
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको सिमरा विमानस्थलको घटना संवेदनशील भएको उल्लेख गर्दै राजनीतिक दललाई सुरक्षाको वातावरण बनाउन सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकले सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण मंसिर ३ गते गराएको हो ।
दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ रास्वपाको निष्कर्ष छ । कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने पार्टी निष्कर्ष रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी गराउनु भएको छ ।
रास्वपा बैठकको निष्कर्षबारे जानकारी गराउँदै झाले भन्नुभयो, ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ, आज सिमरामा भएको घटना संवेदनशील छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं ।’
रास्वपाले देशमा निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने बताएको छ । यसका लागि सरकारले पर्याप्त सुरक्षा व्यवस्था उपलब्ध गराउनुपर्नेमा रास्वपाको भनाइ छ ।
बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबीचको झडपका कारण आज विमानस्थल सेवा बन्द गर्नुपरेको थियो । एमाले नेताहरू शंकर पोखरेल र महेश बस्नेत काठमाडौँबाट सिमरा आउँदै गरेको थाहा पाएर जेनजी समूहले उनीहरूलाई रोक्न झडपको अवस्था सिर्जना गराएका थिए ।
बाराको परवानीपुरमा एमालेको कार्यक्रममा जान महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल र महेश बस्नेत लगायत नेताहरू सिमरा विमानस्थलमा जान रोक लगाउँदा झडप भएको थियो ।
प्रकाशित मिति २०८२ मंसिर ३, बुधबार १७:१० गते