्षमा छौं र देश परिवर्तनको संघारमा उभिएको छ । हामीले विचार गरेर मत बदल्ने बेला आएको छ । फेरि पनि उही पुरानै कुरा गरियो भने र तिनै पुराना नेताले जित्ने वातावरण बन्यो र जिते भने पछुतोबाहेक केही हात लाग्ने छैन भन्नुभयो । उहाँले देश बनाउने एकमात्र पार्टी रास्वपा हो भन्ने ठोकुवा गर्दै रास्वपाको चिन्ह घण्टीमा मतदान गर्न र गाउँ छिमेकलाई समेत घण्टीमय बनाउन जोड दिनुभयो ।
जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले राजनीतिप्रति वितृष्णा बढीरहेको अवस्थामा यतिधेरै युवासाथीहरूको यो भेलामा जमघट यहाँ हुनुले आफूलाईसमेत उत्साहित बनाएको छ र उत्प्रेरित गरेको छ भन्नुभयो । यो भेलाबाट हामी नेतृत्व चयन गर्दैछौं, त्यो नेतृत्व यस्तो बनोस् कि कसैले औंला उठाउने मौका नपाओस् भन्नुभयो । उहाँले पार्टी सभापति रविलाई फलेको बृक्षको संज्ञा दिदै मानिसले झटारो हान्ने भनेको नै फलेको रुखमा हो, हाम्रा पार्टी सभापति रविसँग केही गुण छन् र चौतर्फी आक्रमण भएको छ तर आत्तिनु पर्ने स्थिति छैन किनकि, अब न्यायको ढोका खुल्ने संकेत मिलेको छ, उहाँले छिट्टै न्याय पाउनु हुनेछ भन्नुभयो । उहाँले रास्वपाका कार्यकर्ताको काँघमा घरघर, टोलटोल तथा छिमेक जताततै घण्टीमय बनाउने जिम्मेवारी र कर्तव्य पुरा गर्न सबै जुटौं भन्ने आग्रह गर्नुभयो ।
रास्वपाका सु्न्दरबजार नगरसभापति अधिकारीले हाम्रो देश सबै हिसावले पछि पर्नुको मुलकारण भ्रष्टाचार र कुशासन हो, त्यसका विरुद्धमा जुट्नु पर्ने बेला आएको छ । उहाँले ऐले जेन– जेड पुस्ताले उठाएका माग रास्वपाले स्थापनाकलीन दिनदेखि नै बोक्दै र भन्दै आएको बताउनु भयो । यतिबेला मुलुकमा रहेका पार्टीहरूमा रास्वपाको जस्तो भविष्य अन्य पार्टीको देखिदैन त्यसैले पनि अन्य दल तर्सिएर हाम्रो पार्टीलाई अनेकन लाञ्छना लगाउने, दोष थोपर्ने तथा सभापतिलाई झुठा मुद्दामा फसाउने काम भएको छ भन्नुभयो ।
उक्त कार्यक्रममा सहभागी सबैलाई आफ्नो परिचयसहित जिज्ञासा तथा सुझाव राख्नका लागि अनुरोध गरिएको थियो ।
सो भेलाले मिनबहादुर गुरुङको सभापतित्वमा वडा समिति गठन गरेको छ । ११ सदस्यीय उक्त समितिको उपाध्यक्षमा हुमराज घले चयन हुनुभएको छ भने सचिवमा कुमार तामाङ चयन हुनुभएको छ । त्यस्तै सदस्यमा उमा तामाङ, सचिन क्षेत्री, दीपा तामाङ, चुलकुमारी तामाङ, अनिल तामाङ, विवेक परियार, विवस विक र सुरज परियार चयन हुनुभएको छ ।
नवनिर्वाचित समितिका पदाधिकारीहरूलाई रास्वपाका जिल्ला उपसभापति प्रकाश थापाले शपथ खुवाउनु भएको थियो भने प्रेदश सदस्य तैमाया गुरुङ, प्रदेश महिला विभाग उपप्रमुख सन्तोषी गौली र संगठन विभागका जिल्ला प्रमुख वावुराम अधिकारीले पार्टीको व्याच पहिराउने काम गर्नु भएको थियो ।
शपथ ग्रहण पछि रास्वपाको दोर्दी गाउँपालिका– ८ का नवनिर्वाचित वडासभापति मिनबहादुर गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँले आफूलाई योग्य सम्झेर सभापतिको पद सुम्पनु भएकोमा भेलाका सबै सहभागीहरूप्रति आभारी रहेको बताउनु भयो । उहाँले आफ्नो पद अनुसारको जिम्मेवारीपूर्ण काम गरेर पार्टीको संगठन विस्तारमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सो भेलाको सञ्चालन जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ आश्विन २६, आईतवार १९:१८ गते
हजुरको प्रतिक्रिया