सुनौलो भविष्य सहकारी ठगी मुद्दा : मुलुकमै नयाँ रेकर्ड राख्दै

सुनौलो भविष्य सहकारी ठगी मुद्दा : मुलुकमै नयाँ रेकर्ड राख्दै

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २७ गते बिहिबार ०९:१७

सुनौलो भविष्य सहकारीमा एलेसम्म पीडितहरू ५२ जनाले दुई करोड रुपैयाँ भन्दा बढीको विगो दावी गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार उक्त सहकारीमा छ करोड ७३ लाख रुपैया हिनामिना (ठगी) भएको भन्ने प्रतिवदेनका आधारमा अनुसन्धान चलिरहेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा रहेका सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म नतिरी साँढे पल्टने गरेका ऋणीहरूका बीचमा भने खैलाबैला सुरु भएको छ ।

बेसीशहर– लमजुङको यहाँ स्थित सुनौलो भविष्य सहकारी ठगी मुद्दाले मुलुकमै नयाँ रेकर्ड कायम गर्ने भएको छ । सो मुद्दामा आज कार्तिक २७ गते थप १७७ जनालाई पक्राउ पूर्जी जारी गरिएसँगै सो मुद्दामा प्रतिवादीको संख्या २२७ जना पुगेको छ । यसबाट सर्वाधिक प्रतिवादी भएको सहकारी संस्थाको ठगी मुद्दा मुलुकभरमै यो पहिलो हुने भएर नयाँ रेकर्ड राख्ने भएको हो ।
सुनौलो भविष्य सहकारीको रकम अपचलन अर्थात ठगी धन्दा(मुद्दा)का आरोपिहरू ५० जनाका विरुद्धमा यसअघि पक्राउ पूर्जी जारी भएको थियो । आज १७७ जना ऋणीहरू विरुद्ध पक्राउ पूर्जी जारी भएको स्रोतको भनाइ छ । तर त्यसको पुष्टि जिल्ला प्रहरी कार्यालयबाट भएता पनि जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख कृष्णचन्द्र पाण्डेबाट ‘मुद्दा अनुसन्धानमा रहेको विषय भएकोले भन्न मिल्दैन’ भन्दै बडप्पन देखाउने काम भयो भने त्यसको पुष्टि गर्न पनि इन्कार गरेको स्थिति छ ।
पाण्डेलाई सरकारवादी मुद्दा तपाईमार्फत जिल्ला अदालतमा पेश हुने हैन र ? भन्ने जिज्ञासामा त्यो त पुलिसको काम हो, मुद्दा चल्छ कि चल्दैन ? अहिले टुंगो छैन पाण्डेले भन्नुभयो । ‘त्यो मुद्दा आज अदालतमा पेश भएको हो ?’ भन्ने थप जिज्ञासमा उहाँले ‘थाहा भएन’ भन्नुभयो । ‘त्यो मुद्दा ९० दिन भित्र बुझाउनु पर्ने होइन र ?’ भन्ने अर्को जिज्ञासामा ‘त्यो निर्धाण तपाईले गर्ने हो ?’ भन्दै पाण्डेले प्रतिप्रश्न गर्नु भयो । ‘९० दिनभित्र बुझाउनु पर्छ भन्ने सुनेकोले भनेको’ भन्ने थप जिज्ञासामा मुद्दा आएको था’छैन पाण्डेले सुनाउनु भयो ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्क गर्दा निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले ‘म नयाँ भएँ, डिएसपी साहेव नहुनु भएको हुँदा ठ्याक्कै भन्न गाह्रो भयो, १७७ जनालाई पूजी काटेको त हो, थप मुद्दा फाँटमा बुझ्नु होला, म भनिदिन्छु’ उहाँले भन्नु भयो ।
मुद्दा फाँटमा सम्पर्क गर्दा त्यो मुद्दाका प्रतिवादीहरू कोही पनि थुनामा नरहेको हुँदा, यस्तो अवस्थामा मुद्दा बुझाउने म्याद एक वर्षसम्म हुन्छ भन्ने छ, भनियो । त्यो सहकारीका अधिकांश ऋणीहरू सहकारी ऐन संशोधन हुनु पूर्वका भएको हुद्दा मुद्दा चलाउन मिल्दैन भन्ने पनि सुनिन्छ नि ? भन्ने थप जिज्ञासामा यो मुद्दाको सुरुवात ऐन संशोधन भइसकेपछि भएको हुँदा वर्तमान ऐन अनुसार नै मुद्दा अघि बढाउन मिल्छ भन्ने कानुनी सल्लाह अनुसार मुद्दा तयार गरिएको हो भन्ने जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाबाट जानकारी दिइयो ।
आजसम्म के कति उजुरकर्ताले, के कति विगो दावी गरेका छन् ? भन्ने अर्को जिज्ञासामा ५२ जना जति उजुरकर्ता पुगेको स्थिति छ र विगो दावी दुई करोड भन्दा बढी रहेको छ भन्ने थप जानकारी दिइएको छ । सो कार्यालयका अनुसार उक्त सहकारीमा छ करोड ७३ लाख रुपैया हिनामिना (ठगी) भएको भन्ने प्रदेश सहकारी रजिष्टारको कार्यालयले दिएको प्रतिवदेनका आधारमा ठगी मुद्दाको अनुसन्धान चलिरहेको छ । सञ्चालकहरूका जिरुद्धमा सहकारी अपचलन(ठगी), संगठित अपराध र सम्पत्ती शुद्धिकरणको मुद्दा लगाइने भएको छ ।
सहकारीका ऋणीहरूमा खैलाबैला :
जिल्लाका विभिन्न क्षेत्रमा रहेका सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म नतिरी साँढे पल्टने गरेका ऋणीहरूका बीचमा भने खैलाबैला सुरु भएको छ ।
सुनौलो भविष्य सहकारीबाट ऋण लगेर लामो समयसम्म ऋण नतिरी अटेरी गर्ने १७७ जना ऋणीहरूका विरुद्धमा आज जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएसँगै अब जिल्लाका कुनै पनि सहकारीबाट ऋण लगेर लामो समयसम्म नतिरी अटेर गरी झुलाउँदै बस्नेहरूको सातो जाने स्थिति उत्पन्न भएको छ । कुनै पनि सहकारीका सदस्य वा गैर सदस्यले ऋण लिएर लामो समयसम्म त्यस्तो रकम नतिरी सहकारी संस्था नै डुब्ने स्थितिमा पुर्याउनेहरूका विरुद्धमा यदि ती सहकारीहरूले प्रहरीलाई त्यस्तो उजुरी गरेको खण्डमा जुनकुनै पनि समय त्यस्ता ऋणीहरू पक्राउ पर्न सक्ने स्थिति उत्पन्न भएको जानकारहरूले बताएका छन् ।
यस घट्नाले नियत सफा राखेर सहकारी संस्था हाक्ने जुन कुनै पनि सञ्चालकले चलाउने सहकारी संस्थाहरू अब नडुब्ने स्थितिको सुुनिश्चितता भएको आम बुझाइ छ ।

प्रकाशित मिति २०८२ कार्तिक २७, बिहीबार २१:१७ गते
हजुरको प्रतिक्रिया