बेसीशहर– लमजुङ जिल्लामा मुलुककै एकमात्र भानु– घाँसी संवाद पार्कमा निर्माण गरिएका आदिकवि भानुभक्त र घाँसीको शालिक तोडफोड गर्ने एक व्यक्तिलाई जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवाना तोकेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्ले स्थित रिस्ती नदी दोभानमा बनाइएको ‘भानु– घाँसी संवाद पार्क’ र त्यसमा निर्माण गरिएका आदिकवि भानुभक्त र उनका प्रेरणा स्रोत मानिएका घाँसीको शालिक तोडफोड कार्य गर्ने व्यक्तिलाई लमजुङ जिल्ला अदालतले त्यस्तो सजाय सुनाएको हो ।
जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रतिवादी उपरकोटीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने आदेश दिएको हो । रिस्ती नदी दोभानको बुद्धि रह(पौडी पोखरी)सँगै भानु– घाँसीको मुर्तिसहित सो पार्कको निर्माण कार्य २०८० सालको बैशाखमा सम्पन्न भएको थियो । सो पार्कमा निर्माण गरी शालिक राखिएका घाँसी अर्थात खड्कबहादुर ठाडा मगरको शालिकको घाँटी छिनालिएको थियो ।
त्यस्तै आदिकवि भानुभक्तको हात भाँचिएको थियो । ती शालिक तोडफोड कार्य रातको सयममा नसाको सुरमा गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको थियो । सो कार्य गर्ने प्रमुखकर्ताका रुपमा सोही नगरपालिका– ४ दुई पिप्ले गाउँ बस्ने तत्काल २८ वर्षीय पृथ्वी उपरकोटीलाई पक्राउ परेका थिए । प्रहरीले उनी विरुद्ध ‘अपराधिक उपद्रव’ मुद्दा चलाएको थियो । घट्नाको अनुसन्धानका क्रममा उपरकोटीले सो अपराध स्विकार गरेको प्रहरीले त्यसै समयमा जनाएको थियो ।
सरकार वादी रहेको सो मुद्दामा कसुर ठहरेमा ५ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेकोमा दुवै सजायसहित हदैसम्म कारवाहीको माग गरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रतिवादी उपरकोटीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने आदेश दिएको सो अदालतका स्रेस्तेदार रामबाबु गौतमले बताउनु भयो । उहाँका अनुसार उपरकोटीले जरिवाना रकम तिरेर र कैदमा बसेर पुनरावेदन गर्न सक्छन् । उहाँले भन्नुभयो, ‘मुद्दाको प्रारम्भिक सुनुवाई हुँदा उपरकोटी एक लाख रुपैयाँ धरौटी राखेर रिहा भएको थिए ।’
सो फैसलामा चित्त नबुझेमा र पुनरावेदन गर्न चाहेमा जरिवानाको १० प्रतिशत रकम तिरेर ७० दिनभित्र उच्च अदालत पोखरामा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको एक कानुन व्यवसायीले जानकारी दिए ।
त्यो चौताराको निर्माण कार्य स्थानीय पं. शिवदत्त वाग्लेले गरेको उनका पलाती एवम् स्थानीय समाजसेवी महेन्द्रराज वाग्लेले बताउनु भयो । उहाँका अनुसार सोही स्थानमा रहेको चौतारामा पहिलो पटक भानुभक्त र घाँसी भेट भई चिनजान गरी बातचित भएको ऐतिहासिक घट्नाको स्मरण र नयाँ पिढीमा सचेतना जागृत गर्न र साहित्यकारहरूमा उत्प्रेरणा जागृतका लागि उक्त संवाद पार्कको पुनः निर्माण गरिएको हो । उहाँले भन्नुभयो, ‘त्यो चौतारा पुनःनिर्माण तथा शालिक निर्माण कार्य नेपाल महिला उत्थान संघ सामुदायिक सिकाई केन्द्र, दुईपिप्लेको अध्यक्ष समेत रहेका केशवराज वाग्ले(हाल अमेरिका)ले गरेका हुन् ।’
विसं २०८० सालको बैशाखमा पुनः निर्माण कार्य सम्पन्न गरिएको चौतारा र त्यस क्षेत्रको संरक्षणका लागि पार्कसमेत निर्माण गरिएको हो । करिब १५ लाख खर्चेर निर्माण गरिएको पार्क सहितको चौतारामा ती दुई शालिक(भानु र घाँसी) निर्माण गर्दा छ लाख रुपैयाँ खर्च भएको वाग्लेको भनाइ छ ।
करिब १० रोपनी क्षेत्रफलमा रहेको सो पार्कमा पुनः निर्माण गरिएको चौतारोको संरक्षणका लागि तार जाली लगाउने, ५० जना बस्न मिल्ने गरी ढलान गर्ने वरपर फलफूलका विरुवा रोप्ने जस्ता कार्य गरिएको महेन्द्र वाग्लेले जानकारी दिनु भयो । उहाँका अनुसार सो कार्यका लागि गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ र नगरपालिकाबाट पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
उक्त सम्वाद पार्कमा निर्माण गरिएका शालिक तोडफोड गरेपछि त्यस घट्नालाई राजनीति रङ्ग दिइयो । फलस्वरुप ती शालिकको पुनः निर्माण कार्य मध्यनेपाल नगरपालिका वडानं १ बाट एक लाख रुपैयाँ खर्च बेहोर गरी वडानं– ४ मा रहेका ती शालिकको पुनःनिर्माण कार्य गरिएको थियो । त्यसरी यौटा वडाको बजेट अर्को वडामा लगेर गरिएको सो खर्च केसरी अनुमोदन गरिएको हो ? नगरपालिकाले जवाफ दिन सकेको छैन । मध्यनेपाल नगरपालिकाका हालका प्रमुख कार्यकारी अधिकृतले त्यो कार्य आफ्नो पालामा नभएको, त्यो कार्य सम्पन्न भएपछि मात्र आफू आएको भन्दै उम्कदै आएका छन् ।
मध्यनेपाल नगरपालिका– १ को वडाध्यक्ष पदमा एमालेकातर्फका उम्मेदवारले जितेको हुन् ।
प्रकाशित मिति २०८२ कार्तिक १७, सोमबार २२:४३ गते