जेन जेडका मिरजको दोहोरो रणनीति : माग पूरा नभए चुनावमा नजाने, दल खोल्दै

जेन जेडका मिरजको दोहोरो रणनीति : माग पूरा नभए चुनावमा नजाने, दल खोल्दै

एजेन्सी

@antaranganews

२०८२ कार्तिक २ गते आईतबार ०८:२०

सुशासन तथा बेरोगारी समस्या समाधानका लागि ‘युवालाई अहिले खाइरहेको २५ हजारको जागिरले पुग्दैन ।’ भने पनि मिरजको अमूर्त जवाफ आयो, ‘यो देश सबैभन्दा राम्रो देश बनाउन सकिन्छ । किनभने यहाँ अथाह सम्भावना छ ।’
सो अवसरमा मिरजले पटक पटक दोहो¥याएको विषय थियो– ‘विदेश पलायन भएर हामी किन दोस्रो दर्जाका नागरिक हुनुपर्ने ?’ अब यसैगरी विदेश पलायन भए १० वर्षमा नेपाल रित्तिन्छ उहाँको चेतावतीसमेत थियो ।

पाँच तारे होटलबाट सुरु भएको मिराजको यो अभियानले सर्वसाधारण नेपालीलाई कहिलेसम्म के के उपलब्धि दिने हो ? त्यसका लागि भने केही समय कुर्नु पर्ने भएको छ ।

काठमाडौं– जेन जेडका अभियन्ता मिरज ढुंगाना दोहोरो रणनीतिमा रहेको खुलासा भएको छ । नयाँ बानेश्वरको पाँच तारे एभरेष्ट होटलमा बोलाइएको पत्रकार सम्मेलनमा त्यस्तो खुलासा भएको हो । माग पूरा नभए चुनावमा नजाने तर दल भने खोल्ने उहाँको भनाइ छ ।
नयाँ दलको नाम घोषणा गर्ने अपेक्षा पत्रकार सम्मेलनमा पुगेका सञ्चारकर्मीले गरेका थिए । सामाजिक सञ्जालबाट दल खोल्ने तयारी भएको उहाँले जानकारी दिनु भएको तर, नयाँ दलको नाम घोषणा भने गरिएन । आफ्ना माग सुनाउँदै ती माग पूरा नभए निर्वाचनमा सहभागी नहुनेसम्मका योजना सुनाइएको थियो ।
नेतृत्व भनेको अग्रचेतना हो, त्यसैले नेतृत्वबाट अगाडिको बाटो र भिजन अपेक्षित हुन्छ । तर, बानेश्वर पुगेका सञ्चारकर्मी र आफ्ना शुभचिन्तकहरूले मिरजबाट अगाडिको बाटो र भिजन सुन्न नपाएका मात्र हैन सोचेजस्तो ‘स्पष्टता’ समेत पाउन सकेनन् ।
उहाँले चुनाव जाने उद्देश्यले आफूहरूले दल नखोलेको विषय बारम्बार दोहोर्याउनु भयो । देश विकासको लागि र सबै छरिएर रहेका शक्तिलाई एक ठाउँमा ल्याउन यसको आवश्यकता देखेको उहाँले तर्क छ ।
जेन जेड अभियानकर्ता मिराज ढुंगानाले वर्तमान सरकार जेनजीले नै बनाएको भए पनि त्यो जेनजीमा आफू नपर्ने बताउनु भयो ।
‘पार्टी खोल्छौँ भनेर सुनाउन बोलाइएको रहेछ । यो कुरा त फेसबुक पेजमै थियो । खासमा नयाँ केही भएन,’ हलमा सहभागी भएका एक युवाले बताए । खासमा स्टेजमा रहेका मिरज समूह र तल क्यामेराबीच वार्ता चलिरहेजस्तो देखिन्थ्यो । अस्पष्टताले बढाउने नै असमञ्जस्यता हो । स्टेजमा रहेको मिरज समूहसँग मात्र हैन, तल रहेका युट्युवरबीच नै बाझाबाझ भएका दृश्य त्यहाँ देखियो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीमात्रै थिएनन् । विभिन्न रुचिसहित पुगेका सहभागीहरूको प्रश्न फेस गर्नुपरेपछि मिरज आफैंले अरूलाई नबोल्न आग्रह गर्नुप¥यो ।
यत्रो पत्रकार सम्मेलन आखिर के का लागि थियो ? मिरजले समेत प्रष्ट गर्न सकेका छैनन् ।
दल खोल्ने योजनामा रहेका र त्यसको लागि सरसल्लाह लिन एउटा टोली गठन गरिएको जानकारी आयोजकले दिए । ‘दलको नाम हामी मात्रै घोषणा गर्ने होइन, तपाईंहरूको सुझाव लिएर गर्ने हो’ मिरजको भनाइ थियो ।
सरकारको म्यान्डेट के हो ?
जेन जेड विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा सरकार किन बन्यो ? तर मिरजले यो सरकारको म्यान्डेट नै चुनाव गराउनु होइन भन्नुभयो । यो सरकार महत्त्वपूर्ण विषयमा संविधान संशोधन गराएर अघि बढ््न बनेकोले चुनाव गराउने यसको म्यान्डेट नरहेको उहाँको तर्क छ ।
उहाँले जोडदिदै भन्नुभयो, ‘यदि अहिलेको सरकारलाई चुनावी सरकार बन्ने सोच्नुभएको छ भने त्यो भ्रम हो । यो सरकारको उद्देश्य यही अवस्थामा चुनाव गराउनु होइन ।’
‘हिजोसम्म राजनीतिमा आउँदिन भन्नुभएको तपाईं आज किन पार्टी खोल्दै हुनुहुन्छ ?’ पत्रकारहरूकोे प्रश्नमा उहाँले भन्नुभयो, ‘कि त मैले एनजीओ खोल्नुप¥यो देश विकासको लागि, कि त मैले राजनीतिक दल खोल्नुप¥यो । कि त हुलुमुलमै रहनुपर्यो । हुलमुलमा रहेर देश विकास हुँदैन ।’
‘नआएर के गर्ने ? यत्रो बलिदानी खेर जान दिने ? त्यसैले सबै एक ठाउँमा आऔँ । मेरो सबैलाई अनुरोध छ ।’ उहाँको थप भनाइ थियो ।
मिरजका एजेन्डा :
मिरजले सो अवसरमा आफ्ना एजेन्डा सुनाउँदै नयाँ बन्ने पार्टीको बटमलाइन हुनेछ, जो पूरा नभई यो दल चुनावमा सहभागी हुनेछैन । जस्तो, प्रत्यक्ष कार्यकारी शासकीय स्वरूप, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि नागरिक स्तरीय छानबिन समिति गठन र आर्थिक रूपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्ने उहाँको भनाइ छ ।
‘भ्रष्ट्राचारदेखि अरू कुराको छानबिनमा नागरिक स्तरको छानबिन समिति चाहियो । यहाँ सबै पोलिटिकल नियुक्ति भयो, राजनीतिक दलका मान्छे भए । अनि यस्तोमा अब चोरले कहाँ चोर समाउँछ ?,’ मिरजले प्रतिप्रश्न गर्नु भएको थियो ।
मिरजका अनुसार, खोल्ने पार्टीको अभियान नै ‘गरिखान देऊ’ हुनेछ । साथै ‘जेनजी’ प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा आफूहरू पुगेको उहाँको भनाइ छ ।
‘निर्वाचनमा जाने हिच्किचाहट !’
मिरजउपर निर्वाचनमा किन नजाने ? भन्ने प्रश्न पटक पटक दोहोरिएको थियो । ‘जेनजी निर्वाचनमा जान्छ ?’ भन्ने ऋषि धमलाको प्रश्नमा मिरजले सिधा जवाफ थियो, ‘हाम्रा बटमलाइन पूरा नभएसम्म चुनावमा जाँदैनौँ ।’
कतिपय प्रश्नकर्ता यूट्युबरले त्यो विषयमा लफडा समेत गरे । ‘न पार्टीको नाम छ, न केही ? फेसबुकमै लेखेको कुरा सुनाउन किन यत्रो दुःख दिएको ?,’ कतिपय आक्रोशित पनि सुनिए ।
त्यसबारे पटकपटक मिरजको जवाफ थियो, ‘पार्टीको नामदेखि अरू विधान र संरचना कस्तो बनाउने भनेर सल्लाह लिइरहेका छौँ । सबै नेपालीलाई हामीले बोलाएका छौँ । सबैले आफ्नो सल्लाह दिनुस् ।’ प्रवासी नेपालीको मताधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिदै त्यो नभएसम्म चुनाबमा हाम्रो सहभागिता हुँदैन उहाँको प्रष्टोक्ति थियो ।
सुशासन र बेरोगारी समस्या समाधानका लागि ‘युवालाई अहिले खाइरहेको २५ हजारको जागिरले पुग्दैन ।’ भने पनि मिरजको अमूर्त जवाफ आयो, ‘यो देश सबैभन्दा राम्रो देश बनाउन सकिन्छ । किनभने यहाँ अथाह सम्भावना छ ।’
सो अवसरमा मिरजले पटक पटक दोहो¥याएको विषय थियो– ‘विदेश पलायन भएर हामी किन दोस्रो दर्जाका नागरिक हुनुपर्ने ?’ अब यसैगरी विदेश पलायन भए १० वर्षमा नेपाल रित्तिन्छ उहाँको चेतावतीसमेत थियो ।
छेउमा साफीका माग :
मिरज स्टेजमा बोलिरहँदा त्यहीँ छेउमा शहीद परिवारको माग पूरा गर्नुपर्ने भन्दै प्लेकार्ड बोकेर इन्द्रजित साफी उभिनु भएको थियो । ढुंगानाको पत्रकार सम्मेलनमा साफी कालो चस्मा र मास्क लगाएर देखिए । उनले आफ्नो छातीमा एउटा सेतो कागजमा प्लेकार्ड बोकेका थिए । जहाँ लेखिएको थियो– ‘मेरो आत्माले कहिले शान्ति पाउने ?’
त्यहाँ शहीद परिवारका सात वटा बुँदामा केही माग उल्लेख थिए । ती हुन्, ‘जेनजी आन्दोलनमा गोली चलाउने माथि छानबिन कहिले ?’, ‘निःशुल्क शिक्षा, उपचार, साथै रोजगारीको व्यवस्था’, ‘प्रत्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री’ आदि ।
पाँच तारे होटलबाट सुरु भएको मिराजको यो अभियानले कहिलेसम्म के के उपलब्धि दिने हो ? त्यसका लागि भने केही समय कुर्नु पर्ने भएको छ ।

प्रकाशित मिति २०८२ कार्तिक २, आईतवार ०८:२० गते
हजुरको प्रतिक्रिया