प्रेस काउन्सिल विरुद्ध अन्तरङ्गले फेरि हाल्यो मुद्दा 

प्रेस काउन्सिल विरुद्ध अन्तरङ्गले फेरि हाल्यो मुद्दा 

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १० गते बुधबार ०६:५७

रिट निवेदनमा प्रेस काउन्सिलका अतिरिक्त्त प्रेस काउन्सिलका प्रमुख सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड, सूचना विभाग, हुलाक सेवा विभाग, अध्यक्ष केन्द्र नेपाल पत्रकार महासंघ र जिल्ला हुलाक कार्यालय लमजुङलाई समेत विपक्षी बनाइएको छ ।

पहिलेका रिटको नजिरको आधारमा यस पटक पनि आफ्नो जित हुनेमा पहाडी ढुक्क हुनुहुन्छ ।

काठमाडौं– लमजुङबाट विगत ३४ बर्ष देखि प्रकाशन हुँदै आएको अन्तरङ्ग साप्ताहिकले प्रेस काउन्सिल नेपाल लगायतका सम्बद्ध निकायका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । विगतका नौं बर्ष सम्म क वर्गमा वर्गीकृत हुँदै आएको अन्तरङ्गलाई ख वर्गमा झार्ने काम भएको विरुद्ध उक्त साप्ताहिकका सम्पादक÷प्रकाशक नवराज पहाडीले मंसिर ९ गते रिट निवेदन दायर गर्नुभएको हो ।
अन्तरङ्गलाई ख वर्गमा झारिए पनि गत असार सम्म क वर्गको सुविधा दिँदै आएको थियो तर जिल्ला हुलाक कार्यालयले गत भदौ ३१ गते एक पत्र लेख्दै अन्तरङ्ग ख वर्गमा परेका कारण गत चैत देखि असार सम्म पाएको क वर्गको बढि सुविधा रकम ३०,१८८ रूपैंया फिर्ता गर्न भनेको विरूद्ध भन्दै अन्तरङ्गको श्रेणी घटुवा गरेको विरूद्ध आँफु अदालत जानु परेको पहाडीले बताउनु भएको छ ।
निवेदक पहाडीले प्रेस काउन्सिलको निर्णय गैरकानुनी, मनोमानी, पुर्वाग्रही एवम् पक्षपातपूर्ण भएको उल्लेख गर्दै पत्रिकालाई पुनः क वर्गमै कायम गर्न माग गर्नु भएको छ ।
विज्ञापन बोर्डलाई सेतो हात्तीको संज्ञा :
यसबाहेक विज्ञापन बोर्डलाई सेतो हात्तीको संज्ञा दिँदै पहाडीले २०५३ साल देखि पत्रिकालाई लोककल्याणकारी विज्ञापन वापत दिइने रकममा जबरजस्ती असुल गर्ने गरेको ३ प्रतिशत रकम खारेज गर्न, बडादशैं तथा शुभ दिपावली जस्ता चाडपर्वमा साप्ताहिकहरूलाई दिँदै आएको एक एक हप्ताको विदाको सुविधा यो बर्ष देखि कटौती गरेको निर्णय खारेज गर्न माग गर्नु भएको छ ।
पत्रकार पहाडीले यसअघि नेपालको कर्मचारीतन्त्र परिणाममा भन्दा प्रक्रियामा अल्झदै आत्मरतिमा रमाउने गरेको सम्मानित अदालत जानकारी नहुने प्रश्न रहन्न भन्दै निवेदक पहाडीले २०७६ को असारमा सर्वोच्चले गरेको फैसलामा आव ७० ७१ मा समेत क वर्ग कायम गरिएको रकम हामी जन्मनु भन्दा अघिको दायित्व कसरी व्यहोर्न सक्छौं भन्दै सो रकमको भुक्तानी माग पत्र सञ्चार मन्त्रालयमा फिर्ता पठाउने विज्ञापन वोर्डले २०५३ सालदेखि पत्रिकाहरूले पाँउदै आएको लोककल्याणकारी विज्ञापनको सुविधा रकममा ३ प्रतिशत कर लाद्न लाज नमानेको स्थितीप्रति सर्वोच्चको ध्यानाकर्षण गराउनु भएको छ ।
यसैगरी, पत्रिकाहरूका लागि मन्त्रीस्तरीय निर्णयलाई लत्याउँदै हुलाक सेवा विभागका महानिर्देशकले हुलाक सेवा नियमावली संशोधनका नाममा लादिएको दुई रूपैंयाको टिकट टाँस्नु पर्ने व्यवस्थाको खारेजीको माग गर्नु भएको छ भने नेपाल सरकारले तयार गरेको समानुपातिक विज्ञापन नीति कार्यान्व्यन गर्न सर्वोच्च अदालतले समेत कार्यान्व्यन गर्न आदेश गरेको दशक अवधि बित्न लाग्दा समेत बेवास्ता गरिएकोले सो नीति कार्यान्व्यन गर्न सर्वोच्चबाट पुनः आज्ञा आदेश जारी गर्न पनि माग गर्नु भएको छ ।
पत्रकार महासंघका पदाधिकारीहरूको व्यवहार प्रति रूष्ट :
यसैगरी, नेपाल पत्रकार महासंघ लमजुङ शाखाको संस्थापक अध्यक्ष समेत रहनु भएका पहाडीले  नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरूको पेशागत हितभन्दा भागवण्डा र व्यक्तिगत स्वार्थन्धताको शिकार भएको दावी गर्नु भएको छ । पत्रकार महासंघका अध्यक्ष लगायतका पदाधिकारीहरूले पत्रिकारिताको सिद्धान्त, कर्म, मर्म तथा भावना अनुसार कार्य गरी पत्रकारिता क्षेत्रको चौतर्फी विकासका लागि प्रष्ट नीति र कार्यक्रम(योजना) बनाई मुलुकभरका सञ्चारमाध्यम, पत्रपत्रिका तथा पत्रकारहरूको हितमा काम गर्नुको सट्टामा भागवण्डामा पद हत्याउने अनि व्यक्तिगत स्वार्थमा रमाउने गरेको रिट निवेदनमा उल्लेख गर्नु भएको छ । साथै महासंघका पदाधिकारीहरू पत्रकार तथा पत्रिकाहरूले पाइरहेका उल्लेखित सुविधाहरू कटौति हुँदासमेत मौन सम्मती जनाएबाट उद्देश्य अनुरुप नचलेको पुष्टि हुन्छ । अध्यक्षले पहल गरेको भए पछिल्ला ९ वर्षदेखि क वर्गमा वर्गीकृत हुँदै आएरको अन्तरङ्ग विगतका वर्षभन्दा झनै राम्रो गरेको अवस्थामा ख वर्गमा झर्नु पर्दैनथ्यो । त्यस्तै, सरकारले नै बनाएको समानुपातिक विज्ञापन नीति लागू गर्नका लागि आलटाल गरेपछि त्यसको कार्यान्वय गर्न सम्मानित सर्वोच्च अदालतमा परेको रिटमा अदालतबाट सरकारलाई कार्यान्वयन गर्न आदेश जारी भएको दशक वर्ष पुग्दैछ । यो स्थितिमा सो नीति लागू गर्ने काममा समेत महासंघका पदाधिकारीहरू कानमा तेल हालेर बसेका छन् । २०५६ सालमा सम्पन्न भएको आमनिर्वाचनका बेलामा साप्ताहिक पत्रिकालाई निर्वाचन सम्बन्धि प्रचार प्रसारको सूचना (विज्ञापन) छपाउन दिई लोककल्याणकारी विज्ञापनमा पाएको सुविधामा दोब्बर थप गरी सुविधा रकम भुक्तानी दिने प्रवन्ध गरिएको थियो । तर त्यसपछिका निर्वाचनमा दोब्बर सु्विधा त के छुट्टै  सूचना छाप्न पनि छापामाध्यम खासगरी साप्ताहिकलाई दिन छाडिएको स्थिति छ । तर त्यो सुविधा रेडियो, टिभी र अनलाइनहरुले पाइरहेकै छन् । २०७९ को निर्वाचनमा अन्तरङ्गको अनलाइनलाई सूचना छाप्न दिएर पनि भुक्तानी भने दिइएन । त्यसबारेमा निर्वाचन आयोगलाई दुई पटकसम्म लिखित पत्र पठाउँदासमेत वास्ता गएिन, यस्ता बदनियतपूर्ण कार्यप्रति पनि महासंघका पदाधिकारीको चासो हुँदैन । यसैगरी, सूचना विभागले निर्देशिका जारी गरी ६५ वर्ष पुगेका पत्रकारहरूलाई मासिक ५,०००।–(पाँच हजार रुपैयाँ) सेवा रकमको सुविधा दिने भनिए पनि सूचना विभाग आफैले बनाएको कार्यविधि जटिल भयो भन्ने बहानामा सो सुधिवा अलपत्र अवस्थामा छ । यी र यस्ता हरकतप्रति महासंघका पदाधिकारीहरूलाई कुनै सरोकार भएको देखिदैन। किनकि, उनीहरू जीवनभर पत्रकारितामा टिक्ने योजनामै छैनन्।क्षणिक स्वार्थ सिद्ध गर्ने, पदको ध्वास देखाउने र भोलिका दिनमा दायाँ वाया(अन्य पेशामा) लाग्ने योजनामा रहेकाहरूले पत्रकारिता जगत र पत्रकारहरूको दीर्घकालीन जीवन यापनका सुविधाका बारेमा किन  ध्यान दिनु पर्यो ? भन्ने व्यवहार देखाउँदै आएका भने पत्रिकाको वर्गीकरणको नतिजा प्रकाशन समयमै गराउनका लागि पहल गरेको पनि देखिदैन।नेपाल टेलिकमलको केन्द्रले वर्गीकरणमा परेका सबै पत्रिकालाई बडादशैंका अवसरमा दिदै आएको एक हजार रूपैंया बराबरको शुभकामना विज्ञापन यो वर्ष जेनजी आन्दोलनका नाउँमा दिइएन, त्यो दिलाउनेतर्फ पनि महासंघको कुनै पहल देखिएन, बजकी कोरोनाकालमा त्यसरी रोकेको विज्ञापनको सुविधा महासंघका तत्कालीन अध्यक्षको पहलमा पुनः दिन थालिएको थियो । त्यतिमात्र हैन २०७२ सालको भूकम्प तथा कोरोनाकालमा समेत सञ्चारमाध्यमको सुविधा तथा पत्रिकाहरूको स्थायित्वका पक्षका महासंघले सिन्को भाञ्चे काम पनि गरेको पाइदैन, कोरोनाकालमा कति पत्रिका बन्द भए भन्ने प्रष्ट तथ्यांकसमेत महासंघसँग भएको पाइदैन।
महंगीको मारमा साप्ताहिक पत्रिका पनि नपरेका छैनन् । तर कर्मचारीको तलब बढ्दा बढाउने गरिएको लोककल्याणकारी विज्ञापनको सुविधा रकम २०७६ साल साउनदेखि यता बढाइएको छैन, त्यसतर्फ पनि महासंघले ठोस कदम चालेर सरकारलाई दबाब दिन सकेको पाइँदैन । यस्ता यावत कामहरूमा महासंघको नेतृत्व विमुख हुँदै आएको छ । सरकारलाई समानुपातिक विज्ञापन नीति लागू गर्न दबाब दिने र पत्रपत्रिकाले पाइआएको सुविधा थप गर्न पदीय दायित्व, जिम्मेवारी तथा कर्तव्य पालन गर्ने कार्य गर्नुको सट्टा यो वा त्यो बहानामा प्रतिदिन साप्ताहिक पत्रिकाहरूले पाइरहेका सुविधाहरू समेत कटौति गरिँदै गर्दासमेत वास्ता नगरी टुलुटुलु हेरी व्यक्तिगत हित तथा स्वार्थन्धतामा रमाउने कार्य गरिआएको हुँदा महासंघको औचित्यमाथि नै प्रश्न उठाउनु पर्ने स्थिति पदाधिकारीहरूको व्यवहारबाट देखिदै आएको छ । अतः महासंघका अध्यक्ष सहितका पदाधिकारीलाई पदीय आचरण विपरित काम गरेकोमा नैतिक रुपमा दण्डित गरिनु पर्छ भन्ने रिट निवेदनमा माग गरिएको छ  ।
रिट निवेदनमा प्रेस काउन्सिलका अतिरिक्त्त प्रेस काउन्सिलका प्रमुख सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड, सूचना विभाग, हुलाक सेवा विभाग, अध्यक्ष केन्द्र नेपाल पत्रकार महासंघ र जिल्ला हुलाक कार्यालय लमजुङलाई समेत विपक्षी बनाइएको छ ।
स्मरणीय छ, यसप्रकार स्तर घटुवा गरिएकोमा बढुवा कायम गर्न न्यायका लागि सर्वोच्च आदालतको ढोका ढक्ढक्याउनु भएको पहाडीले यो चौथो पटक हो । यसअघि पहाडीले दायर गर्नु भएका तीनवटा रिट उहाँको पक्षमा फैसला भई सकेका छन् । ति रिटको नजिरको आधारमा यस पटक पनि आफ्नो जित हुनेमा पहाडी ढुक्क हुनुहुन्छ । उक्त रिटको पहिलो सुनुवाई भोली मंसिर १० गते हुने भएको छ ।
प्रकाशित मिति २०८२ मंसिर १०, बुधबार ०६:५७ गते
हजुरको प्रतिक्रिया