काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । उहाँलाई मंसिर १ गते भक्तपुरस्थित आफ्नै निवासमा सुतिसकेपछि प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको हो ।
प्रसाईंलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याएको छ । प्रसाईं मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका थिए र हिंसा भड्काउन सक्ने आशंका गरिएको छ । सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न प्रहरी टोली मध्यराति निवासमा पुगेको उहाँका एक निकटस्थ सहयोगीले बताए । प्रसाईंको निवासमा प्रवेश गरेर उनलाई प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको एक प्रहरी अधिकृतले पुष्टि गरेका छन् ।
प्रसाईंको गिरफ्तारीसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । प्रसाईंका समर्थकले २ गते बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताएका छन् ।
दुर्गा प्रसाईँले वर्तमान राजनीतिक अवस्था र आफ्नो अभियानका विषयमा केही दिन अधि पत्रकार सम्मेलनमा आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको दाबी गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘यो देशमा प्रतिपक्ष नै थिएन । त्यतिबेला हामीले प्रतिपक्षको भूमिका निभाएका थियौँ । यो अन्तरिम सरकारमा पनि प्रतिपक्षकै भूमिका निर्वाह गर्छौँ । हामी खबरदारी गर्छौँ ।’
प्रसाईँले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको भएपनि जेनजी आन्दोलनबाट अर्कै भइदिएको बताउनु भएको छ । ’हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को । व्यवस्था परिवर्तन, संविधान परिवर्तन हुनुपथ्र्यो । त्यो भएन ।’ प्रसाइँको कथन छ । यो व्यवस्थाले सबै नेपालीलाई विदेश जान बाध्य बनाएको समेत उहाँको जिकिर थियो । यही पीडा बोक्दै आफूहरूले विगतमा पूर्वराजाको हातबाट परेवा उडाएर अभियान सुरु गरेको उल्लेख गर्नुभयो ।
आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको दाबी गर्दै बैंक ब्याजदर घटाउन पनि आन्दोलनले भूमिका खेलेको बताउनु भएका प्रसाईँले भन्नुभयो, ‘हामीले अभियान सुरु गर्दा ब्याजदर १८ प्रतिशत थियो, अहिले ७ प्रतिशतमा झरेको छ । लघुवित्त पीडितहरू भागाभाग गर्ने अवस्था अन्त्य भएको छ ।’
आफ्नो महाअभियान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यका साथ निरन्तर अगाडि बढ्ने उल्लेख गर्नु भएको थियो ।
‘नागरिक बचाउ दल, नेपाल’को संरक्षक दुर्गा प्रसाईं :
नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं संरक्षक रहने गरी ‘नागरिक बचाउ दल, नेपाल’ दर्ता हुने भएको छ । अभियानका प्रवक्ता माधव कल्पितले निर्वाचन पुगेर नयाँ पार्टीका लागि मंसिर १ गते सनाखत गर्नु भएको हो ।
कल्पित दलको प्रस्तावित अध्यक्षका हैसियतले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गर्नु भएको हो । दलको चुनाव चिह्न ‘दुई पाइला’ रहेको छ ।
स्मरणीय छ, दुर्गा प्रसाईं नयाँदिल्लीबाट काठमाडौं फर्कने क्रममा गत कार्तिक २१ गते केरकार गरेको थियो । भारतीय अध्यागमनले प्रसाईंलाई आधा घण्टा भन्दा बढी केरकार गरेको थियो । अध्यागमनमा होल्ड गरेर प्रसाईंमाथि केरकार गर्नुमा मुख्यगरी तीन वटा कारणहरु औंल्याएको दिल्लीस्थित नेपाली दूतावास स्रोतले बताएको छ ।
नेपालमा पछिल्लो समय राजावादीको नाममा प्रसाईंले गरेको अराजक गतिविधि र त्यसमा भारतको समर्थन रहेको भन्दै दिएको अभिव्यक्तिप्रति असन्तुष्ट बनेको भारतीय पक्षले प्रसाईंलाई चेतावनी समेत दिएको थियो ।
प्रसाईं वा उनका छोरा दुवैले यस भ्रमणका क्रममा कुनै पनि भारतीय सरकारी वा पार्टीका प्रतिनिधिसँग भेटघाट गर्न नसकेको एनडीटिभीले उल्लेख गरेको स्रोतको भनाइ छ । पछिल्ला हप्ताहरूमा असफल प्रयासहरूलाई संकेत गरेको उल्लेख गरेको थियो । दिल्ली पुगेका बेला दिल्ली अध्यागमनले प्रसाईंलाई फर्कने बेलामा केराकार गरेको हो । भारतमा प्रसाईंका गतिविधि भने शंकास्पद देखिएपछि फर्कने बेलामा उनी केरकारमा परेको स्रोत बताउँछ ।
प्रकाशित मिति २०८२ मंसिर २, मंगलवार ०७:०४ गते