बेसीशहर– नेकपा एमाले लमजुङको आयोजनामा जिल्ला बेसीशहरमा शक्ति प्रदर्शन तथा जनसभा आयोजना गर्यो । एमाले केन्द्रको ७७ जिल्ला मै प्रदर्शन र जनसभा गर्ने निर्देशन अनुसासर कार्तिक २९ गते सो कार्य गरेको हो ।
सो दलको विघटित प्रतिनिधि सभा पुनःस्थापना, भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष माग सहित जनप्रदर्शन सहित जनसभा नेकपा एमाले केन्द्रीय समितिको वैठकले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मुख्य माग राखेको जनाएको छ । यहाँको उक्त जनप्रदर्शन मनाङ्गे चौताराबाट सुरु भई सेरा चोकमा पुगेर सभामा परिणत भएकबो थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ हुनुहुन्थ्यो । आफ्नो गृहजिल्ला समेत रहेको यहाँ भदौ २३ र २४ गतेपछि पहिलो पटक जिल्लामा आउनु भएको हो । जनसभामा उहाँले वैदेशिक हस्तक्षेप विरुद्ध, संविधानको संरक्षण र खतरामा परेकोे संविधानलाई सही मार्गमा हिँडाउन एमालेले दबावमूलक कार्यक्रम गरेको बताउनु भयो । भदौ २३ गते भ्रष्टाचार विरुद्ध, सुशासन र बन्द गरिएको सामाजिक सञ्जाल फुकुवाको माग राखेर आयोजना भएको प्रदर्शनलाई केही देशी विदेशी स्वार्थीतत्वले भड्काएको उपमहासचिव गुरुङले दावी गर्नुभयो । संसद भवन, सिंहदरवार, सर्वोच्च अदालतमा आगो लगाउने आन्दोलनकर्ता नभएको बरु तिनैको कभरमा अराजकतत्वले जलाएको दावी गर्नु भयो ।
पूर्व सञ्चारमन्त्री समेत रहनु भएका पृथ्वीसुब्बा गुरुङले जेनजी आन्दोलन स्मरण गर्दै भन्नुभयो– ‘म जब भैरवनाथ गणबाट निस्किएँ २८ गते, मसँग जति कपडा मैले लगाएको थिएँ त्यस बाहेक अरू कपडा थिएन । दिदी– भेनाको घर नभएको भए मेरो बस्ने, यो शिर लुकाउने ठाउँ थिएन, केपी ओलीको त्यही हालत थियो, अरूको त्यही हालत थियो, धेरै नेताको त्यही हालत थियो ।’
उहाँले थप भन्नुभयो, ‘हाम्रो मन्त्री पद मात्रै खोसिएको होइन, हाम्रो सारा सम्पत्ति खोसिएको छ । मेरो खाने थाल–कचौरा नभएर पोखराको भाइको घरले ल्याइदिएको हो, मेरो दिदी–बहिनीले ल्याइदिएको भात खाने थाल र कचौराले चलाएको छु । मेरो भात पकाउने बिजुलीको चुल्हो, मेरो छोरी–ज्वाइँले किन्दिएर मैले भात पकाउन सुरु गरेको हो ।’
‘म दिदीको घरमा एक महिना बसें, अनि अर्को बहिनीको घर भएर मात्रै अहिले मैले ओत लाउने ठाउँ पाइरहेको छु । तीन ठाउँमा त मलाई भाडामा घरै दिएनन्, किनभने नेताहरू बस्यो भने फेरि आगो लगाइदिन्छ भनेर आफ्नो सम्पत्तिको मायाले गर्दा … कम्युनिस्ट पार्टीको कुनै नेतालाई, कांग्रेसको कतिपय नेतालाई, एमालेको कुनै नेतालाई घर भाडामा नपाउने परिस्थिति बनाइयो’ उहाँले उल्लेख गर्नुभयो । त्यस्तो भनिरहँदा उहाँ निकै भावुक समेत देखिनु हुन्थ्यो ।
त्यो घेराबन्दी, यसरी तोडफोड गरेको … आज मसँग एउटा जुत्ता छ, जुन मलाई सेनाले दिएको थियो, मैले किन कोट लगाएको छैन आज यत्रो ठूलो सभामा ? किनभने मसँग कोट छैन । मेरो जति कोट थियो, सबै पोलियो, सबै लुटेर लगे अपराधीहरूले उहाँले थप जानकारी दिनुभयो ।
मेरो दुइटै घर जल्यो, एउटा सरकारी भवन थियो, त्यो पनि जल्यो, म आफू बसेको घर पनि जल्यो, मेरो बुहारीको, मेरो श्रीमतीको सबै सुन लगे उनीहरूले, त्यो सुन मैले एक तोला पनि किन्दिएको होइन, सबै उनीहरूको माइतीले दिएको सुन थियो नेता गुरुङले जानकारी दिनुभयो ।
उहाँले थप भन्नुभयो, ‘मेरो त खातामा पैसा छैन, म त महिनामा जति आउँछ, त्यति खर्च गर्ने मन्त्री हुँ, मैले मन्त्री हुँदा भनेको थिएँ, एक पैसा घुस खायो यो मन्त्रीले भने आमाको रगत खाएको जस्तो हुन्छ तर आज मेरो नैतिकतामाथि प्रश्न उठाउने कोही मान्छे छैन । कसैको हिम्मत छैन । कसैले देखाए भने, म आजै यो राजनीतिक पार्टीबाट सन्यास लिन्छु, राजनीतिबाट राजीनामा दिन्छु ।’
उक्त सभामा नेकपा एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी, जिल्ला इन्चार्ज जमिन्द्रमान घले, मायानाथ अधिकारी, गण्डकी प्रदेश सचिव धनन्जय दवाडी लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । जिल्ला अध्यक्ष राजकुमार विष्टको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सचिव राजेन्द्र बोहोराले सञ्चालन गर्नुभएको थियो ।
पत्रकारहरू बीच निवर्तमान सञ्चारमन्त्री गुरुङ :
सोही दिन विहान प्रेस चौतारी नेपाल लमजुङ शाखाले शनिबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा निवर्तमान सञ्चारमन्त्री पिएस गुरुङले वर्तमान सरकारले चुनावका लागि आवश्यक वातावरण निर्माण गर्न पूर्णतः असफल भएको दावी गर्नु भएको थियो । गुरुङले संसद् पुनःस्थापना नभएसम्म आगामी निर्वाचन असम्भव भएको उल्लेख गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘यो सरकारले फागुन २१ गते चुनाव गराउन सक्दैन, मतदाता नामावली संकलनले मात्रै चुनाव हुँदैन, संसद् पुनःस्थापना गरेर सर्वपक्षीय सरकार गठन गर्ने र जेनजीका मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गरेरमात्रै चुनाव सम्भव छ ।’
एमालेका उपमहासचिव समेत रहनु भएको गुरुङले चीनविरुद्ध लड्न अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको र त्यसकै प्रभावमा पूर्व सरकारले दबाब भोगेको दावी समेत गर्नु भएको थियो ।
वर्तमान सरकारलाई ‘संविधानलाई कोमामा पुर्याएर निर्माण गरिएको, विदेशी शक्तिको अनुकूलमा चलेको’ भन्दै जेन–जी आन्दोलनलाई मोहरा बनाएर कम्युनिस्ट, गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिमाथि योजनाबद्ध हमला गरिएको दाबी उहाँले गर्नु भयो । जेन–जी आन्दोलनका क्रममा लुटिएका हजारौं हतियार, लाखौं गोली तथा कैदीबन्दी अझै नियन्त्रणबाहिर छन्, जसले शान्तिपूर्ण र भयरहित चुनावी वातावरण बन्न सकेको छैन । ‘अपराधी समूहका हातमा हतियार रहँदा कसरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ ?,’ उहाँको प्रश्न थियो ।
प्रकाशित मिति २०८२ कार्तिक ३०, आईतवार ०७:४२ गते