बेसीशहर– लमजुङमा तिहारको बेलामा मापसेको विगविगी बढेको पाइएको छ । सोही कारणले सिर्जिएको झगडाका कारण जिल्ला प्रहरी कार्यालयमार्फत ज्यान मार्ने उद्योगमा दुई मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् । ती दुवै मुद्दाका अभियुक्तलाई कार्तिक ९ गते जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७/७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन अर्थात मापसेका कारणले भएका ती घट्ना सुन्दरबजार नगरपालिका– ७ को पाउँदी बजारमा र मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा भएको प्रहरीले जनाएको छ । ती दुवै घट्ना रातीको समय अर्थात ८ बजे पछि भएका हुन् ।
पाउँदी घट्नाका घाइते पोखरल अझै बेहोस :
कार्तिक २ गते राती ९ बजेदेखि ९ः३० बजे भएको सो घट्नामा पोखरेल दाजु भाइका बीचमा विवाद बढ्दै जादा आपसमा हानाहान भएको बताइएको छ । सो घट्नाका पीडित दिनेश पोखरेलको शल्यक्रियापछि कार्तिक ९ गते राती ९ बजे यो समाचार तयार गर्दासम्म होस नखुलेको परिवार स्रोतले जनाएको छ ।
सो घट्नाका प्रत्यक्षदर्शीका अनुसार पीडक आफ्नै दाजु नाताका प्रकाशचन्द्र पोखरेल र पीडित भाइ दिनेश पोखरेल आपसमा राम्रो मेलमिलाप भएका(दाजु भाइका सन्तान) व्यक्ति पनि हुन् । दुवैले साँझमा सँगै बसेर मापसे गर्ने गरिआएको पनि धेरै समय भइसकेको रहेछ । पीडित दिनेश आफ्नै अटो रिक्सा चालक हुन् भने प्रकाशचन्द्र कृषक हुन् । प्रायः दुवैको खाजा पानी सँगै चल्ने गरेको गाउँलेको भनाइ छ । त्यसो त प्रकाशचन्द्रको पिउने बानीका कारण उहाँकी श्रीमतीसमेत धेरै वर्षदेखि पीडित(घरेलु हिंसाबाट) हुँदै आएको छिमेकीहरूको बताउछन् ।
त्यस दिन प्रकाशकोमा बसेर दाजु भाइले पिउने काम गरेका रहेछन् । पिउँदै गर्दा ती दाजुभाइहरूका बीचमा हुँदै गरेको कुराकानी केमा रड्किन गयो, सुरुमा दिनेशले दाजुलाई हिर्काउन खोजेछन् । त्यसपछि नजिकै रहेको वियरको बोतल फोरेर धारिलो बनेको भागले भाइलाई प्रहार गर्दा दिनेशको टाउकोमा लागेर रगत बग्न थालेछ ।
त्यसपछि दिनेश आफैले अटो हाँकेर सुन्दरबजार नगरपालिका– ६ मा रहेको स्थानीय नमूना सामुदायिक अस्पतालमा पुगेछन् । त्यहाँ प्राथमिक उपचार पछि सो अस्पतालले उनलाई भरतपुर रिफर गरेछ । भरतपुर अस्पतालमा दिमागमा रगत जमेको हुनाले शल्यक्रिया गर्नु पर्छ भनिएछ । ३ गते शल्यक्रियाको काम भएछ । त्यस्तो शल्यक्रियामा ७८ घण्टा बेहोस गराउनु पर्ने चिकित्सकीय नियम भएको बताइन्छ । तर उनी त्यसको दोबर समय वित्दा पनि होसमा आउन नसकेको बताइएको छ । शल्यक्रिया गर्नु अघि उनी होस् मै भएको स्रोतको भनाइ छ ।
भरखरै प्राप्त समाचार अनुसार दिनेशलाई भेन्टिलेटरबाट आइसियुमा सारिएको छ ।
भोर्लेटार र रामबजारको पुस्तौनी झगडाको मारमा आकाश न्यौपाने :
भोर्लेटार र रामबजार बीचको झगडा आजको भने होइन । त्यहाँ वारी र पारी क्रमशः भोर्लेटार र रामबजारको पुस्तौं अघि अर्थात पञ्चायतकालदेखि नै झगडा हुने गरेको छ । स्रोतका अनुसार भोर्लेटारको ईशानेश्वर मावि लमजुङको पुरानो विद्यालयकै गणनामा पर्दछ । पछि गाउँगाउँमा स्कूल खुल्न थाले । त्यही क्रममा रामबजारमा पनि कुसुमाकर मावि खोलियो । तर त्यो विद्यालयका लागि तयार गरिएका फर्निचर समेत भोर्लेटारबाट गएको जमातले त्यतिबेला मादी नदीमा लगेर बगाएको पाको उमेरकाहरूका मुखबाट आज पनि कथा जस्तो लाग्ने गरी सुन्न पाइन्छ ।
त्यस अधि र पछि बर्षै पिच्छे जस्तो वारी र पारीको ग्याङ्फाइट हुने गरिआएको छ । त्यो ग्याङ फाइटमा राजनीतिक रङ्ग हुँदैनथ्यो तर घट्ना भइसकेपछि राजनीतिक रङ्ग भर्ने गरिन्छ, भरिन्छ र पहुँच हुनेले आफ्ना समर्थकलाई जोगाउँदै, उम्काउँदै आएको स्थिति पनि छन् ।
यो पटकको तिहार अर्थात पछिल्लो घट्ना पनि त्यसै शृंखलाको उपज हो भन्दा अतिशयोक्ति हुँदैन । पछिल्ला वर्षमा त फेसबुक वालमा समेत एकले अर्कोलाई चुनौति दिने गरेको समेत पाइने गरेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार बाटोमा भेट हुदा पनि ‘तँ भोर्लेटारको होस् ?’ ‘तँ त रामबजारको हैनस् ?’ जस्ता प्रश्न गर्दै कुटाकुट हुने गरेको स्थिति छ ।
यस पटकको घट्नामा मध्यनेपाल नगरपालिकाका उपमेयर सीता गुरुङका छोरा सित्तल गुरुङ(रामबजार) कुटिएका छन् भने उनलाई कुटेको भन्दै आकाश न्यौपाने(भोर्लेटार)लाई प्रहरीले पक्राउ गरी बेसीशहरमा ल्याएको छ र उनको पनि आजबाट फेरि ७ दिनको म्याद थप भएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
न्याय सत्यको पक्षमा हुनुपर्छ, हुलको पक्षमा हैन :
न्याय सदैव सत्यको पक्षमा हुनुपर्छ, हुलको पक्षमा हैन । प्राकृतिक न्यायको सिद्धान्तले पनि यही भन्छ । तर नेपालमा पछिल्ला केही दशक यता न्याय हुलको पक्षमा हुने गरेको छ । भोर्लेटारको यस घट्नामा पनि त्यही संकेत देखिएको जानकारहरू बताउँछन् ।
त्यो घट्ना जे जसरी घट्यो, खुकुरी बोकेर आएका व्यक्तिसँग दुई वटा खुकुरी थिए । यौटा आकाश न्यौपानेलाई समात् भनेर दिइयो । यौटा खुकुरीले सित्तल गुरुङमाथि प्रहार गरियो । त्यसरी प्रहार गर्ने व्यक्ति भाग्यो, मानिसहरू घट्नास्थल पुग्दा आकाशको हातमा खुकुरी देखेँ, रक्सीले बेसुर जस्तै अवस्थाका आकाशमाथि सित्तलका मानिसहरूले मुक्का र लात्ती प्रहार गर्दै रामधुलाई गरे । अन्ततः यतिबेला दोषीका रुपमा उनी (आकाश) करार हुँदैछन् ।
त्यसो त यस्ता काण्डमा आकाश परेको पहिलो पटक भने होइन । यसअघि पनि यस्ता कुटपिट काण्डमा २, ३ पटक आकाश पक्राउ परिसकेका कारणले त्यो घट्नाको वस्तुगत तथ्यतर्फ खोज्न, बुझ्न कसैलाई चासो र चिन्ता भएको देखिदैन । न त किटानी जाहेर दिनेले नै यसतर्फ सोचेको देखिन्छ । यसको अर्थ दोषीलाई उम्काउन वा घट्नालाई नयाँ मोड दिन खोजेको किमार्थ होइन । घट्नाको सत्य तथ्य छानविन होस् र दोषीलाई सजाय दिइयोस् तर दोषीका नाउँमा निर्दोष व्यक्तिउपर न्यायको डण्डा नबर्सियोस् र दोषी नउम्कियोस् भन्नेमात्र हाम्रो धेय हो । र घट्नाको अनुसन्धान सुक्ष्मरुपमा गहिरोसँग वस्तुपरक ढंगले गरियोस् भन्ने हो ।
स्मरणीय छ, आकाशका विगतका व्यवहारका कारण उनका अभिभावक समेत वाक्क भएको बुझिएको छ । त्यसैले जे सुकै होस् भन्ने सोचमा आकाशका अभिभावक रहेको बुझिएको छ ।
यो घट्नाको टुंगो के कसरी लाग्ने हो त्यो थाहा पाउने भने केही दिन कुर्नु पर्ने भएको छ ।
प्रकाशित मिति २०८२ कार्तिक ९, आईतवार २१:२३ गते