लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङले आज ७० औँ प्रहरी दिवस मनाइने भएको छ । सो अवसरमा यसअघि विविध सामाजिक, सांस्कृतिक र खेलकुद कार्यक्रमका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा बेसिशहर नगरपालिका– ७, अम्बोटेमा प्रहरी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण महिला फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।
त्यस्तै, मध्यनेपाल नगरपालिका– ७, स्थित ईशानेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ । सुन्दरबजार नगरपालिका– ८, बगैचा क्षेत्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल प्रहरीका १६ जना र सर्वसाधारण १४ जना गरी जम्मा ३० जनाले रक्तदान गरेका थिए ।
यसैगरी, राईनास नगरपालिका– ३, जेठाक मझुवाटोलमा विभिन्न प्रजातिका ८३ वटा बोटबिरूवाहरू रोपेर बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।
विविध खेलकुद प्रतियोगितामध्ये अन्तर प्रहरी फुटसल प्रतियोगिता ‘रेड रेन्जसर््’ र ‘ब्ल्यु ब्लेजर्स्’ बीच सम्पन्न भएको थियो । घैटो फुटाई कार्यक्रममा प्र.ज. रन्जिता के.सी., म्युजिकल चेयरमा प्र.ह. सिर्जना घलान, ब्याडमिन्टन डबल्समा प्र.नि. राजाराम खतिवडा र प्र.स.ह. सुनिल दवाडी जित्नु भएको थियो । त्यस्तै, टेबल टेनिस सिंगल्समा प्र.ज. भुवन बि.क. विजेता र प्र.ज. दिर्घ नेपाली उपविजेताको उपाधी प्राप्त गर्नु भएको थियो ।
प्रहरी दिवसकै अवसरमा ‘सल्युट टु सर्भिस’ कार्यक्रम अन्तर्गत ७० वर्ष नाघेका जेष्ठ प्रहरीहरूलाई घरमै पुगेर सम्मान गरिएको थियो । सम्मानित जेष्ठ प्रहरीहरूमा सुन्दरबजार नगरपालिका– ५, खत्रीठाँटीका पूर्व प्र.ना.नि. बद्रि के.सी., सुन्दरबजार नगरपालिका– ५, गहतेका पूर्व प्र.ना.नि. सन्त बहादुर गुरुङ, र राईनास नगरपालिका– ८, माझीगाउँका प्र.स.नि. शेर बहादुर गुरुङ रहनु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक राज किशोर साह तेलीका अनुसार यी कार्यक्रमहरूले प्रहरी र समुदायबीचको आपसी सम्बन्ध र सहकार्य अझ प्रगाढ बनाउन सहयोग पुर्याएको छ ।
प्रकाशित मिति २०८२ आश्विन ३१, शुक्रबार १०:०१ गते