एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले सम्पादकहरूलाई लामो समय कुराएर, पुरानै कुरा घोकाउनु भो

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले सम्पादकहरूलाई लामो समय कुराएर, पुरानै कुरा घोकाउनु भो

एजेन्सी

@antaranganews

२०८२ कार्तिक ३ गते सोमबार ०६:३९

उहाँले ‘ममाथि सुरक्षा खतरा छ तर सरकार मेरो सुरक्षा फिर्ता लिन्छ, मेयर र वडाध्यक्षको सुरक्षा बढाउँछ । आफ्नो गिरोहका मानिसको सुरक्षा बढाउँछ, यस्तो भयो भने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्छ । जनताले सरकारको मनसाय बुझ्छन्, शान्ति सुरक्षा खस्केको देख्छन्, अनि केपी ओली नै प्रधानमन्त्री चाहियो भन्न थाल्छन् ।’ अनि तपाई सम्पादकहरू ‘केपी ओलीलाई प्रधानमन्त्री बनाऔं’ भनेर विशेष सम्पादकीय लेख्नुहुनेछ भन्ने दावी उहाँले गर्नुभयो ।

कुनै पनि व्यक्ति नेतृत्वमा बस्न सान्दर्भिक छ कि छैन भन्ने उमेरले निर्धारण नहुने उहाँको कथन छ । यति मात्र होइन, उहाँले जनताले चाहे आफू फेरि प्रधानमन्त्री भएर आउने समेत उदघोष गर्नुभयो ।

काठमाडौं– एमालेका अध्यक्ष केपि शर्मा ओली, प्रधानमन्त्रीबाट राजीनामा गरेपछि पहिलो पटक औपचारिक रुपमा सम्पादकहरू माझ देखिनु भयो । लामो समय पछि सम्पादकहरूसँग झण्डै एक घण्टा कुराउनु भयो र पुरानै कुरा घोकाएर कार्तिक २ गते फर्काउनु भएको हो ।
कोटेश्वरको एक क्याफे तथा ब्यांक्वेटमा तोकिएको समयभन्दा झन्डै एक घण्टा ढिलो गरी सम्पादकसँग संवादमा पुग्दा एमाले अध्यक्ष केपी ओलीसँग सुनाउने कुराहरू भने नयाँ रहेनछन् । सम्पादकहरूका प्रश्न लगभग एक घन्टाका थिए भने ती प्रश्नमा जबाफ दिन पनि ओलीले एक घन्टाभन्दा बढी समय लगाएर नै दिनु भएको थियो ।
ओलीले आफू अझै पार्टीको अध्यक्षको जिम्मेवारीमा रहिराख्ने पुरानै स्पष्ट सन्देश दिनु भयो । प्रेस चौतारीले सम्पादकसँग संवाद भनी ब्यानर टाँगे पनि संवादको साटो अगुवा कार्यकर्ता भेलाको छनक आउने खालको औपचारिक ‘सिटिङ अरेन्जमेन्ट’ थियो । त्यहाँ ओलीले दोहोरो र खुलस्त संवादमा भाग लिनुको साटो सधैंजसोका कार्यक्रममा झैं एकोहोरो लामो मन्तव्य मै व्यस्त देखिनु भयो ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एक साताअघि सम्पादक भेट्दै आफूले जिम्मेवारी नछाड्ने घुमाउरो संकेत गर्नु भएको थियो ।
कार्यक्रम स्थलमा ओली ढिलो गरी पुग्दा एक दर्जनभन्दा बढी सम्पादकहरूले ओलीको प्रतीक्षा निर्धारित समयभन्दा अनपेक्षित रूपमा लम्बिएको भन्दै कार्यक्रमस्थल नै छाडेर हिंडेका थिए । त्यसअघिसम्म सम्पादकहरू आफूलाई विगतमा संवाददाता छँदा ओलीले कति घण्टासम्म, के कसरी कुराएका थिए भन्दै कानेखुसी गर्दै समय विताउने काम गरेका थिए ।
पहिले पहिले प्रेससँग खुलेर बोल्न मन पराउने गरेका ओलीले चौथोपल्ट प्रधानमन्त्री बनेयता सिंगो कार्यकालभरि प्रेससँग विरलै संवाद गर्नु भएको थियो । प्रधानमन्त्री पदमा बहाल रहँदा सम्पादकहरूसँग उहाँको एउटा पनि संवाद भएको थिएन । उहाँलाई प्रेससँग जवाफदेही हुनु साटो ‘एक्सक्लुसिभ मेटरियल’ बनाइराख्ने, सोसल मिडिया इन्फ्लुयन्सरहरूबीच नजिक राखिराख्ने प्रधानमन्त्री सचिवालयको प्रयासले सार्थक रुप लिन सकेका कारण उहाँको सत्ता बहिर्गमन भएको हो भन्ने अझै हेका नभएको आभास पाइन्थ्यो ।
त्यसो त जेनजी विद्रोहबाट सत्ताच्युत भएपछि ओलीले करिब ४० दिनपछि आम सञ्चारका प्रतिनिधिसँग दोहोरो कुराकानी गर्नु भएको हो ।
कार्यक्रमस्थलबाट आधाजसो विदा भइसकेर बाँकी रहेका सम्पादकहरूलाई अभिवादन गर्दै प्रवेश गरेका ओली र सहभागी बीचको भौतिक दूरी निकै टाढा थियो । उहाँ सहभागी सम्पादकहरू भन्दा माथिल्लो आसनमा हुनुहुुन्थ्यो, जहाँबाट अन्तरङ्ग संवाद गर्न सहज थिएन ।
दुई चरणमा गरी झन्डै दुई घण्टा बोलेका ओलीले मन्तव्यभरिमा जम्मा एउटा नयाँ सूचना दिए, ‘सुशीला कार्की प्रधानमन्त्री नबन्दासम्म मेरो मोबाइल सिज गरिएको थियो ।’ उनले यो सरकारको लक्ष्य चुनाव नभएको भन्दै आफूहरू सहभागी हुन नसक्ने सन्देश सुनाउनु भयो ।
ओलीले तत्कालीन प्रधानमन्त्री भएका कारण आफ्नो घर जलाइए पनि कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि आक्रमणको कारण के थियो ? भन्ने प्रश्न सम्पादकहरू माफ तेर्स्याउन पुग्नु भयो । सरकारले विधिको शासन राख्न नसकेको भन्दै चुनावको साटो प्रतिनिधिसभा पुनस्र्थापना मार्फत फर्कन सक्ने आकलन गरे । बाँकी विश्लेषण, दाबीहरूसहित लामो वक्तव्य दिए पूर्वप्रधानमन्त्री ओलीले ।
ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अरु केही नेताको उमेर दाँज्दै आफू अझै कार्यकारी पदमा सक्रिय रहने दाबी दोहोर्याउनु भयो । जेनजी विद्रोहका बेला प्रधानमन्त्री रहनु भएका ओलीसहित तीन दलका शीर्ष नेता असफल भइसकेकाले अब कार्यकारी जिम्मेवारी छाड्नुपर्ने दबाब तिनकै दलभित्र समेत बढ्दो क्रममा छ ।
तर ओलीले ‘सम्पादकले भनेका भरमा पद नछाड्ने’ दृढोक्ति थियो । केही सम्पादकले उहाँसँग शीर्ष नेतृत्व लामो समयदेखि पदमा रहे पनि जनताले त्यसको लाभ नपाएको भन्दै अब मार्गप्रशस्त गर्नुपर्ने, २३ भदौमा राज्यले मच्चाएको हिंसाको नैतिक दायित्व लिनुपर्नेलगायत प्रश्नसमेत राखेका थिए । तर ओलीसँग त्यसको ठोस चित्तबुझ्दो जवाफ रहेनछ ।
आफू पदमा रहने वा नरहने निर्णय कार्यकर्ता तथा जनताले गर्ने भन्दै बाँकी सम्पादक वा बुद्धिजीवीको रायतर्फ रोससहितको उदासीनता देखाउने काम ओलीले गर्नु भयो । आफ्नो सिंगो जीवन सादगी र पारदर्शितामा बितेको दावी गर्दै ओलीले सम्पत्तिका बारेमा कुनै आशंका भए छानबिन गर्न पत्रकार महासंघ वा सम्पादकलाई आग्रह थियो ।
जेनजी आन्दोलनका तीन भाग भएको तर्क गर्नुभयो तर तीन भाग के थिए भन्नेतर्फ लामो व्याख्या गर्न चाहनु भएन । भदौ २३ गते प्रहरी ब्यारिकेड तोड्दै विध्वंशात्मक भएको प्रदर्शनले घुसपैठ तथा अराजकताको बाटो समाएको उहाँले औंल्याउनु भयो ।
आफूबाट सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव, सिफारिस केही नगएको उहाँको दाबी छ । त्यस्तो प्रमाण भए देखाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती समेत उहाँले दिनुभयो ।
ओलीले भदौ २४ पछि सुशीला कार्की प्रधानमन्त्री नहुँदासम्म सेनाले आफ्नो मोबाइल नियन्त्रणमा लिएर सम्पर्कविहीन अवस्थामा राखेको ओलीले पहिलो पटक खुलाउनु भएको हो । उहाँले भन्नुभयो, ‘आफ्नो मोबाइल भदौ २७ गते मात्र फिर्ता पाएँ, जब सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो ।’ उहाँले थप भन्नुभयो, ‘मलाई असोज २७ गते बेलुकीसम्म सम्पर्कविहीन अवस्थामा राखिएको थियो, प्रधानमन्त्रीको शपथग्रहण हुने बेलासम्म मेरो हातमा मोबाइल थिएन, सुशीला कार्कीलाई लिखित सिफारिस गरेको झूटो हो ।’
त्यस दिन प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा हमला गरेपछि सेनाले ओली दम्पतीलाई हेलिकप्टरमा राखेर हेटौंडाको ब्यारेकमा लगेको यसअघि नै सार्वजनिक भइसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न ओलीले लिखित सिफारिस पठाएको यसअघि खुलासा गरिसक्नु भएको छ । प्रचण्डले केही दिनअघि पत्रकारहरूसँगको संवादमा भन्नुभएको थियो, ‘लिखित सिफारिस गर्ने उहाँ (ओली) नै हो, हामी त साक्षी मात्र हौं ।’
तर यी दुवै कुरा झूटो भएका ओलीको दावी छ । त्यतिबेला राष्ट्रपति र प्रधानसेनापतिसँगको कुराकानीमा संविधानबाटै समाधान खोज्ने प्रयोजनका लागि आफूले सिफारिस गरेको उहाँको प्रष्टोक्ति छ ।
उहाँले भदौ २४ गते राजीनामा दिएपछि कामचलाउ प्रधानमन्त्रीका हैसियतले राष्ट्रपति र प्रधानसेनापतिसँग छलफल गरेको खुलाउनु भयो । पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने हुँदा कार्कीको नियुक्ति ‘असंवैधानिक’ हुने पनि बताएको ओलीको भनाइ छ । ओलीले भन्नुभयो, ‘नयाँ पिँढीलाई देशको स्वाभिमान सिकाउनुपरेको छ, पूर्वप्रधान न्यायाधीशले संविधान त पढ्नु भएकै होला, उहाँ प्रधानमन्त्री बन्न मिल्छ त ?’ उहाँको प्रतिप्रश्न थियो ।
ओलीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको बचाउ गर्दै नयाँ पिँढीलाई देशको इज्जत के हो ? भन्ने पाठ पढाउनु पर्ने भएको भन्दै भन्नुभयो, ‘हाम्रा नवयुवाहरूलाई राष्ट्रको स्वाभिमान हुन्छ भनेर सिकाउनु परेको छ । कुनै पनि देशको इज्जत हुन्छ भनेर नयाँ पिँढीलाई बुझाउनु परेको छ ।’ के कुनै पनि देशको राष्ट्रिय स्वाभिमान भन्ने हुँदैन ? सरकारले प्रतिबन्ध लगाएपछि ती सामाजिक सञ्जाल कम्पनीहरूसँग कुराकानी भइरहेको र उनीहरू नेपालको कानुन अनुसार दर्ता हुन आइरहेको उहाँको कथन छ ।
भदौ २३ गते स्कुल–ड्रेस लगाएका निहत्या विद्यार्थीहरूमाथि गोली चलाउन आदेश दिएको आरोप छ नि ? भन्ने प्रश्नमा ‘गोली चलाउने आदेश आफूले नदिएको र यस्तो आदेश दिने काम प्रधानमन्त्रीको हुँदै नभएको, त्यस दिनको आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले अघिल्लो रात नै ब्रिफिङ गरेको थियो ।’
भदौ २३ गते १२ बजेसम्म जुलुस शान्तिपूर्ण थियो। त्यसपछि भटभटे मोटरसाइकल चढेर आएकाहरूले नयाँबानेश्वरको सुरक्षा ब्यारिकेड तोड्न खोजे। अहिले ‘टिओबी’ जस्ता समूह बन्दुक बोकेर हिँडेका थिए भन्ने आएको छ । त्यस्ता मान्छेले जुलुसमा घुसपैठ गरेर ब्यारिकेड तोड्न खोजेपछि आन्दोलन आह्वान गर्ने जेन–जीहरू हाम्रो कार्यक्रम सफल भयो भनेर घोषणा गर्दै घर फर्किसकेका थिए ओलीले उल्लेख गर्नु भयो ।
२३ को घटनामा दुइटा अध्याय भएको भन्दै माइतीघरदेखि नयाँबानेश्वरसम्मको शान्तिपूर्ण प्रदर्शन पहिलो अध्याय हो भने ‘भटभटे मोटरसाइकल’ चढेर आएकाहरू आक्रामक हुँदै संसद भवन छिर्न खोजेपछि उत्पन्न घटना दोस्रो अध्याय हो ।
त्यस घटना छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको जाँचुबझ आयोगलाई ‘बोगस’ भनेका छन् र त्यसले बोलाए पनि बयान दिन नजाने उहाँले उल्लेख गर्नुभयो । उहाँले जोड दिदै भन्नुभयो, ‘यस्ता बोगस आयोगले बोलायो भन्दै केपी ओली लुरूलुरू बयान दिन जाँदैन ।’
पार्टी नेतृत्व नछाड्ने ?
एमाले अध्यक्ष ओलीले सो संवादमा पार्टी अध्यक्ष छाड्ने मनसाय नरहेको प्रस्टै खुलाउनु भयो । आफू शारीरिक र मानसिक रूपले सक्रिय रहेकाले पार्टीको नेतृत्व छाड्नुपर्ने आवश्यकता नभएको उहाँको कथन छ । ओलीले भन्नुभयो, ‘कुनै पनि टिमको क्याप्टेन हुन्छ । क्याप्टेनले छाडेपछि टिमबाटै अर्को व्यक्ति क्याप्टेन बन्छ । बाहिरको मान्छेले भन्दैमा कसैले क्याप्टेनसिप छाड्दैन, क्याप्टेनले आफ्नो जिम्मेवारी छाड्न त टिमले भन्नुप¥यो नि !’ अहिले नेकपा एमालेमा केपी ओली नै टिमको क्याप्टेन हो भन्ने उहाँको तर्क छ ।
ओलीले आफू ७३ वर्ष मात्र भएको भन्दै विदेशको उदाहरण सहित भन्नुभयो, ’बंगलादेशमा ८५ वर्षका व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ, भारतमा ७६ वर्षका प्रधानमन्त्री हुनुहुन्छ, अमेरिकामा ८० वर्षका नेता नेतृत्वमा छन्, रूसी राष्ट्रपति पुटिन मभन्दा ७ महिना मात्र कान्छा हुन् भने चीनका राष्ट्रपति सी चिनफिङ मभन्दा डेढ वर्ष मात्र कान्छा हुन् ।’
कुनै पनि व्यक्ति नेतृत्वमा बस्न सान्दर्भिक छ कि छैन भन्ने उमेरले निर्धारण नहुने उहाँको कथन छ । यति मात्र होइन, उहाँले जनताले चाहे आफू फेरि प्रधानमन्त्री भएर आउने समेत उदघोष गर्नुभयो ।
उठाउनु भो, शृंखला खतिवडाको प्रसंग :
केपी ओलीले जेन–जी आन्दोलन क्रममा एकदमै चर्केको ‘नेपोबेबी’को प्रसंग कोट्याउँदै सामाजिक सञ्जालमा ‘नेपोबेबी’ अभियानका नाममा पूर्वमिस नेपाल तथा एकीकृत समाजवादी नेता विरोध खतिवडाकी छोरी शृंखला खतिवडाको बदनाम गरिएको उल्लेख गर्दै भन्नुभयो, ‘शृंखला खतिवडालाई उनका आमाबुबाले के गरेका थिए र ? के दिएका थिए र ? अरू आमाबुबाले जसरी आफ्ना छोराछोरीलाई माया गर्छन्, त्यस्तै माया त गरेका थिए । त्योभन्दा बढी शृंखलाले के पाएकी थिइन् ?’ उहाँले थप भन्नुभयो, ‘के श्रृंखलालाई उनका आमाबुबाले हेलिकप्टरमा स्कुल पु¥याउने गरेका थिए ?’ भन्ने प्रश्न गर्दै, ‘म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ, यसलाई मेरो अहंकार भन्नुस् या जेसुकै !’
निर्वाचनबारे के छ धारणा ?
ओलीले प्रहरीबाट लुटिएका हातहतियार र कैदीबन्दीलाई बजारमा खुला छाडेर, नेताहरूलाई थुनेर कसरी निर्वाचन हुने भनेर प्रश्न गरेका छन् । आन्दोलन क्रममा १२ सय हतियार र एक लाखभन्दा बढी गोली लुटिएको दाबी गर्दै उनले निर्वाचन गर्न सुरक्षाको प्रत्याभूति नहुने बताउनु भयो ।
भ्रष्टाचारको छानबिन गरे हुन्छ :
ओलीले आफूले एक पैसा भ्रष्टाचार नगरेको दाबी गर्दै कसैलाई छानबिन गर्न मन लागे गरे हुन्छ चुनौतीपूर्ण शैलीमा भन्नु भएको छ । मेरोमात्र किन सबै नेताहरूको सम्पत्ति छानबिन गरौ, म तयार छु, संसारका अरू बैंकमा पैसा थुपारेको छ भन्ने लागे सरकारले आफ्नो च्यानल प्रयोग गरेर संसारभरिका बैंकमा खोजतलास गरे हुन्छ उहाँले उल्लेख गर्नुभयो । उहाँले नेताहरूको मात्र होइन, बिचौलिया र दलालहरूको पनि सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिनु भयो ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष बयान दिन नजाने दाबी दोहोर्याउदै आफू ७३ वर्ष भइसक्दा अझै पनि दुःख पाइरहेको भन्दै सम्पादकहरूसँग उहाँले न्याय गर्न अपिल गर्नुभयो ।
आफूलाई उपत्यका काटेर बाहिर जान नदिने कोसिस भइरहेको भन्दै ओलीले मुलुकको सरहदभित्र जहाँ पनि निर्बाध जान सक्ने र हिम्मत भए आफूलाई रोकेर देखाउन सरकारलाई चुनौती सहित चेतावनी पनि दिनु भ्याउनुभयो ।
उहाँले ‘ममाथि सुरक्षा खतरा छ तर सरकार मेरो सुरक्षा फिर्ता लिन्छ, मेयर र वडाध्यक्षको सुरक्षा बढाउँछ । आफ्नो गिरोहका मानिसको सुरक्षा बढाउँछ, यस्तो भयो भने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्छ । जनताले सरकारको मनसाय बुझ्छन्, शान्ति सुरक्षा खस्केको देख्छन्, अनि केपी ओली नै प्रधानमन्त्री चाहियो भन्न थाल्छन् ।’ अनि तपाई सम्पादकहरू ‘केपी ओलीलाई प्रधानमन्त्री बनाऔं’ भनेर विशेष सम्पादकीय लेख्नुहुनेछ भन्ने दावी उहाँले गर्नुभयो ।
दुई चरणमा कार्यक्रम गर्ने भनिएपनि पहिलो चरणमा ओलीसँग सात सम्पादकले प्रश्न सोध्न पाए भने दोस्रो चरणमा बाँकी प्रश्नकर्ताको पालो आउँदै आएन ।

प्रकाशित मिति २०८२ कार्तिक ३, सोमबार १८:३९ गते
हजुरको प्रतिक्रिया