फागुन २१ गते घोषित निर्वाचनको वातावरणलाई सहज बनाउने पहिलो दायित्व : प्रजिअ डा. पाण्डे

फागुन २१ गते घोषित निर्वाचनको वातावरणलाई सहज बनाउने पहिलो दायित्व : प्रजिअ डा. पाण्डे

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २६ गते बुधबार ११:२३

जिल्लामा महिला पत्रकारहरूको अर्थपूर्ण उपस्थितिले आफूलाई खुशी बनाएको उल्लेख गर्दै प्रशासन लगायत कार्यालयबाट हुने सेवा प्रवाह होस् या विकास निर्माण, शान्ति सुरक्षा तथा सुशासन कायम गर्ने सम्बन्धमा कमी कमजोरी देखिएमा कमजोरी औंल्याउँदै राम्रा कामलाई सिर्जनात्मक र रचनात्मक सुझाव दिन उहाँले आग्रह गर्नुभएको थियो ।

लमजुङ प्राकृतिक, सांस्कृतिक विविधताले युक्त पर्यटकीय जिल्ला रहेको र यहाँका बारेमा भोलिका दिनमा आफ्नो कितावमा पनि कतै न कतै समेट्ने प्रतिवद्धता समेत प्रजिअ डा. पाण्डेले व्यक्त गर्नु भएको छ ।

बेसीशहर– लमजुङमा पदस्थापन भई आउनु भएका प्रमुख जिल्ला अधिकारी सहसचिव डा. टोकराज पाण्डेले जिल्लामा आउँदो फागुन २१ गते हुने निर्वाचनको वातावरणलाई सहज बनाउने आफ्नो पहिलो दायित्व भएको बताउनु भएको छ । आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट कार्यक्रम गरी प्रजिअ पाण्डेले जिल्लाका पत्रकारहरूसँग यस्तो आग्रह कार्तिक २५ गते गर्नुभएको हो ।
प्रशासन लगायतका जिम्मेवार निकायलाई धेरै माया गर्न, पुल्पुल्याउन जरुरी छैन, आलोचनात्मक टिकाटिप्पणी गर्नु होला । किनकि, समाचार भनेको नकारात्मकताबाट सिर्जित हुन्छ लेखक समेत रहनु भएका उहाँले भन्नुभयो । उहाँले आफ्नो कार्यालय लगायत जिल्लाभरका सेवाप्रदायक कार्यालयका हरेक गतिविधिमा भए गरेका कमी कमजोरीलाई औंल्याउन र गलत प्रवृत्तिप्रति निर्धक्क खबरदारी गर्न आग्रह गर्नुभएको थियो ।
जिल्लामा मिडियामैत्री वातावरण बनाउन जरुरी रहेको बताउँदै जिल्लास्थित सर्वाजनिक निकायले दिने सूचना जिल्लाकै मिडियालाई उपलब्ध गराउनमा आवश्यक सहजीकरण गर्ने उहाँले बताउनु भयो । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा र पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउनु आफ्नो जिम्मेवारी र कर्तवय भएको उल्लेख गर्दै जेन जेड आन्दोलनपछि खस्केको मनोबलालाई उकास्न जरुरी छ आफू त्यसमा लागेको जानकारी दिनु भयो । उहाँले तत्कालको मुख्य काम आउँदो फागुन २१ गतेका लागि घोषित निर्वाचन सम्पन्न गर्नु हो, त्यसका लागि उचित वातावरण बनाउनका लागि आफू लागि पर्ने र पत्रकारजगत सहित सबैको क्षेत्रको सहयोगको अपेक्षा आफूले गरेको बताउनु भयो ।
जिल्लामा महिला पत्रकारहरूको अर्थपूर्ण उपस्थितिले आफूलाई खुशी बनाएको उल्लेख गर्दै प्रशासन लगायत कार्यालयबाट हुने सेवा प्रवाह होस् या विकास निर्माण, शान्ति सुरक्षा तथा सुशासन कायम गर्ने सम्बन्धमा कमी कमजोरी देखिएमा कमजोरी औंल्याउँदै राम्रा कामलाई सिर्जनात्मक र रचनात्मक सुझाव दिन उहाँले आग्रह गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले मानिस सधैं सिर्जनात्मक हुन्छ हामी देखिने गरी परिणाममुखी काम गर्ने छौं उहाँले भन्नुभयो । उहाँले जिल्लामा विकास निर्माणमा समन्वयतात्मक भूमिका खेल्ने, ट्राफिक व्यवस्थापन, बजारलाई व्यवस्थित बनाउने, आइपर्ने समस्या समाधानका लागि सबैको साथ र सहयोगको अपेक्षासहित आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
जिल्लाका विद्युत आयोजना, मध्यपहाडी लोकमार्गको सुन्दरबजार बजार क्षेत्रको समस्याका बारेमा समेत चासो राख्नु भएको थियो । उहाँले लमजुङ प्राकृतिक, सांस्कृतिक विविधताले युक्त पर्यटकीय जिल्ला रहेको र यहाँका बारेमा भोलिका दिनमा आफ्नो कितावमा पनि कतैन कतै समेट्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लामा पत्रकारितामैत्री वातावरण नभएको, ट्राफिक अस्तव्यस्ता तथा भाडामा मनपरी असुल्लेन प्रवृत्ती, जिल्ला सदरमुकाममा बसपार्कको अभाव, बजार अनुगमन सुस्ताएको, सुशासनका टुल्सहरूमा धाबा बोलिने गरेको लगायतका विषयमा सुधारको आवश्यकता रहेको भन्दै सुझाव दिएका थिए ।
रुपन्देही जिल्लाबाट समान पदमा लमजुङ सरुवा भई आउनुभएका पाण्डेसँग निजामति क्षेत्रमा काम गरेको २५ वर्ष लामो अनुभव रहेको छ । उहाँले गृह, रक्षा, अर्थ, सामन्य प्रशासन, पर्यटन मन्त्रालयमा रहेर काम गर्नु भएको छ । प्रजिअ पाण्डेका निजामती क्षेत्रमा लोकसेवा तयारीका लागि खरिदारदेखि सहसचिवसम्मका लागि पुस्तकसमेत प्रकाशित भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकार थम्मनसिंह गौतमले पत्रकारहरूलाई स्वागत गर्दै पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । सो अवसरमा प्रशासकीय अधिकृत नवराज शर्मा तथा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा पत्रकारहरूको सहभागिता थियो । पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेलले संस्थागत रुपमा प्रजिअ डा. पाण्डेलाई स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक २६, बुधबार ११:२३ गते
हजुरको प्रतिक्रिया