बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर र यो शहरको किनार भएर बहने मस्र्याङदी नदी बचान यहाँका युवाहरूले जागरण अभियान थालेका छन् । लमजुङ उद्योग वाणिज्य संघको सभाहलमा भेला भएका युवा तथा सामाजिक अभियन्ताहरूले ‘मस्र्याङदी नदी र बेसीशहर बचाउन अभियान’ नामक संस्था समेत घोषणा गरेर समिति समेत चयन गरेर आन्दोलनको घोषणा कार्तिक २७ गते गरेका हुन् ।
यतिबेला बेसीशहर नगरपालिका– ६ को बेलाउती बिसौना स्थित मस्र्याङदी नदी किनारमा दिव्यज्योती हाइड्रो पावर कम्पनीले मस्र्याङदी नदीमा अर्को विद्युत आयोजनाको बाध निर्माण कार्य थालेकोे छ । सो कारणले जिल्ला सदरमुकाम बेसीशहरको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने भएको भन्दै सामाजिक अभियन्ताहरू जागेर संघर्षमा उत्रिएका हुन् । आज भएको भेलाले स्थानीय क्षेत्रमा हक्की एवम् निडर व्यक्तित्वका रुपमा चिनिनु हुने राम थापाको संयोजकत्वमा ‘मस्र्याङदी नदी र बेसीशहर बचाउन अभियान’को समिति गठन गरेको छ । सो समिति तत्कालका लागि ११ सदस्यीय रहेको र भोलिका दिनमा समिति थप गरेर २१ सदस्यीय बनाउने सहमति भएको संयोजक थापाले जानकारी दिनु भएको छ । आजको भेलामा करिब एक सय ४० जनाको सहभागिता रहेको हाइड्रो अभियानकर्मी चन्द्र मिश्रले जानकारी दिनुभयो ।
सो समितिले आन्दोलनको पहिलो चरण स्वरुप बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।
सो ज्ञापन पत्रमा बेसीशहर नगरपालिका– १, २, ३, ६, ७, ८, १० र ११ नंबर वडाबासीहरू प्रत्यक्ष प्रभावित हुँदैछन् । तर आयोजनाको निर्माण कार्य थालनी गर्दा स्थानीयबासीलाई जानकारी नदिई मनोमानी ढंगबाट निर्माण कार्य थालिएकोप्रति घोर आपत्ती व्यक्त गरिएको छ । सीमित व्यक्तिहरूको स्वार्थ पूर्तिका लागि मस्र्याङदी नदीको दोहन सहन गर्न नसकिने हुँदा यस क्षेत्रको पर्यावरण, प्रकृति, संस्कृति, संस्कारको सुरक्षा र संरक्षणका लागि सहयोग गरी निर्माण थालिएको आयोजनाको काम रोकी दिन आग्रह गर्दछौं भन्ने ज्ञापन पत्रमा उल्लेख छ ।
दिव्यज्योती हाइड्रो पावर कम्पनीले बेलौती विसौनीमा बाँध निर्माण गरिरहेको विद्युत आयोजनाको क्षमता ५० मेघावाट रहेको छ । त्यस आयोजनको सुरुङ बेसीशहर नगरपालिका– १० को साविक बाँझाखेत गाउँ क्षेत्रबाट लगिदै छ । जसबाट सो वडाको पूर्ण भाग आयोजनाबाट प्रभावित हुँदैछ ।
बाँझाखेत गाउँ क्षेत्र त्यस्तो ठाउँ हो जहाँ केही वर्ष अघिसम्म लगातार पहिरो चलेर बस्ती नै बसाई सर्नु पर्ने स्थिति उत्पन्न भएको थियो । त्यो स्थानमा पहिरो चल्न रोकिएको तीन वर्ष जति मात्र भएको छ । त्यस ठाउँबाट भित्री विष्फोट गरी सुरुङ निर्माण गर्दा पुनः पहिरो चलेर सिंगो बस्तीको नै उठीबास हुने हो कि भन्ने आशंका बढेको बाँझाखेत बासीहरूले बताएका छन् । उनीहरू भन्छन् त्यसैले पनि यो योजना बन्द गरिनु पर्दछ ।
जनप्रतिनिधि बनेकोहरूको सुटुक्क कोठाकोठामा धाएर उनीहरू र उनीहरूका मान्छेको दस्तखत गराएर कथित प्रक्रिया पुरा गरिएको सार्वजनिक सुनुवाई हामीलाई मान्य हुनेछैन भेलाका सहभागीहरूले एक स्वरभा भनेका छन् । उनीहरू भन्छन् ‘यो योजना बन्द हुनुपर्ने एकसुत्रीय माग र अडानमा आफूहरू रहेको र माग पुरा गर्नका लागि जुनसुकै मूल्य चुकाउन तयार छौं ।’
सो आयोजना निर्माण हुँदैछ र बेसीशहर क्षेत्र सुख्खा हुन्छ भन्ने हल्ला चले लगत्तै तीन वर्ष अघि पनि राम थापाकै नेतृत्वमा सो आयोजना रोक्न आन्दोलन गरिएको थियो । उहाँले भन्नुभयो, ‘यो आयोजना रद्द भयो भन्ने सुनेपछि हामी मौन रहेका थियौं, तर यो आयोजनाका निर्माताहरू त मौका ढुकेर बसेका रहेछन्, यो हाम्रा लागि सैह्य छैन ।’
सो भेलामा डा. बालकृष्ण बराल, मस्र्याङदी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रहेका स्थानीय जनक बस्नेत, १३३ केभी प्रशारण लाइनको पीडितका पक्षमा अभियानको नेतृत्वकर्ता खेमजङ गुरुङ, बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रधान लगायतका व्यक्तिहरू समेत सहभागी भएर बेसीशहरको शोभाका लागि उक्त विद्युत आयोजना बन्द हुनै पर्छ भन्ने धारणा राखेका थिए ।
मस्र्याङदी नदीमा मस्र्याङदी गाउँपालिका– ८ को खुदीमा माथिल्लो मस्र्याङदी ए को पावर हाउस निर्माण गरिएको छ । त्यो स्थान र बेसीशहर नगरपालिका– ६ को बेलाउती विसौनाको दुरी करिब तीन किमि रहेको छ ।
त्यस्तै, दिव्यज्योती हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको विद्युत आयोजनाको पावर हाउस बेसीशहर नगरपालिका– १० को सालडाँडा र वडानं २ को धुपीचौंरमा निर्माण हुँदैछ । त्यो स्थानबाट मर्स्याङदी जलविद्युत आयोजनाको बाँध निर्माण गरिएको वडानं १ को फलिया साँघु क्षत्रेको दुरी पनि करिब ३ किमि मात्र छ । यसरी मर्स्याङदी नदी अब सुरुङमा मात्र हिड्ने स्थिति उत्पन्न भएको छ । करिब दुई दशक अघि निर्माण सम्पन्न भएको मध्यमर्स्याङदी जलविद्युत आयोजनामा त १० प्रतिशत पानी छाड्ने सिस्टम नै निर्माण नगरिएको त्यहाँका कर्मचारीले बताउँदै आएका छन् ।
लमजुङमा आधा दर्जन बढी विद्युत आयोजना सञ्चालनमा आइसकेका छन् भने आधा दर्जन बढी विद्युत आयोजनाहरू निर्माणाधिन र पाइप लाइनमा छन् । निर्माण सम्पन्न भएका कुनै पनि विद्युत आयोजनाले हिउँदको याममा नदीको १० प्रतिशत पानी छाड्नु पर्ने नीतिको आजका दिनसम्म पालन गरेको पाइएको छैन । त्यस कारण पनि जिल्लाबासी बढी रुष्ट हुँदै आएका छन् ।
दिव्यज्योती हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको विद्युत आयोजना बन्यो भने बेसीशहर बजारको मुख्य भागबाट मस्र्याङदी नदी सुरुङ भित्र बग्ने छ । जसका कारण बजार र आसपासको क्षेत्र उजाड हुनेछ भन्ने भयले पनि त्यसको बचाउका लागि स्थानीयवासी जुर्मुराएको अयिभानका संयोजक राम थापाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रा मागको सुनुवाई नभएमा चरणबद्ध आन्दोलन गरेर आयोजना बन्द गररै छाड्छौं ।’
यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी आज प्रशासनमा ज्ञापन पत्र आएको थियो रे नि ? भन्ने जिज्ञासा राख्दा, प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले हाँस्दै ‘गाली खानु पर्ने हो कि !’ भन्दै भन्नुभयो, ‘ज्ञापन पत्र ल्याएकोमा धन्यवाद छ, खोलानाला बचाउने भन्दा राष्ट्र बचाउने कुरा ठूलो हो भनेको थिए ।’
प्रकाशित मिति २०८२ कार्तिक २७, बिहीबार २०:०० गते