काठमाडौं– मन्त्रिपरिषद्मा आज चार जना मन्त्रीहरू थपिने हुनु भएको छ । डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ भूमि मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतको भनाइ छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी आज कार्तिक ९ गते साढे २ बजेका लागि भइरहेको छ ।
गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
श्रेष्ठलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तय भएकोमा अहिले उहाँको जिम्मेवारी फेरेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइसक्नु भएको छ ।
डा. सुधा शर्मा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुनुका साथै स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुनुहुन्छ । उहाँले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत प्रकाशन गर्नु भएको छ ।
यसअघि सम्भावित स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो । त्यसअनुसार उहाँले पदबाट राजीनामा समेत दिनु भएको थियो । तर उहाँ उपर अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको खुलासा भएपछि प्रधानमन्त्री कार्कीले उहाँको नाम हटाउनु भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कार्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी महिला पूर्वस्वास्थ्य सचिवलाई नै दिने निर्णय गर्नु भएको हो ।
गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुनुहुुन्छ । उहाँले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गर्नु भएका श्रेष्ठ सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिने काम समेत गर्नु भएको छ ।
खगेन्द्र सुनार दलित अधिकारकर्मी भएर संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गर्नु भएको व्यक्तित्व हो । छुवाछूतजस्ता सामाजिक कुप्रथाका विरूद्ध पैरवी गरिरहेका सुनार माइतीघर मण्डलमा नेलसहित प्रदर्शन गरेर त्यतिबेला उहाँको ‘दलितलाई खै’ भन्ने अभियान चर्चा पाएको थियो । दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी हुनु भएका उहाँ ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेसँगै बढी चर्चामा आउनु भएको हो । उहाँले सो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिनु भएको थियो ।
बब्लु गुप्ता सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । कोभिडकालमा निःशुल्क खाना अभियान चलाउनु भएका उहाँले कोभिड महामारीमा विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाउनु् भएको थियो । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाउने काम समेत गर्नु हुने उहाँ बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथी समेत हुनुहुन्छ ।
कार्की नेतृत्वको मन्त्रिपरिषदमा यसअघि ७ जना मन्त्री छन् ।
प्रकाशित मिति २०८२ कार्तिक ९, आईतवार ११:५१ गते