ठाडोभाकाको दूधपोखरीमा हुने तीन दिने निःशुल्क प्रशिक्षणको तयारी पुरा

ठाडोभाकाको दूधपोखरीमा हुने तीन दिने निःशुल्क प्रशिक्षणको तयारी पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १९ गते बुधबार ०८:५४

उक्त प्रशिक्षणमा उत्कृष्ठ हुने विद्यालयलाई भलिबल एक जोर र एक थान नेट पुरस्कार प्रदान गरिने छ । त्यसको प्रायोजन प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारीले गर्नु भएको छ । त्यस्तै, सहभागीहरूमध्येबाट उत्कृष्ठ हुने पाँचजनालाई वरिष्ठ लोकगायिका ‘सिर्जना विरही थापा प्रतीभा पुरस्कार’ प्रदान गरिने भएको छ । सिर्जना विरही थापा स्याङ्जाकी चेली हुनुका साथै हाल अमेरिकामा हुनुहुन्छ ।

उक्त प्रशिक्षणको अन्तिम दिनको तथा समापन कार्यक्रमको युटुभ समेत निर्माण गर्ने लक्ष्यका साथ प्रशिक्षणको तयारी गरिएको छ ।

लमजुङ– लमजुङको दूधपोखरी गाउँपालिका– ४, सग्रवास गाउँमा हिमाली आमा समूहको व्यवस्थापनमा सञ्चालन हुने ठाडोभाकाको निःशुल्क तीनदिने प्रशिक्षणको तयारी पुरा भएको छ । सो प्रशिक्षण भोलि अर्थात कार्तिक २० गतेबाट सुरु भई २२ गते समापन हुने कार्यक्रम रहेकोछ ।
मौलिक लोककला संस्कृतिको संरक्षण र प्रवद्र्धन गेर्न उद्देश्यले स्थापित ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ आफ्नो गन्तव्यतर्फ अघि बढी रहेको छ । सो क्रममा ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षण सञ्चालन गर्ने भएको हो । प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङको संयोजकत्वमा तथा सोही स्थानमा रहेको लालीगुराँस आमा समूहको व्यवस्थापनमा सो प्रशिक्षण हुने भएको प्रतिष्ठानले जनाएको छ ।
‘लोक संस्कृतिको उत्थान– हाम्रो अभियान’ मूल नाराका साथ क्रियाशील रहेको प्रतिष्ठानले सञ्चालन गर्दै आएका ठाडोभाका प्रशिक्षणको यो ९औं शृंखला हो । पालिकास्तरीय यस पटकको प्रशिक्षणमा मावि र आधारभूत विद्यालयबाट चार जना विद्यार्थी सहभागी गराउन पालिकाको शिक्षा शाखामार्फत सम्बन्धित विद्यालयलाई अनुरोध गरिएको छ ।
उत्कृष्ठ हुने विद्यालयलाई भलिबल पुरस्कार :
तोकिएको संख्यामा छात्रछात्रा पठाएर उत्कृष्ठ हुने विद्यालयलाई भलिबलको एक जोर र नेट समेत पुरस्कार स्वरुप प्रदान गरिने भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले सो पुरस्कारको प्रायोजन सौजन्य गर्नु हुने भएको हो । सल्लाहकार अधिकारी आफै विद्यार्थीकालको भलिवल खेलाको राम्रो सटर खेलाडी हुनुहुन्थ्यो । त्यसैले आफ्नो लगाव भएको खेललाई प्रोत्साहन गर्नका लागि सो पुरस्कार राखेको उहाँले बताउनु भएको छ ।
उत्कृष्ठलाई वरिष्ठ लोकगायिका ‘सिर्जना विरही थापा प्रतीभा पुरस्कार’ :
अध्यक्ष पहाडीले भन्नुभयो, ‘त्यस बाहेक सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः दुई हजार, १५ सय र एक हजार र ५÷५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।’ सो पुरस्कार वरिष्ठ लोकगायिका ‘सिर्जना विरही थापा प्रतीभा पुरस्कार’को अक्षयकोषको व्याज रकमबाट उपलब्ध हुने पहाडीले जानकारी दिनु भएको छ । वरिष्ठ लोकगायिका सिर्जना विरही थापा हाल अमेरिकामा हुनुहुन्छ । उहाँको जन्म थलो स्याङजा हो । स्याङजाकी चेलीले लमजुङको ठाडोभाकाको प्रवद्र्धनका लागि गर्नु भएको सहयोगको प्रतिष्ठानले उच्च मूल्यांकन गरिरहेको छ पहाडीले भन्नुभयो । उहाँका अनुसार वरिष्ठ लोकगायिका सिर्जना विरही थापाले सो पुरस्कारको स्थायित्वका लागि डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको छ ।
प्रशिक्षणमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ तथा प्रतिष्ठानका उपाध्यक्ष एवम् ठाडोभाकाका बहुचर्चित गायिका सीता दुराले गायन र नृत्यतर्फ प्रशिक्षण दिनु हुने कार्यक्रम छ । यसैगरी, सो कार्यमा सहमहामन्त्री आशबहादुर विक, कार्यकारी सदस्य एवम् अग्रज गायक अमरध्वज गुरुङ, कार्यकारी सदस्य देवराज गुरुङ, मीना गुरुङले समेत सहायक प्रशिक्षकको भूमिका निभाउनु हुनेछ ।
सो प्रशिक्षणमा ४५ देखि ६० जनाले भाग लिने अनुमान गरिएको प्रशिक्षणका संयोजक प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टी तामाङले बताउनु भएको छ । उहाँका अनुसार सो कार्यक्रमका लागि सोही गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ प्रमुख अतिथि हुने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, ‘उक्त प्रशिक्षणको अन्तिम दिनको कार्यक्रम तथा समापनको युटुभ समेत निर्माण गर्ने लक्ष्यका साथ प्रशिक्षणको तयारी गरिएको छ ।’

प्रकाशित मिति २०८२ कार्तिक १९, बुधबार ०८:५४ गते
हजुरको प्रतिक्रिया