बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सुनुवाइ उच्च अदालत तुल्सीपुरमा आज पनि स्थगित भएको छ । उच्च अदालतले रवि लामिछाने र छविलाल जोशीको बिगो रकम बुझाई मुद्दा लड्न फाइल पेश गर्न आदेश दिएको मुद्दाको सुनुवाई कार्तिक १३ गते स्थगित भएको हो ।
मुद्दा सुनुवाइका लागि चौथो नम्बरमा थियो । तर, जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै निवेदन दिएपछि लगाउमा रहेको लामिछानेको मुद्दाको सुनुवाइ पनि स्थगित भएको हो । लगाउको मुद्दा भएकाले दुवैको सुनुवाइ स्थगित भएको मुद्दाको पेसी अब अर्को हप्ता तोकिएको छ ।
अदालतले उहाँहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलाशमा सुनुवाइ हुने पेशीको कार्यसूची प्रकाशित गरेको थियो । तर तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविललाल जोशी निवेदकका तर्फबाट आजको सुनुवाइ स्थगित गरिपाउं भन्ने निवेदन परेकाले सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुंवरले बताउनु भयो । उहाँका अनुसार अब अर्को बिहीबारका लागि साप्ताहिक पेशी पर्छ । उहाँले भन्नुभयो, ‘यसअघि एकै प्रकृतिका मुद्दा एकसाथ पेस गर्न आदेश भएको र दुवैको एकैसाथ रहेकाले एक जनाको स्थगितको निवेदनले दुवैको सुनुवाइ स्थगित भएको छ, अर्को पेसी तोकिएपछि छलफल होला ।’
‘रवि र छवि दुवै निवेदकका तर्फबाट स्थगितको निवेदन नपरे सुनुवाइ हुन्छ ।’ कुंवरको भनाइ छ । यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।
बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गर्नु भएको थियो ।
रवि र छवी दुवैलाई पुर्पक्षका लागि थुनामा राखिएको छ, रविलाई ललितपुर नख्खु कारागार र जोशीलाई भैरहवा कारागारमा राखिएको छ ।
प्रकाशित मिति २०८२ कार्तिक १३, बिहीबार २०:३८ गते