रास्वपाको वडा समिति : ऐतिहासिक थलो दुराडाँडामा बनाइयो

रास्वपाको वडा समिति : ऐतिहासिक थलो दुराडाँडामा बनाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २९ गते बुधबार ०१:०६

नवनिर्वाचित वडा सभापति दुराले म ६० वर्ष काटेको मान्छे, सरकारलेसमेत पेन्सन खाएर घरमा बस भनेर विदा गरेको बेलामा पनि फेरि युवा भाइहरूले मलाई नै यसको नेतृत्व सुम्पनु भयो, खुशी छु, सबैको साथ सहयोग लिएर काम गर्नेछु नगर र जिल्ला समितिको पनि आवश्यक सहयोगको अपेक्षा गर्दछु भन्नुभयो ।

उक्त भेलाले देवीजंग दुराको संयोजकत्वमा नौ सदस्यीय वडा समिति गठन गरेको छ । समितिमा उपसभापति यममाया विक लगायत हुनुहुन्छ ।

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा समिति बनाइएको छ । सुन्दरजार नगरपालिका– ३ स्थित दुराडाँडा मौजाको मूल थलोका रुपमा परिचित च्यानपाटा स्थित खजेपार्कमा आयोजना गरिएको वडा भेलाबाट सो वडाको तदर्थ समिति गठन गरिएको हो ।
सुन्दरबजार नगरपालिकाका पालिका सभापति विमल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रास्वाका जिल्ला सभपति अशोक सापकोटा प्रमुख वक्ता हुनुहुन्थ्यो । सापकोटाले आफूहरू पार्टी सभापति रवि लामिछानेले घोषणा गर्नु भएको भ्रष्टाचार मुक्त समृद्ध नेपाल बनाउने अभियानमा जुटेको र सोही क्रममा सुन्दरबजार नगरपालिका– ३ को यस वडामा पनि संगठन विस्तार गरेको बताउनु भयो । उहाँले नवगठित समितिका पदाधिकारी तथा सदस्यलाई बधाई र शुभकामना दिदै भन्नुभयो, ‘दुराडाँडामा आफ्नो पारिवारिक सम्बन्ध पनि धेरै परिवारसँग रहेको र आफ्नो ठाउँ जस्तो लाग्छ ।’
रास्वपाका जिल्ला सभापति सापकोटाले चुनावको विकल्प छैन, यो वडालाई पनि घण्टीमय बनाउनु पर्नेमा जोड दिदै नवगठित समितिलाई त्यस प्रकारको सफलता मिल्नेछ भन्नुभयो । उहाँले वडासमितिलाई जिल्ला समितिकोतर्फबाट गर्नु पर्ने साथ सहयोगका लागि सदैव तयार रहेको भन्दै प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा दुराडाँडामै जन्मथलो रहेका रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले जिल्लाको ऐतिहासिक थलोमा आज फेरि अर्को एक ऐतिहासिक काम भइरहेको छ कि मुलुकलाई हरक्षेत्रमा पारदर्शी तथा सुशासनले ओतप्रोत गरी, समाजमा खस्किएको नैतिक धरातल उकास्नु पर्ने बेला आएको छ र त्यो जिम्मेवारीको बोध गरेर रास्वपा यो अभियानमा जुेटको छ भन्नुभयो । उहाँले दुराडाँडा २००६ सालमै ब्राह्मणहरूले हलो जोतेर एक साथ सामाजिक, आर्थिक, शैक्षिक एवम् राजनीतिक विगुल फुकेको कर्मभूमि हो र आफ्नो जन्म थलो पनि यहीको माटोमा भएको हुनाले यही माटोले आफूलाई समाजका लागि केही गर्नु पर्छ भन्ने सानैदेखि सिकाएको स्मरण गनुभयो । उहाँले ऐतिहासिक कालखण्डमा सामाजिक क्रान्तिका नायक अगुवाहरू खजे दुरा, पं. तोयनाथ पण्डितदेखि हालै स्वर्गे हुनुभएका सूर्यनाथ न्यौपानेसम्मलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भयो ।
आफू रास्वपामा खुलेदेखिनै यो थलोमा वडासमिति गठन गर्नु पर्छ भन्ने सोच र योजनामा रहेको तर अनुकुल नपर्दा एकखालको हीनताबोध समेत भइरहेको स्थितिमा आज यो दिन आउँदा गर्वको अनुभव भएको उल्लेख गर्नुभयो । यो वतावरण बनाउन र पदीय जिम्मेवारी लिनका लागि तयार हुनुहुने लामो सयम वडा सचिव रहेर यहीको माटोमा खेल्नु भएका, समाज बुझ्नु भएका नरजङ्गसहितका सबै साथीहरू बधाईका पत्र हुनुहुन्छ, उहाँहरूको सफलताका लागि शुभकामना समेत व्यक्त गर्दछु भन्नुभयो ।
वरिष्ठ पत्रकारसमेत रहनु भएका पहाडीले पार्टी सभापति रविले हिजोका दिनमा देशमा कहाँ कहाँ के कस्ता भ्रष्टाचार भएका छन् ? भन्ने खोतलेर जनमानसमा फैलाउने काम गर्नु भएको हो भन्दै उहाँले २५ वटा फाइल खोल्ने उदघोष गरेको २४ घण्टा नबित्दै काँग्रेस– एमालेका बीचमा भ्रष्टाचारलाई तैं चुप मै चुपका रुपमा छोप्नका लागि गठनबन्धनको सरकार बन्यो, त्यसैले कुनै सहकारीमा सदस्य नरहेको, सञ्चालक नरहेको, कतै आफ्ना लागि ऋण चाहियो भनेर निवेदन नदिएको, ऋणको स्किम पेश गर्ने र तमसुकमा सही तथा ल्याप्चे ठोक्ने काम नगरेको स्थितिमा पनि दोषि करार गर्ने दुष्प्रयास भएको छ, त्यो कानुनी राज्यको खिल्ली उडाउनु हो र उडीरहेको छ भन्नुभयो । उहाँले यति हुँदाहुँदै पनि सभापति रविले छिटै न्याय पाउने संकेत मिलेको समेत उल्लेख गर्नु भयो ।
विभिन्न सामाजिक, साहित्यिक संघसंस्थामा आवद्ध भएर सामाजिक एवम् लोकसंस्कृतिकर्मीको समेत छवि बनाउँदै अनुभव हासिल गरी कुशल संगठनकर्ताका रुपमा स्थापित हुनु भएका पहाडीले समिति गठन गरेर मात्र हुँदैन त्यो चलायमान हुनुपर्छ र यो वडासमितिले कम्तिमा दुई महिनामा एक पटक बैठक बस्ने काम गरोस् र बैठकमा आफ्ना गतिविधिको समिक्षा गर्दै अघि बढोस्, त्यो जरुरी छ भन्दै नवगठित समितिलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा जिल्ला सहसचिव एवम् संगठन विभागका प्रमुख बाबुराम अधिकारीले देश घण्टीमय बन्दै गएको छ र मुलुकमा रास्वपाको विकल्प देखिन सकेको छैन भन्नुभयो । उहाँले पुराना दल काँग्रेस, एमाले र माओवादीको भ्रष्ट चरित्र उदाङ्गो भइसकेको छ, यी सडकमा नाङ्गै हिडेका छन् तर आफू नाङ्गो भएको अनुभूति भने अझै गरेका छैनन्, त्यस्तो दिन पनि अब टाढा छैन कि उनीहरूलाई आफू नाङ्गो भएको छिटै चाल पाउने छन् भन्नुभयो । उहाँले घोषित चुनाव हुने ९० प्रतिशत सुनिश्चित रहेको उल्लेख गर्दै यो ऐतिहासिक वडालाई पनि नयाँ इतिहास रच्ने गरी घण्टीमय बनाउनु पर्नेमा जोड दिनुभयो ।
यसैगरी, रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले आफूले जीवनका उर्जाशील समय अर्कै पार्टीमा बिना काममा विताउन बाध्य हुनुमा त्यो बेला सहनुको विकल्प नभएर पनि थियो, ऐले रास्वपा वैकल्पिक शक्तिका रुपमा उदाएको छ, यसलाई कम्तिमा एक पटक सत्ता सम्हाल्ने अवसर दिनु पर्नेमा जोड दिनुभयो । रास्वपाका सभापति रविको उर्जाशील नेतृत्व र क्रियाशीलताले आफू अतिनै प्रभावित भएको स्मरण गर्दै यो पार्टीमा जोडिएको र यो अवसर पाउँदा खुशी पनि लागेको छ भन्नुभयो । उहाँले झण्डै २५ वर्ष अघि विद्यार्थी राजनीति गर्दा दुराडाँडामा पैदल आएको स्मरण गर्दै ऐले केही परिवर्तन भएको देखिए पनि त्यो केही फिका र गुदो नभएको रुपमा आफूले पाएको यसलाई हराभरा र गुदी भर्ने काममा अब यहाँका रास्वपाका साथीहरूका साथमा लाग्नु हुनेछ, त्यस कार्यमा आफूले सक्ने सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका सभापति विमल अधिकारीले सभापति रविले पार्टी सभापति हुनु अघि पत्रकार हुँदादेखिनै भ्रष्टाचारको भण्डाफोर गर्दै सुशासनका पक्षमा चालेका कदम निकै सराहनीय थिए त्यसैले पनि उहाँलाई आज मुलुकभरबाट सम्झनु पर्ने माध्यम र आशाको किरणका रुपमा हेर्ने गरिएको छ भन्नुभयो । उहाँले विभिन्न देशको उदाहरण दिदै प्रमुख विपक्षी दलसमेत मिलेर सरकार बनाएको विश्वमा एक मात्र देश थियो, त्यसमा नेपाल दोस्रो भएको छ । त्यो गठनबन्धनको सरकार मुलुकमा शान्ति सुव्यवस्था, सुशासन कायम गर्न बनेको थिएन, जसको जेनजेड आन्दोलनले पुष्टि गरिसकेको छ भन्नुभयो । दुई दिनमा सत्ताले पलट खाएको रेकर्ड विश्वमा आजसम्म नभएको र ऐले जेनजेडको आन्दोलन भएका देशमा नेपालको उदाहरण दिने गरिएको छ भन्ने स्मरण गर्दै तत्कालीन शासकहरूले झण्डै ७० जनाको हाराहरीमा नरसंहार हुँदा पनि उनीहरू श्रद्धाञ्जली दिने र मृतकका परिवारप्रति समवेदनासम्म पनि व्यक्त गर्न नसक्ने मान्छेहरूलाई नेता मान्ने र सत्ताको साँचो सुम्पने गर्दा बिग्रेको हो भन्ने प्रष्ट भएको छ । त्यसैले पनि रास्वपाको पक्षमा लाग्न, खुल्न र जुट्न आवश्यक छ, म यो सबैमा आग्रह गर्दछु भन्नुभयो ।
उहाँले जेनजेड पहिलो दिनको आन्दोलनमा पार्टीको नैतिक समर्थन थियो, दोस्रो दिन भएको हिंसात्मक घट्नाप्रति भने आफूहरूको आपत्ति रहेको उल्लेख गर्नु भयो । उहाँले नवगठित समितिलाई बधाई दिदै नगर सभापतिका हैसियतले गर्नु पर्ने सहयोगका लागि आफू सदैव तयार रहेको र सँगसँगै हातेमालो गर्दै अघि बढ्ने छौं भन्ने प्रण गर्नुभयो ।
सुन्दरबजार नगरपालिका– ४ को रास्वपाका वडासभापति महेश अधिकारीले शुभकामना मन्तव्य राख्दै आफू कक्षा ७ मा पढ्दादेखिनै वामपन्थी भएको तर कसरी भए भन्ने पत्तो नै नपाएको उल्लेख गर्दै ६० वर्षको उमेरसम्म त्यो पार्टीको पछि लाग्दा, लाग्दा पनि गाउँघरमा केही गर्न नसकेकोमा पछुतो लागेको बताउनु भयो । उहाँले दुराडाँडा प्रजातन्त्र(काँग्रेस)को किल्लाका रुपमा परिचित डाँडा हो, त्यसको विकल्प छैन भनिन्थ्यो तर ऐले यही डाँडामा जन्मथलो हुनु भएका काँग्रेसका खम्बाका रुपमा परिचित, जसले विपि स्वर्गे हुँदासमेत कपाल खौरने काम गर्नु भएको थियो– नवराज पहाडी, रास्वपामा लाग्नु भएको छ, म कुनै दिन एमालेको जिल्ला सदस्य समेत भएको व्यक्ति हुँ, हिजो हामी फरक धारमा थियौं, आज एक ठाउँमा छौं यस्तो यथार्थताले पनि योे क्षेत्रमा रास्वपाको भविष्य उज्ज्वल छ भन्ने देखाउँछ भन्नुभयो । उहाँले हिजो भनिने गरेका प्रजातन्त्रका किल्ला अब भत्किने छन् भन्ने ठोकुवा गर्नु भयो ।
सो वडाका नवनिर्वाचित सभापति देवीजंग दुराले हामी डराउन पर्दैन, हामीले कसैको सम्पत्ती नासी, मासी, खाएका छैनौं, प्रजातन्त्रमा आफ्नो खुशीको कुरा हो कुन पार्टीमा लाग्ने के गर्ने भन्ने र त्यसरी लाग्दै गर्दा पनि आफ्नो आत्मा पनि खुशी हुनुपर्छ कि आफू लागेको पार्टीले समाज र देशका लागि राम्रो काम गरेको छ भन्ने आत्माले ठम्याउन र व्यवहारमा देखिन जरुरी छ । पुराना दलका सबै चालचलन, व्यवहार हेरियो, देखियो, भोगियो पनि त्यसैले अब रास्वपामै देश, समाज र हाम्रो परिवार तथा व्यक्तिगत रुपमा आफ्नो पनि हित हुन्छ, गर्छ भन्ने लागेर यसमा आवद्ध भएका हौं भन्नुभयो । नवनिर्वाचित वडा सभापति दुराले म ६० वर्ष काटेको मान्छे, सरकारलेसमेत पेन्सन खाएर घरमा बस भनेर विदा गरेको बेलामा पनि फेरि युवा भाइहरूले मलाई नै यसको नेतृत्व सुम्पनु भयो, खुशी छु, सबैको साथ सहयोग लिएर काम गर्नेछु नगर र जिल्ला समितिको पनि आवश्यक सहयोगको अपेक्षा गर्दछु भन्नुभयो ।
उक्त भेलाले देवीजंग दुराको संयोजकत्वमा नौ सदस्यीय वडा समिति गठन गरेको छ । समितिमा उपसभापति यममाया विक लगायत हुनुहुन्छ ।
सो कार्यक्रममा रास्वापाको सुन्दरबजार नगरपालिका– ९ का अध्यक्ष मनोज अधिकारी, सुन्दरबजार नगर संगठन विभागका सदस्य डम्बर थापा, वडानं– ७ का सचिव विचारी पौडेल तथा सदस्य नवराज सापकोटा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति २०८२ आश्विन २९, बुधबार १३:०६ गते
हजुरको प्रतिक्रिया