
सिमरा(बारा)– नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच उत्पन्न तनावका कारण दिनभर अशान्त यहाँको अवस्था सामान्य बन्दै आएको छ । प्रशासनले लगाएको कफ्र्यू आदेशको अवधि मंसिर ३ गते बेलुकी आठ बजेपछि सकिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको कफ्र्यू आदेश उल्लङ्घन गर्दै दिनभर प्रदर्शन गरेका जेनजी युवाहरू फर्किएका थिए । कफ्र्यू आदेश उल्लङ्घन गर्दै युवाले सिमरा बजार क्षेत्रमा दिनभर प्रदर्शन गरेका थिए ।
दिनभर बाटोमा रोकिएका सवारीसाधनलाई प्रहरीले साँझ ६ बजेतिर अवरोध खुलाएर गन्तव्यतर्फ पठाएको छ जिल्ला प्रशासन कार्यालय बाराका प्रहरी नायव उपरीक्षक वेदप्रसाद जोशीले जानकारी दिनु भयो ।
यसैबीच, गृह मन्त्रालयले बाराको सिमरामा मंसिर ३ गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक प्रेस विज्ञप्तिमार्फ मन्त्रालयले घटनापछि सिर्जित अवस्थालाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाउन स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र अवस्था सामान्य बन्दै गएको मंसिर ३ गते बताएको हो ।
यो घटनाले जेन– जी, राजनीतिक दल र सरकार बीच दुरी बढ्ने आशंका बढेको छ । गृह मन्त्रालयले वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था तथा अमनचयन कायम गर्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ । सो उद्देश्य पूरा गर्न सबै पक्षको सहयोग आवश्यक रहेको पनि मन्त्रालयले विशेष जोड दिएको छ । मन्त्रालयले आफ्नो विज्ञप्तिमा मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबै पक्षहरूले आआफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँगको समन्वयमा कार्यक्रमलाई शान्तिपूर्वक तरिकाले व्यवस्थित र मर्यादापूर्वक सञ्चालन गर्नु गराउनु वाञ्छनीय रहन्छ ।’
मन्त्रालयका अनुसार स्थिति सामान्य हुँदै गइरहेको जनाएको छ । गृह मन्त्रालयले राजनीतिक, सामाजिक तथा सार्वजनिक कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी मर्यादापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ ।
शान्तिपूर्ण अभिव्यक्ति र जमघटका संवैधानिक हक प्रयोग गर्दा संयमता, संवाद, समन्वय र सहमति अपरिहार्य रहेको मन्त्रालयको भनाइ छ ।
प्रदर्शनकारीहरूले सिमरा विमानस्थलको गेट तोडफोडसमेत गरेका थिए । त्यसअघि युवा संघ र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । यो घटनाले जेन– जी, राजनीतिक दल र सरकार बीच दुरी बढ्ने आशंका बढेको छ ।
युवा संघ र जेनजी समूहबीचको तनावले स्थिति अप्रिय हुन नदिन जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल आसापास राति ८ बजेसम्म कफ्र्यू आदेश जारी गरेको थियो ।
प्रदर्शनबीच परवानीपुरमा एमालेनिकट युवा संघले ग¥यो जागरण सभा ः
यसैबीच, वीरगञ्जबाट प्राप्त समाचार अनुसार प्रदर्शनका बीच एमाले निकट राष्ट्रिय युवा संघ नेपालले परवानीपुरमा जागरण सभा सुरू गरेको छ । बाराको परवानीपुरमा एमाले युवा संघले मधेस जागरण सभा गरेको हो । जागरण सभा चलिरहदा त्यसको विरोधमा जेनजीको एउटा समूहले वीरगञ्ज पथलैया सडक खण्डमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले बिहानैदेखि त्यहाँ विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
युवा संघले पार्टीका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायत नेताहरूको उपस्थितिमा जागरण सभाको तयारी गरेको थियो । बस्नेत सहितका नेता आउने भएपछि जेनजीको एउटा समूहले विरोध प्रदर्शन सुरू गरेको थियो । उक्त प्रदर्शनका कारण महासचिव पोखरेल, बस्नेत सहितका नेता काठमाडौंमै रोकिएको स्रोतको भनाइ छ ।
सम्पन्न जागरण सभामा एमालेका मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ, युवा संघ इन्चार्ज राजीव पहारी, युवा संघका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष महाराज गुरूङ लगायतले आआफ्ना धारणा गर्नुभएको थियो ।
प्रकाशित मिति २०८२ मंसिर ४, बिहीबार ०६:५९ गते