काठमाडौँ– आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहितका १२ दलले आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका छन्। आयोगको कार्यालयमा पुगेर रास्वपासहितका दलले मंसिर १ गते दल दर्ता गराएको हो । मंसिर १ गते दल दर्ताका लागि आह्वान गरिएको पहिलो दिन हो । निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ ।
निर्वाचनमा आयोगमा लीमा अधिकारीसहितका नेताहरूले दल दर्ताका लागि आयोगमा निवेदन पेश गरेका हुन् । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आफूहरूले दल दर्ताका लागि आयोगमा निवेदन दिएको नेतृ अधिकारीले बताउनु भयो । उहाँका अनुसार विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा आफ्नो पार्टी पुगेको छ । उहाँले भन्नुभयो, नेतृ अधिकारीले जेन–जी आन्दोलनपछि सबैभन्दा पहिला मुलुकलाई निर्वाचनमा लैजानुपर्छ भनेर माग गर्ने पार्टी नै रास्वपा रहेको दाबी गर्नु भयो ।
‘हामी निर्वाचन केन्द्रित भएका छौं । हाम्रा सम्पूण गतिविधि निर्वाचनसँग सम्बन्धित छन् । बैकल्पिक शक्तिहरूको पनि निर्णायक भुमिका खेलिरहेको हाम्रो पार्टी जिम्मेवारी बोधका साथ लागेका छौँ,’ अधिकारीले भन्नुभयो, ‘हामीले विधिको शासन, नागरिकको सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि हामी सबै फागुन २१ को निर्वाचनमा होमिनु पर्दछ भन्ने निष्कर्ष निकालेका छौँ ।’
प्रवासबाटै मतदाता नामावली दर्ता गराउन रास्वपाको माग ः
यसैबीच, यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीहरूलाई सम्बन्धित देशको नेपाली दूतावासबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको थियो । साथै नाम दर्ता गर्नका लागि समयसीमा थप गर्नसमेत अनुरोध गरेको थियो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्यहरू गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली सम्मिलित टोलीले निर्वाचन आयोग र गृह मन्त्रालयमा छुट्टाछुट्टै पत्र बुझाउँदै कार्तिक २५ गते त्यस्तो माग गरेको हो ।
निर्वाचन आयोगमा दर्ता गराइएको अनुरोध पत्रमा बायोमेट्रिक दर्ता लगायतका प्राविधिक समस्याका कारण निर्धारित मितिभित्र सबैको नाम दर्ता हुन नसक्ने भन्दै समय थप गर्न माग गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भएको थियो ।
पार्टीको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत भेटेर सोही व्यहोराको पत्र बुझाएको थियो ।
स्मरणीय छ, २०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यतिबेला प्रतिनिधि सभामा २० सिट जितेर चौथो ठूलो दल बनेको थियो ।
आयोगका अनुसार आगामी निर्वाचनमा भाग लिन नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डे, देश विकासका सन्ध्या खनाल, प्रलोपाका राजप्रसाद थपलिया, देशभक्त समाजका द्रोण अधिकारी, नेपाल लोकतान्त्रिक पार्टीका श्रवणकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लिमा अधिकारी र आमजनता पार्टीका रवीन्द्र सिंहले आज दल दर्ताका लागि निवेदन दिनु भएको हो ।
त्यस्तै, मङ्गोल नेशनल अर्गनाइजेशनका सन्तोष तामाङ, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, नेपाल सद्भावना पार्टीका सरस्वतीकुमारी झा र नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामीले आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेको आयोगले जनाएको छ ।
१२३ दल दर्ता, ३२ प्रक्रियामा ः
यसैबीच, निर्वाचन आयोगमा कार्तिक ३० गतेसम्म १२३ वटा दलले दर्ताको प्रमाणपत्र लिएका छन् । करिब ३२ वटा दलले कार्तिक ३० गतेसम्म दर्ताका लागि निवेदन दिएका छन् तर प्रमाणपत्र पाएका छैनन् । अधिकांश दलको कागजात अपुग छ । आयोगले त्यस्ता दललाई पर्याप्त समय दिने भएको छ ।
तर जेनजी आन्दोलनलगत्तै ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ समेत दर्ताका लागि निर्वाचन आयोग पुग्यो । कात्तिक २ गते नै निर्वाचन आयोग पुगेको सो दलका पदाधिकारीले आयोगले मागेको थप कागजात उपलब्ध गराउन नसकेपछि कार्तिक ३० गते दल दर्ताको निवेदन फिर्ता लिएको छ । सो दलको प्रमुख व्यक्ति ३२ वर्षीय हिराप्रसाद सोतीले आफैँ ‘उज्यालो पार्टी नेपाल’ को केन्द्रीय समितिमा सनाखत गर्नुभएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यतालिका अनुसार १ गतेदेखि यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ दल दर्ताको अवधि तोकिएकामा पहिलो दिनमै उत्साहजनक रूपमा दल दर्ता कार्य अगाडि बढेको बताउनु भयो ।
प्रकाशित मिति २०८२ मंसिर २, मंगलवार ०८:४७ गते