
मुम्बई(भारत)– भारतीय चलचित्र, बलिउडका शिखर पुरुष, दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । बलिउड अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएको २४ घण्टा नवित्दै कार्तिक २६ गते निधन भएको हो । उनी ८९ वर्षका थिए ।
अघिल्लो दिन धर्मेन्द्रको निधन भएको अफवाह समेत फैलाइएको थियो । त्यसको परिवारजन खासगरी धर्मेन्द्रकी छोरी ईशा देओलले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा अभिनेताको मृत्युको खबरलाई स्पष्ट रूपमा अस्वीकार गर्दै ‘अवस्था स्थिर छ’ भन्ने उल्लेख गरकी थिइन् । उनले रुष्ट र आक्रोशपूर्ण रुपमा खण्डन गरेकी थिइन् ।
रक्षामन्त्री सिंहलेसमेत धर्मेन्द्रको मृत्यु भएको भन्दै समवेदना व्यक्त गरेको पोस्ट हटाएका थिए ।
‘धर्मेन्द्र जीलाई बिहान करिब ७ः३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको थियो । परिवारले उहाँलाई घरमै उपचार गराउने निर्णय गरेकोले उहाँको उपचार घरमै हुनेछ,’ डा. प्रतीत समदानीले पीटीआईलाई बताएको समाचारमा उल्लेख थियो ।
तर बलिउडका शिखर पुरुष, दिग्गज अभिनेता धर्मेन्द्र यो दुनियाँमा रहेनन् । उनको निधनको खबरले सम्पूर्ण बलिउड जगत र उनका लाखौं प्रशंसकहरू स्तब्ध भएका छन् ।
उनले एक सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । धर्मेन्द्रले ‘शोले’, ‘सीता और गीता’, ‘जुगनु’, ‘फूल और पत्थर’, ‘यादों की बारात’, ‘धर्म वीर’ लगायतका अनेक हिट चलचित्रमा अभिनय गर्दै बलिउडमा अमिट पहिचान बनाएका थिए ।
२०२३ मा उनी करन जोहर निर्देशित ‘रक्की और रानी की प्रेम कहानी’मा देखिएका थिए । अब उनले ‘इक्कीस’ नामक फिल्ममा अभिनय गर्नेछन् ।
छ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा बलिउडमा ‘ही–म्यान’ को उपाधि पाएका थिए । धर्मेन्द्रले लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोडेका छन् । उनको अन्तिम पटकको पर्दामा उपस्थिति डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा रहनेछ ।
उनले बलिउडलाई ‘शोले’, ‘धर्म वीर’, ‘यादों की बारात’, ‘चुपके चुपके’ जस्ता अनगिन्ती अविस्मरणीय चलचित्रहरू दिएका छन् र लाखौं दर्शकहरूको मनमा राज गरेका थिए । उनको अन्तिम पर्दामा उपस्थिति डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा रहनेछ ।
उनको परिवारमा पत्नी हेमा मालिनी र ६ सन्तानहरू रहेका छन् । उनका सन्तानहरूमा अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओलका साथै अजिता र विजेता छन् । भारतीय सिनेमाले एक महान् तारा गुमाएको छ, जसको विरासत सधैं अमर रहनेछ ।
प्रकाशित मिति २०८२ कार्तिक २७, बिहीबार ०८:३५ गते