बेसीशहर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङले भोलि कार्तिक २९ गते यहाँ जनप्रदर्शन तथा जनसभा गर्ने भएको जनाएको छ । एमालेको जिल्ला कार्यालयमा कार्तिक २८ गते विहान पत्रकार सम्मेलनको आयोजना गरी सो दलले त्यस्तो जानकारी दिएको हो ।
एमालेका जिल्ला अध्यक्ष राजकुमार बिष्टको अध्यक्षतामा सो दलको केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतमा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष जीतबहादुर गुरुङले स्वागत गर्नु भएको थियो भने जिल्ला सचिव राजेन्द्र बोहराले सञ्चालन गर्नु भएको थियो ।
उक्त अवसरमा सो प्रदशर्न मनाङ चौताराबाट सुरु हुने र सेरा चौतारमा गई जनसभामा परिणत हुने जानकारी पत्रकारहरूलाई दिइएको थियो । प्रस्तुत छ, सो अवसरमा वितरण गरिएको प्रेस विज्ञप्तिको पूर्ण विवरण :
आदरणीय जनसमुदायहरू, पत्रकार मित्रहरू
नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार देशव्यापी रुपमा आयोजना हुन लागिरहेको जनसभा कार्यक्रम अनुसार लमजुङ जिल्ला कमिटीले यही कार्तिक २९ गते बेसीशहरमा जनसभा आयोजना गर्दैछौं । विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मुख्य माग राखेर देश ब्यापीरुपमा आयोजना गरिएको जनसभामा संविधानको संरक्षण र कार्यान्वयनमा जोड दिई घाईते अवस्थमा रहेको संविधानलाई सही मार्गमा हिडाउन र गैहसंवैधानिक तवरवाट भएको प्रतिनिधिसभा विघटनको पुनःस्थापना गर्न दवाव सृजन गर्नेछ । गत भदौ २३ गते भ्रष्टचारको विरुद्ध, सुशान र बन्द भएको सामाजिक सञ्जाल फुकुवा माग राखेर आयोजना भएको प्रदर्शनलाई केही देशी विदेशी स्वार्थीतत्वहरूले अपहरण गरि ७६ जनाको मृत्यु हुने, संसदभवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरिका सरकारी कार्यालय, व्यापारिक र औद्योगिक प्रतिष्ठान, व्यक्तिहरूको निजीघर, पार्टीका कार्यालयहरूमा आगो लगाउने जस्ता अराजक र हिंसात्मक गतिविधि भई मुलुकमा ठूलो जनधनको क्षति भएको अवस्थामा हामी छौं ।
वास्तविक अवस्थालाई नजरअन्दाज गरी सवै परिस्थितिको दोष तत्कालीन प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी वली र उहाँ नेतृत्वको सरकार माथि लगाएर नयाँ परिस्थिति सृजना गर्न खोजिएको अवस्थाको घोर भत्र्सना र भण्डाफोर गर्दछौं । जेनजी आन्दोलनमा भएको हत्या, आगजनी, तोडफोड, लुटपाट लगायत हिंसात्मक घट्नाको निष्पक्षा छानविन गरी सत्य तथ्य बाहिर ल्याउन र दोषी माथि कानुन बमोजिम कारबाही गर्न माग गर्दछौं । हत्या, हिंसा, तोडफोड, लुटपाट र आगजानीमा संलग्न हुने, प्रहरीको हतियार र गोली लुट्ने जस्ता अपराधमा संलग्न सवैलाई खोजी गरी कारबाहीको दायरामा ल्याउन र लुटिएका हतियार र गोली फिर्ता ल्याउन माग गर्दछौं । फाल्गुण २१ मा चुनाव गर्ने गरि असंवैधानिक तवरबाट गठन भएको सुशीला कार्कीको सरकारले राज्यलाई दुरगामी असर पार्ने खालका गतिविधी र निर्णयहरु नगर्न सचेत गराउदै चेतावनी दिन चाहन्छौं । आगमी फाल्गुण २१ गते हुने भनिएको संसदीय निर्वाचन सरकारको काम गर्ने तौर तरिकाले हुन्छ भन्ने विश्वास गर्न सकिने अवस्था छैन । मुलुकमा शान्ति सुव्यवस्था कायम गरि दलहरूको सहमतिमा निर्वाचनको वातावरण बनाउन पर्दछ । नेकपा (एमाले) लोकतन्त्र र निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले स्वच्छ भयरहित वातावरणमा निर्वाचन होस् भन्ने चाहन्छ । यति हुँदाहुँदै पनि असंवैधानिक तरिकाले भएको संसद विघटनको पुनःस्थापना गर्ने कार्य नै अहिलेको राजनैतिक निकास हो । अतः विघटित संसदको पुनःस्थापनाको माग राखेर आयोजना गरिएको जनसभामा सम्पूर्ण लमजुङ बासी बा–आमा, दाजुभाइ तथा दिदीबैनीहरूलाई सहभागी भई सभालाई सफल पार्न र प्रतिनिधि सभा पुनःस्थापनामा दवाव सिर्जना गर्न हार्दिक आह्वान गर्दछौं । अन्त्यमा जेनजी प्रदर्शनमा उठाइएका भ्रष्टचारको अन्त्य, सुशान कायम गर्ने, नेतृत्वमा युवाहरूको सहभागिता, मुलुकको विकास निर्माण जस्ता विषयहरूमा समर्थन जनाउँदै उक्त प्रदर्शनमा साहादत प्राप्त गर्ने सम्पूर्ण मृतकहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै घाईतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क स्वास्थ्य उपचार गर्न माग गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित हार्दिक धन्यवाद !
(क. राजकुमार बिष्ट)
अध्यक्ष
प्रकाशित मिति २०८२ कार्तिक २८, शुक्रबार १५:४२ गते