हिजो साँझदेखि लयमा फर्कके संकेत देखिएको सिमरा आज दिनभर तनावग्रस्त : तोडियो कर्फ्यु, भोलि बिहान बार्ता, सहमति नभए आन्दोलन

हिजो साँझदेखि लयमा फर्कके संकेत देखिएको सिमरा आज दिनभर तनावग्रस्त : तोडियो कर्फ्यु, भोलि बिहान बार्ता, सहमति नभए आन्दोलन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर ४ गते बिहिबार ०७:४७

जेनजी अगुवा उपाध्यायका अनुसार वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त आन्दोलनरत युवाको छ । युवा संघका स्थानीय नेता साहले जेनजी युवामाथि हिजो पहिलो मुक्का प्रहार गरेको दावी छ । उनी हालसम्म फरार रहेको प्रहरी भनाइ छ ।

जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई वडाध्यक्षलाई पक्राउ गरेको छ ।

काठमाडौं– बाराको सिमरामा एमालेको युवा संघ र जेनजीका समूहका बीचमा भएको झडपले हिजोदेखि सुरु भएको तनाव साँझ लयमा फर्कने संकेत देखिएको भएता पनि आज दिनभर तनावग्रस्त रह्यो । प्रजिअले बोलाएको वार्तामा जेनजी टोलीले जान अस्विकार गरेसँगै आज मंसिर ४ गते वार्ता हुन सकेन । भोलि बिहानका लागि बार्ताको तयारी छ, सहमति नभएमा जेनजी टोलीले आन्दोलन जारी राख्ने बताएको छ ।
त्यसो त हिजो प्रशासनले कर्फ्यु लगाउँदासमेत त्यसको प्रवाह नगरी जेनजीहरूले सिमरामा प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बनेपछि आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु जारी समेत गरेको छ ।
जेनजीका अगुवालाई कुटपिट गर्ने एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताहरूलाई कारबाहीको माग राख्दै उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका हुन् । जेन–जी युवाहरूले सिमरा चोकमा प्रदर्शन गरेपछि त्रिभुवन राजपथको वीरगञ्ज पथलैया खण्डमा यातायात अवरूद्ध छ । सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् ।
जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई वडाध्यक्षलाई पक्राउ गरेको छ । जसमा ४१ वर्षीय धनबहादुर श्रेष्ठ र ३८ वर्षीय क्यमुदिन अन्सारी छन् । तर, जेनजीलाई आक्रमण गर्ने अरवीन्द साह अझै पक्राउ नगरेको भन्दै जेनजीहरू आक्रोशित छन् ।
हिजोबाट उत्पन्न तनाव आज के–के भयो भन्नेबारेमा विभिन्न स्रोतबाट हामीले यो सामग्री तयार गरेका हौं ।
जेनजी युवा सम्राट उपाध्यायको नेतृत्वमा विहान करिब ११ बजे ४५– ५० जना समूहमा भेला भएका थिए । त्यो दृश्य देखेपछि इलाका प्रशासन कार्यालय सिमराबाट डीएसपी वेदप्रकाश जोशीको कमाण्डमा ३० जनाको टोली परिचालन भयो । सशस्त्र प्रहरी नायव निरीक्षक केदार परियारको कमाण्डमा १० जनाको थप टोली पनि घटनास्थलमा खटियो ।
त्यसपछि जितपुर सिमरा उपमहानरपालिका– २ सिमरा चोकस्थित वीरगञ्ज पथलैया सकडमा जेनजी समूहले टायर बालेर दुवैतर्फको बाटो अवरोधको थाले । प्रहरीले उनीहरूलाई सम्झाइ बुझाइको प्रयास गर्यो ।
जेनजी टोलीले करिब १२ बजे प्रहरीमाथि आक्रमण गरेको, आफूहरूउपर जेनजी समूहले ढुंगामुढा प्रहार गरेको प्रहरी अधिकारीहरूको दाबी छ । उनीहरूका अनुसार जेनजीको आक्रमणबाट डीएसपी वेद प्रकाश जोशीको दाहिने हातको कुहिनामा तथा इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर जीवन लामिछानेको निधार र दाहिने खुट्टामा चोट लागेको छ । प्रहरी चौकी वेल्दारी दरबन्दी भइ सिमरामा कार्यरत असई टंकप्रसाद आचार्यको बाँया खुट्टा र ढाडमा तथा सिमरा बेस बारामा कार्यरत बरिष्ठ हवल्दार रामबाबु साहको बाँया खुट्टा र ढाडमा चोट लागेको छ भने अन्य ९ जना प्रहरीहरू घाइते भए ।
आफूहरूमाथि आक्रमण सुुरु भएपछि प्रहरीले पनि करिब १२ बल प्रयोग गर्न थाल्यो । सुरुमा लाठी चार्ज र ५ राउण्ड अश्रु ग्यास प्रहार भयो । एक राउण्ड हवाई फायरर समेत प्रहरीले गर्यो ।
त्यतिबेला जेनजी समूह झण्डै १५० जनाको पुगेको थियो । करिब १ बजे ग्यास गनबाट ६ राउण्ड अश्रु ग्यास प्रहारका साथ एसएलआरबाट ३ राउण्ड हवाई फायर गरियो । त्यति हुँदा जेनजी आन्दोलनकारी करिब ५ सय जम्मा भइसकेका थिए । त्यतिबेला कर्फ्युआदेश जारी भइसकेको थियो ।
कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको प्रहरी दावी छ ।
हिजो एमालेको युवा संघको मधेशस्तरीय कार्यक्रम थियो । काठमाडौंबाट महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता यहाँ आउने कार्यक्रम थियो । त्यो थाहा पाएपछि जेनजी अगुवा सम्राट उपाध्यायले नै एक जुट हुन आह्वान गरेको स्थिति थियो । नेताहरूलाई स्वागत गर्न बाराका एमालेहरू पनि एअरपोर्ट पुगेका थिए र जेनजीहरू सिमरा एअरपोर्ट अगाडि जम्मा भएका थिए ।
त्यो क्रममा दुई पक्षबीच विवाद सुरु भयो । विवादको क्रममा सुरुमा एमालेका बाराका नेता अरवीन्द साहले जेनजीलाई सुरुमा हिर्काउन पुगे । त्यसपछि बिग्रिएको स्थिति अहिलेसम्म तनावपूर्ण जस्तै छ ।
वार्तामा बस्न जेनजी युवाद्वारा अस्वीकार :
यसैबीच, स्थानीय प्रशासनले बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान दोहोर्याएका छन् ।
जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको थियो । तर जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताउनु भयो ।
जेनजी अगुवा उपाध्यायका अनुसार वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त आन्दोलनरत युवाको छ । युवा संघका स्थानीय नेता साहले जेनजी युवामाथि हिजो पहिलो मुक्का प्रहार गरेको दावी छ । उनी हालसम्म फरार रहेको प्रहरी भनाइ छ ।
प्रहरीले भने घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासन दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनु भयो ।
सिमरा विमानस्थल शान्तिपूर्ण रूपमा सञ्चालन :
उता, जेनजी आन्दोलनका क्रममा बुधवार दिनभर बन्द रहेको सिमरा विमानस्थलमा आज शान्तिपूर्ण ढंगले सञ्चालन आएको छ । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले आज बिहानदेखि नै सबै उडान भइरहेको बताउनु भएको हो ।
एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए ।
अधिकारको सम्मान गर्न आग्रह : शान्ति सुरक्षा मजबुत बनाउन आग्रह : आयोग
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा भएको घटनाबारे ध्यानाकर्षण भएको भन्दै सरकार र सरोकारवालाहरूलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता, सहसचिव डा. टीकाराम पोखरेलले जारी गर्नु भएको थियो ।
आयोगले एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस्ता प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न निर्देशन दिएको हो ।
विज्ञप्तिमा घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति २०८२ मंसिर ४, बिहीबार १९:४७ गते
हजुरको प्रतिक्रिया