बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङको विस्तारित बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । उक्त बैठकको उदघाटन गर्दै रास्वपा केन्द्रीय उर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले पार्टीले पहिलो महाधिवेशनपछि मात्र पूर्णाकार ग्रहण गर्छ भन्ने कार्तिक २९ गते बताउनु भएको छ ।
आफ्नो संक्षिप्त मन्तव्यमा उहाँले यो पार्टीको स्थापना, पार्टीका सभापति रवि लामिछानेले दशौं वर्ष पत्रकारितामा गरेको योगदानको उपलब्धि भएको बताउनु भयो । उहाँले आउँदो फागुन २१ गतेको निर्वाचन सम्पन्न भएपछि रास्वपा मूलधारको राजनीतिक शक्तिका रुपमा स्थापित हुने दौड छ र त्यो लक्ष्य हासिल गर्नेछ भन्ने ठोकुवा गर्नु भयो । उहाँले भन्नुभयो, ‘हामीलाई हार्ने छुट छैन ।’ जित्नका लागि के कस्ता कार्य गर्न या कसो गर्नु पर्ने हो, यहाँहरूले जिल्लास्तरको कार्यक्रम बनाउँदै हुनुहुन्छ । त्यसले वडास्तरमा समेत संगठन विस्तार गर्नेछ र संरचनाहरू तयार हुनेछन् सिंगो जिल्लालाई घण्टीमय बनाउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
अब विकास संख्यामा हैन, गुणस्तरमा हुनुपर्छ, विद्युतले समृद्धि ल्याउछ :
विश्व विकास र समृद्धिको यात्रामा छ भन्दै उहाँले ७० को दशकमा हामीसँगै भएका राष्ट्रहरू आज फड्को मारेर कहाँँ पुगिसके हामी भने जहिको तही जस्तै छौं, हाम्रो विकासको दौड धिमा र गति सुस्त छ भन्नुभयो । उहाँले विगतमा विकास संख्यामा गणना गर्दै सुनाउने गरिन्थ्यो, ३५ वर्षसम्म पुराना पार्टीले त्यही गरे । त्यसैले देश ३८ खर्ब ऋणमा डुबेको छ, अब विकास संख्यामा हैन, गुणस्तरमा हुनुपर्छ उहाँले जोड दिदै भन्नुभयो । तेल बेचेर साउदी अरब विश्वको दशौं धनी देशमा गणना हुन पुगेको छ भने सिंगापुर २० औं स्थानमा छ भन्ने उल्लेख गर्दै उहाँले गास, बास र कपास पछि विकासको आधार विद्युत हो भन्नुभयो । हामीसँग एक अर्ब घटमिटर पानी छ, जो बगेर खेर गैरहेको छ, त्यसबाट विजुली बनाउनु पर्छ, त्यो बल्छ, त्यसले उद्योग चल्छ । उद्योगले रोजगारी दिन्छ, बड्छ, अनि यो देशका शहर र गाउँ स्मार्टमा परिणत हुनेछन् । विदेशीले आफ्नो देशको विकास तथ्यांकमा बोल्ने र नतिजा पनि त्यसमा आधारित गणना गर्ने गर्दछन् उहाँले भन्नुभयो ।
इन्जिनियर समेत रहनु भएको न्यौपानेले भन्नुभयो, ‘भष्टाचार शून्यमा पुर्याउनका लागि पनि घरघरमा डिजिटल साक्षरता जरुरी छ । अब यो आधारभूत आवश्यकता भित्रै पर्दछ । र प्रत्येक परिवारमा कम्तिमा १, २ जना यो सीपयुक्त हुनुपर्छ ।’ त्यो बेलामा भोटिङ पनि डिजिटलबाट हुन्छ उहाँले भन्नुभयो ।
८८ वर्षीय बयोबृद्ध बस्नेत बा’ रास्वपामा प्रवेश :
सो अवसरमा विभिन्न व्यक्तिहरू रास्वपामा प्रवेश गर्नु भएको छ । त्यसमध्ये ८८ वर्षीय बेसीशहर नगरपालिका– ८ निवासी बस्नेत बा’का नामले चिनिनु हुने भूपू सैनिक समेत रहनु भएका दानबहादुर बस्नेत रास्वपामा प्रवेश गर्नुु भएको छ । उहाँलाई कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले उहाँलाई पार्टीको लोगो पहिराउनु भई पार्टीमा स्वागत गर्नु भएको थियो । सो अवसरमा अन्य व्यक्तिहरू पनि पार्टी प्रवेश गर्नु भएको थियो ।
सो विस्तारिक बैठकमा रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य एवम् सो दलको जिल्लाका संस्थापक संयोजक धर्म केसीले ‘देश लुट्नेहरूलाई रास्वपाको मात्र डर छ’ भन्नुभयो । उहाँले विस्तारित बैठकले गरेको उपलब्धिका बारेमा प्रकाश पार्नु हुँदै मुख्य पाँच बुँदामा आधारित रहेर काम गर्ने उल्लेख गर्नु भयो । उहाँले चुनावका लागि तयार गरिने बाचापत्र, जो उपसभापति डा. स्वर्णिम वाग्लेले तयार गर्दै हुनुहुन्छ– मा ती पाँच बुँदाका व्याख्या आउने जानकारी दिनुभयो ।
हामीलाई आफ्नो जिम्मेवारीबाट पन्छिने छुट छैन भन्दै उहाँले सबैवडाको अधिवेशन गर्न सक्दा नै भोलि हुने निर्वाचनका बेलामा बुथ प्रतिनिधि राख्न सहज हुन्छ, संगठन विस्तारले अधिवेशनका लागि पनि सहयोग पुग्ने छ, त्यसैले यो गर्नै पर्ने काम हो भन्नुभयो । उहाँले जुन कुनै पनि मूल्यमा आउँदो फागुन २१ गतेको चुनाव हुन्छ र त्यसका लागि हामी तयार रहनु पर्छ भन्नुभयो । उहाँले त्यो निर्वाचनले देशमा विद्यमान राजनीतिक फोहरलाई बडार्नेसमेत ठोकुवा गर्दै आउदो मंसिर २५ गतेसम्म पार्टीले समानुपातिकतर्फको उमम्मेवादीका लागि दरखास्तसमेत खोली सकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘रास्वपाको विकासका योजनाले देशमा रोजगारीको ढोका खोल्ने र त्यसपछि कसैले पनि ‘झोले’ हुनु पर्नेछैन, त्यसको सुनिश्चिता रास्वपाले गर्छ’ भन्ने ठोकुवा उहाँले गर्नुभयो ।
विधानको तेस्रो संशोधन समेत आइसकेको जानकारी दिदै अब केही दिनमा अधिकांशको हातहातमा त्यो पुग्ने छ भन्नुभयो । उत्पादन, रोजगार बृद्धि र आम्दानी मुख्य कुरा हो र यसका आधारमा हामीले काम गर्नु पर्छ नेता केसीले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा प्रवास विभागका सचिव पदमराज पन्थीले विश्वका ३८ देशमा आफूहरूले पार्टीको शाखा खोली सकेको जानकारी दिदै केन्द्रको हालै चितवनको सौराहमा सम्पन्न विस्तारिक बैठकले निर्णय गरेका १० बुँदा बारेमा जानकारी दिनुभएको थियो । 
सो बैठकमा रास्वपाका जिल्ला उपसभापति प्रकाश थापाले विभिन्न प्रस्तावहरू पेश गर्नु भएकोमा ती प्रस्तावमा व्यापक छलफल गरी सर्बसम्मतले पारित गरिएको थियो । निर्णयमा काठमाडौं, चितवन र पोखरामा पार्टीको सम्पर्क समिति गठन गर्ने, वडा र पालिका अधिवेशन गर्ने लगायतका निर्णय गरिएको छ ।
मध्यनेपाल नगरपालिकामा नयाँ नेतृत्व :
लामो समयदेखि रिक्त जस्तै रहेको रास्वपाको मध्यनेपाल नगरपालिका समिति पुनर्गठन गरिएको छ । नवगठित समितिको सभापतिमा तीर्थराज पराजुली (पूर्वप्रधानाध्यापक) चयन हुनुभएको छ भने उपसभापतिमा सिंहबहादुर गुरुङ(भारतीय सेनाका भूपू सैनिक) चयन हुुनु भएको छ । यसैगरी, सचिवमा पूर्वबैंकर एवम् व्यवसायी दिपेन्द्र श्रेष्ठ पुनः चयन हुनुभएको छ भने कोषाध्यक्षमा महिला समाजसेवी चन्द्रकला घिमिरे (वडानं– ७) चयन हुनु भएको छ । सभापति र उपसभापति चयन भए पछि पराजुली र गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बेसीशहर नगरका सभापति कृष्ण राउत, सुन्दरबजार नगरका सभापति विमल अधिकारी, मध्यनेपाल नगर सचिव दिपेन्द्र श्रेष्ठ, राइनास नगरका सचिव शुभनाथ चिलुवाल तथा मर्स्याङदी गाउँपालिकाका सचिव चन्द्रप्रसाद घिमिरे, बेसीशहर नगरपालिका– २ का सभापति सूर्य पराजुली लगायतले आआफ्नो पालिकाका पार्टी गतिविधिमा बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रम केन्द्रीय जन सम्पर्क विभागका सदस्य भोला शर्मा, रास्वपाको गण्डकी प्रदेशका सचिवालय सदस्य हरि धिताल, प्रदेश सदस्य तैमाया गुरुङ, प्रदेश महिला विभागका उपप्रमुख सन्तोषी गौली, प्रदेश संगठन विभागका सदस्य काजी दुरा, जिल्ला सल्लाहकार समितिका संयोजक नवराज पहाडी, जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारी, जिल्ला सदस्य होम राउत, मीना खड्का, जिल्ला र्याट विभागका प्रमुख श्याम केसीलगायतको सहभागिता थियो ।
रास्वपाका जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा भएको उक्त बैठकको सञ्चालन सचिव रमा खड्काले र स्वागत जिल्ला सदस्य सोविता अधिकारी बरालले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ कार्तिक २९, शनिबार २२:१९ गते