चुनाव गराउनका लागि हामी अहोरात्र खटिरहेका छौँ : प्रधानमन्त्री सुशीला कार्की

चुनाव गराउनका लागि हामी अहोरात्र खटिरहेका छौँ : प्रधानमन्त्री सुशीला कार्की

एजेन्सी

@antaranganews

२०८२ कार्तिक ५ गते बुधबार ०५:३९

सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन भन्ने स्मरण गर्दै प्रधानमन्त्री कार्कीले भयरहित वातावरणमा चुनाव गराउन सरकारको प्रतिबद्धता व्यक्त गर्दै नेताहरूसँग संवादलाई समेत जोड दिनुभयो ।

निर्वाचनको तयारीमा सबै दलको सहमति रहेको र सुरक्षा वातावरण आवश्यक भएको बताए : सरकारका प्रवक्ता जगदीश खरेल

काठमाडौँ– चुनावी माहोल बनाउन र तताउन सरकार लागि परेको प्रधानमन्त्री सुशीला कार्कीको प्रष्टोक्ति छ । प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा बसेको सरकार र दलहरू बीचको बैठक चार घन्टाभन्दा लामो समय चलेको छलफलले कार्तिक ४ गते त्यस्तो संकेत गरेको हो । बैठक दिउँसो सवा चार बजेदेखि साढे चार घण्टा चलेको थियो ।
कसै कसैले चुनाव हुन्न कि ! भन्ने आशंका गरिरहेका बेला प्रधानमन्त्रीले त्यस्तो आशंका मेट्ने प्रयास गर्नु भएको छ । सार्वजनिक रुपमा समयमै चुनाव गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउनु भएकी प्रधानमन्त्री कार्कीले दलहरूलाई बोलाएर उस्तै प्रतिवद्धता दोहोर्याउनु भएको छ ।
प्रधानमन्त्री कार्कीले चुनावमा जानुको विकल्प नहरेको समेत प्रष्ट्याउनु भएको छ । जेनजीको माग सम्बोधन गर्दै सुशासन कायम गर्दै चुनावमार्फत मुलुकलाई अगाडि बढाउने बाहेक सरकारले केही नसोचेको भन्दै प्रधानमन्त्री कार्कीले दलहरूसँग समेत चुनावी वातावरणका लागि सहयोगको अपेक्षा गर्नु भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलले संवादको ढोका खोलिदिनु भएको स्मरण गर्दै भन्नुभयो, ‘यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीहरू, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ ।’ दलहरूसँग संवादमा ढिलाइ किन ? भन्ने सन्दर्भमा ‘यसबीचमा घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो, त्यसमा समय लाग्यो, सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाई रहनुभएको थिएन ।’ उल्लेख गर्नुभयो ।
उहाँले दलहरूले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै दलका नेताहरूसँग थप भन्नुभयो, ‘अब जेनजी र दलहरू बसौँ, जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ, चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ ।’
त्यस अवसरमा राजनीतिक दलका नेताहरूले निर्वाचनका लागि शान्ति सुरक्षाको विषयलाई प्रमुख हुने भन्दै सरकारले त्यसमा ध्यान दिन नसकेको विषय बैठकमा उठाएका छन् । बैठकमा सहभागी दलका नेताहरूले आफ्नो आफ्नो दलको तर्फबाट निर्वाचनका सम्बन्धमा पार्टीको औपचारिक धारणा राखेका छन् ।
दलका नेताहरूले अहिलेकै अवस्थामा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने भन्दै पूर्ण शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म चुनावको वातावरण बन्न नसक्ने बताएका थिए ।
छलफलमा सहभागी नेताहरूले सरकारको म्यान्डेड चुनाव गर्नु रहेको बताए । छलफलमा नेकपा एमाले नेताहरूले यहीँ अवस्थामा निर्वाचन हुनसक्छ र ? भन्दै सरकारको जवाफ माग गरेका थिए । एमालेका तर्फबाट महासचिव शंकार पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली दुवै वोल्नु भएको थियो । उहाँहरूले ‘चुनाव हुने वातावरण सिर्जना भइराखेको छैन । हात हतियारको कुरा छ । शान्ति सुरक्षाको कुरा के हुन्छ ?’ भनेर प्रश्न गर्नु भएको थियो । उपमहासचिव ज्ञवालीले ‘प्रहरीहरूको मनोबल गिरेको छ । दुर्घटना भए अस्पताल लैजाने भन्दा अन्यत्र प्रहरीले भूमिका निर्वाह गर्न सक्ने अवस्थामा नरहेको’ बताउनु भएको थियो ।
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सबै नेताहरूले शान्ति सुरक्षाको प्रत्याभूति नभएको र सुरक्षा निकायको पनि मनोबल खस्किएको भन्दै सरकारले शान्ति सुरक्षा मजबुत बनाउनुपर्ने र सरकारका अभिव्यक्तिले नै चुनावबारे विश्वस्त बन्न सक्ने अवस्था नरहेको बताएको बताउनु भएको थियो । कांग्रेस निर्वाचनमा जान तयार रहेको तर सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेको तथा २४ गतेको घटनामा संलग्नलाई कारबाही गर्न सरकारले चासो नदेखाएको उहाँको भनाइ थियो ।
माओवादीका तर्फबाट वर्षमान पुनले भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले दलहरू र नेताहरू नै सुरक्षित छैनन् । मुद्दा नचलाउने गृहमन्त्रीको परिपत्र के हो ? चुनावमा जाने हो भने दलहरूलाई विश्वासमा लिनुपर्छ ।’
कांग्रेसका महामन्त्री गगन थापाले संसद् विघटन असंवैधानिक भएता पनि निर्वाचनका लागि आफूहरू तयार भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।
बैठकको सुरुमा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेलले सरकार र दलहरू बीचको छलफल राख्नुको आवश्यकताबारे प्रकाश पार्नु भएको थियो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अधिकांश सहभागीले निर्वाचनमै केन्द्रित भएर धारणा राखेको र निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको दाबी गर्नु भयो ।
सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो दलहरूको रहेको उहाँको जिकिर थियो । यद्यपि बैठकमा सहभागी एमाले नेताहरूले भने सरकारले चुनाव गराउन सक्दैन कि ! भन्ने आशंका व्यक्त गरेका थिए । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सरकार र दलहरूबिचको छलफल सकारात्मक रहेको भन्दै सबै दलले निर्वाचनमा भाग लिने कुरा गरेको तथा सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र सरकार उत्साहित भएको बताउनु भयो । उहाँले सुरक्षाको वातावरण बनाउन सरकार, जेनजी र दलहरूले समेत सघाउने विश्वास बढेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले दलका नेताहरू सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राखेको बताउनु भयो । उहाँका अनुसार सवैबाट चासोहरू व्यक्त भएको छ । मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोग बिना त्यो सम्भव हुँदैन भन्नुभएको छ ।’
सो बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेबाट महासचिव शंकर पोखरेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुन्थ्यो । माओवादीबाट नेताहरू वर्षमान पुन र पम्फा भुसाल तथा रास्वपाबाट उपाध्यक्ष स्वर्णिम वाग्ले र नेतृ सोविता गौतमले भाग लिनु भएको थियो ।
एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ तथा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, तराई मधेस लोकतान्त्रिक पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवालले भाग लिनु भएको थियो । यसैगरी, पर्यवेक्षकद्वयका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुनुहुन्थ्यो ।
उक्त संवाद बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी दलहरूका तर्फबाट नेपाली कांग्रेसबाट गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायतले भाग लिनु भएको थियो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो ।
निर्वाचन आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जित्नेसमेत गरी २९ वटा राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीहरूसँग सघन छलफल गरी निर्वाचनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका थिए ।
निर्वाचनमा सुरक्षाको वातावरण खोजे । चुनाव हुनेमा संशय व्यक्त गर्दै आएको नेकपा एमालेले समेत चुनावको विरोध गरेन । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक दलहरूसँग औपचारिक रुपमा संवाद गर्नु भएको हो । उहाँ गत भदौ २७ गते प्रधानमन्त्री हुनु भएको हो । त्यसदिन राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।
प्रधानमन्त्री भएको ४० दिनपछि कार्कीले दलहरूसँग औपचारिक रुपमै संवाद गर्नु भएको हो । यो संवादले सरकार र दलबीचको दूरी घटाउने काम गरको आम बुझाइ छ ।

प्रकाशित मिति २०८२ कार्तिक ५, बुधबार १७:३९ गते
हजुरको प्रतिक्रिया