काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचारका काण्डहरू नभएको दाबी गर्नु भएको छ । पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दैै उहाँले मंसिर २ गते त्यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिइ विद्युत् खरिदको नाममा करोडौं घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेकोप्रति आपत्ति व्यक्त गर्नु भएको हो । आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर समेत उहाँले जिकिर थियो ।
उहाँले भन्नुभयो, ‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँनिरको भ्रष्टाचार ? कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका, विद्युत् बिक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन् त ?’ अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहीनता, राजनीति अन्यौलग्रस्त, अराजक यस्तो त थिएन त ! ओलीले उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफूहरू अदालत जाने दोहोर्याउनु भएको छ । उहाँले आफूले पटक–पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दावी गर्नु भएको थियो ।
वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्न आँट गर्नै नसक्ने उहाँको तर्क थियो । उहाँले वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको समेत उल्लेख गर्नुभयो ।
केपी ओली अहिले सत्ता विमुख हुनुहुन्छ तर भर्खर दुई महिनाको आयु पार गरेको सत्तारूढ शक्तिलाई निरन्तर चुनौती दिइरहने एकमात्र पात्र हुनुहुन्छ । उहाँको लगातारको आलोचना र व्यंग्यवाणले सत्तारूढ शक्ति खासगरी गृहमन्त्री ओमप्रकाश अर्याललाई अप्ठेरोमा परेको छ । जेनजी विद्रोहबाट सत्ताच्यूत भएपछि ओली थुप्रै दिन सेनाको पहरामा बस्नु भयो । बालकोटको उहाँको व्यक्तिगत घर जलेको छ । महेश बस्नेतको साथ र सहयोगमा उहाँको गुण्डुमा डेरामा बस्नु भएको छ । सत्ताको साँचो गुमेको छ र आफ्नै दलभित्रबाट उहाँले निरन्तर आलोचना व्यहोरिरहनु भएको छ । तर, जेनजी विद्रोहपछि जन्मेको प्रतिपक्षविहीन सुशीला कार्की सरकारलाई एक महिनामै उहाँले प्रतिपक्षीको जस्तो चुनौती दिन थाल्नु भएको हो र क्रम जारी छ । मूलतः गृहमन्त्री अर्यालले भन्ने गर्नु भएको छ, ‘वर्तमान सरकारको सबैभन्दा ठूलो सुरक्षा चुनौती ओली नै हुन् ।’
गृहमन्त्री अर्याललाई ओलीले सत्ताच्यूत भएपछिको पहिलो सार्वजनिक कार्यक्रमबाटै व्यंग्य कस्न थाल्नु भएको हो । भनेका थिए– ‘गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्यालठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु ।’ उहाँले त्यस दिन प्रधानमन्त्री सुशीला कार्कीको डरले आफू नभाग्ने समेत उल्लेख गर्नु भएको थियो ।
व्यंग्य र आलोचना ओलीको सामान्य भाषा नै हो, अरूका कुरा नसुन्ने उहाँको विशेषता हो, अरूलाई खासै नगन्ने स्वभाव पनि हो । घमण्ड र जिद्दीपन पनि विशेषता भित्रै पर्दछन् । तर वर्तमान सरकरले ओलीलाई के कसरी काउन्टर दिन्छ या दिदैन त्यो भने हेर्न बाँकी छ ।
प्रकाशित मिति २०८२ मंसिर २, मंगलवार १८:३२ गते