जेन जेड आन्दोलन : उच्छृङ्खल गतिविधि गर्ने मात्र ३३५ जना पक्राउ

जेन जेड आन्दोलन : उच्छृङ्खल गतिविधि गर्ने मात्र ३३५ जना पक्राउ

एजेन्सी

@antaranganews

२०८२ कार्तिक १६ गते आईतबार ०८:००

प्रहरीले काठमाडौँ उपत्यका, धनुषा, पर्सा, बारा, चितवन, धादिङ, काभ्रे, पर्वत, म्याग्दी, कास्की र बाँकेमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
जेन जेड प्रदर्शनमा टीओबीको टिसर्ट लगाएर उच्छृङ्खल गतिविधि गर्ने तेन्जिङ दावा लामा पक्राउ परे, उनलाई नागरिकताको विषयमा अनुसन्धान भइरहेको छ ।

जेन जेड आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्ज र कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भयो, जसमध्ये ९ जना पक्राउ परेका छन् ।

काठमाडौँ– जेन जेड आन्दोलनको क्रममा उच्छृङ्खल गतिविधि गर्ने आजका मितिसम्म प्रहरीले मात्र ३३५ जना पक्राउ गरेको छ । प्रदर्शनको आवरणमा भदौ २४ गते संसद् भवनमा आगजनी गर्ने र प्रहरीको हतियार लुट्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । देशभरबाट अहिलेसम्म ३३५ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले कार्तिक १६ गते जानकारी दिनु भएको हो ।
देशभरका २० जिल्लामा आरोपी ३३५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार काठमाडौँ उपत्यका, धनुषा, पर्सा, बारा, चितवन, धादिङ, काभ्रे, पर्वत, म्याग्दी, कास्की र बाँकेमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले ६ वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, ‘देशभर १२९ वटा जाहेरी दर्ता गरेर ६ वटा मुद्दामा अनुसन्धान भइरहेको छ ।’
आगजनी, लुट र हत्यामा संलग्नहरूलाई प्रहरीले आपराधिक उपद्रव, कर्तव्य ज्यान, अभद्र व्यवहार, चोरी, हातहतियार र कारागार ऐन– २०७९ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । कारागारबाट कैदी भगाउनेलाई कारागार ऐन अनुसार कानुनी कारबाही हुने व्यवस्था छ ।
काठमाडौँ जिल्लामा प्रहरीले १३० जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएका मध्ये ७० जनालाई हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताउनु भयो । उहाँका अनुसार ५४ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ ।
काठमाडौँ महानगरपालिका– ६ गते तेन्जिङ दावा लामाले नागरिकताको सिफारिस लिएको भेटिएको छैन । तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ मा भएको प्रदर्शनमा काठमाडौँको बिजुलीबजार स्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुटेजमा देखिन्छ । उनीहरू सबैको ज्याकेटमा टीओबी लेखिएको थियो । टीओबीको अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ हुन्छ ।
बौद्ध बस्दै आएका उनले महानगरपालिका– ६ बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गरेको विवरण सार्वजनिक भएको छ । तर, त्यसदिन शनिबार भएको हुनाले कसरी जन्मदर्ता भयो भन्नेबारे प्रश्न उठेको छ । तेन्जिङले टीओबी बाइकर्स समूह भएको र आफूहरू तिब्बतियन मूलको नेपाली भएको बताएका छन् । प्रहरीको बयानमा उनले भनेका छन्, ‘म आधा तिब्बतियन हुँ ।’
जेन जेड प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर उच्छृङ्खल गतिविधि गर्ने तेन्जिङ दावा लामा असोज २६ गते पक्राउ परेका हुन् । दावाको समूहले बुलेट मोटरसाइकल पड्काउँदै बिजुलीबजारबाट भिडलाई उत्तेजित बनाउने काम गरेएका थिए । लामाले जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको विवरण फेला नपरेपछि प्रहरीले उनीमाथि नागरिकताबारे पनि अनुसन्धान गरिरहेको छ ।
जेन जेड आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्ज र कोटेश्वरमा ३ जना प्रहरीले ज्यान गुमाए । महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । कोटेश्वरमा प्रहरीको हत्या गर्ने एकजना पक्राउ परेका छन् ।
महाराजगञ्जमा प्रहरीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ , सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ, रामेछाप घर भएका १६ वर्षीय दीपक मगर काठमाडौँ प्रहरीको हिरासतमा छन् ।
काठमाडौँ जिल्ला अदालतको आदेशले महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।
कोटेश्वरमा प्रहरीलाई हत्या गरेको आरोपमा कैलाली घर भएका १९ वर्षीय अनुपम भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
भदौ २३ गते भएको जेन जेड प्रदर्शनमा प्रहरीको गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएपछि भोलिपल्ट उच्छृङ्खल गतिविधि गर्नेहरूले आगजनी र तोडफोड गरे । उपत्यका र उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक र निजी भवनमा आगजनी तथा तोडफोड गरिएको थियो ।
बुढानीलकण्ठ स्थित शेर बहादुर देउवाको घरबाट बुद्धको मूर्ति र शङ्ख चोरेको आरोपमा विजय लामा पक्राउ परेका छन् । २९ वर्षीय लामा चितवनको कालिका नगरपालिका– ६ टाँडीका स्थानीय हुन् । भदौ २४ मा देउवा दम्पतीमाथि आक्रमण हुँदा त्यहाँ पुगेका लामाले मूर्ति र शङ्ख चोरेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँको पेप्सीकोलाबाट पक्राउ परेका लामाको डेराबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति र शङ्ख बरामद गरेको जनाएको छ ।
सो क्रममा पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले ६ वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । देशभर १२९ वटा जाहेरी दर्ता गरेर ६ वटा मुद्दामा अनुसन्धान भइरहेको डीआईजी घिमिरेले जानकारी दिनु भयो ।
काठमाडौँ जिल्लाबाट मात्रै प्रहरीबाट लुटिएको २३ थान हतियार बरामद गर्न प्रहरी सफल भएको छ । तीमध्ये २३ जना पक्राउ परेका छन् । काठमाडौँबाट ७४ जना फरार कैदीलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाउने काम भएको एसएसपी थापाको भनाइ छ ।

प्रकाशित मिति २०८२ कार्तिक १६, आईतवार २०:०० गते
हजुरको प्रतिक्रिया