एमाले महाधिवेशन प्रतिनिधिको १० स्थानका लागि लमजुङमा ४० जना आकांक्षी

एमाले महाधिवेशन प्रतिनिधिको १० स्थानका लागि लमजुङमा ४० जना आकांक्षी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १२ गते शुक्रबार ०९:००

एमालेको लमजुङमा कुल संगठित सदस्य संख्या पाँच हजार ४७३ जना रहेको छ । तीमध्ये दलितको संख्या ७५८ जना रहेका छन् । दलितका हकमा छुट्टै प्रावधान बनाई खुलातर्फ दलितले भोट दिन नपाउने र दलितलाई खुलाले भोट दिन नपाउने प्रावधान रहेको एमालेका जिल्ला सदस्य एवम् कार्यालय सचिव सरोज विश्वकर्माले बताउनुभयो ।

मंसिर १२ गते साँझ ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहको छ । सर्वसम्मत नभएमा मंसिर १३ गते मदतान प्रक्रियाबाट प्रतिनिधि निर्वाचित गरिने तयारी चलिरहेको छ ।

बेसीशहर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङ जिल्लाबाट १० जना महाधिवेशन प्रतिनिधिहरू छनोट हुने भएका छन् । एमालेको विधान अनुसार सदस्य संख्याका आधारमा १० जना प्रतिनिधि छनोट हुने सुनिश्चित भएको छ । तर महाधिवेशन प्रतिनिधिको लागि लमजुङमा कोटाभन्दा धेरै आकांक्षीहरू भएपछि मतदान हुने स्थिति उत्पन्न भएको हो ।
एमालेले देशैभर एकै तिथि मितिमा महाधिवेशन प्रतिनिधिहरू चयनको काम मंसिर १० गते सुरु गरेको हो । सो दिन निर्धारित कार्यतालिका अनुसार उहाँ स्थित एमाले जिल्ला पार्टी कार्यालयमा प्रतिनिधिका आकाङ्कक्षीहरूले उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । एमालेको लमजुङमा कुल संगठित सदस्य संख्या पाँच हजार ४७३ जना रहेको छ । तीमध्ये दलितको संख्या ७५८ जना रहेका छन् । दलितका हकमा छुट्टै प्रावधान बनाई खुलातर्फ दलितले भोट दिन नपाउने र दलितलाई खुलाले भोट दिन नपाउने प्रावधान रहेको एमालेका जिल्ला सदस्य एवम् कार्यालय सचिव सरोज विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार यदि कोही दलित खुलातर्फ जान चाहेमा जान सक्ने र त्यसको म्याद मंसिर ६ गतेसम्म रहेको थियो । उहाँले भन्नुभयो, ‘त्यसरी एकजना दलित खुलातर्फ जानु भएको छ । ’
लमजुङबाट खुल्ला तर्फ ४ जना, महिलातर्फ ३ जना, दलिततर्फ २ जना र युवा क्लस्टरबाट एक जना प्रतिनिधि चयन हुने प्रावधान रहेको एमाले लमजुङको भनाइ छ । कुल १० जना महाधिवेशन प्रतिनिधि चयन हुनेमा ४० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको एमाले जिल्ला अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार खुल्लातर्फ २१ जना, महिलातर्फ १० जना, दलितमा ५ जना र युवातर्फ ४ जना आकांक्षीहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । एमालेमा जिल्ला अध्यक्षले समेत महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित भएर जानु पर्ने प्रावधान रहेको छ ।
महाधिवेशन प्रतितिनिधि छनौटको कार्यतालिका अनुसार मनोनयन दर्ताको समय बुधवार साँझ ४ बजेसम्म रहेको एमालेका कार्यालय सचिव सरोजले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर १२ गते साँझ ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहको छ ।
मनोनयन गरेका सबै उम्मेदवारबीच छलफल गरी जिल्लामा सकेसम्म सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोटको प्रयास गरिने एमालेले जनाएको छ । यद्यपी सर्वसम्मत नभएमा मङ्सिर १३ गते मदतान प्रक्रियाबाट प्रतिनिधि निर्वाचित गरिने तयारी चलिरहेको छ ।
लमजुङबाट १० जना बाहेक एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवम् अनेमानसंघका केन्द्रीय अध्यक्ष टुका हमाल, एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले, डा. भिष्म अधिकारी, कल्पना थापा, केन्द्रीय अनुसासन समितिका सदस्य मायानाथ अधिकारी समेत छ जना स्वतः महाधिवशेन प्रतिनिधि हुने पार्टी जिल्ला अध्यक्ष विष्टले बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट कुल १६ जना महाधिवशेन प्रतिनिधिले भाग लिने छन् ।
एमालेको ११औं महाधिवेशन काठमाडौँमा यही मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ ।

प्रकाशित मिति २०८२ मंसिर १२, शुक्रबार ०९:०० गते
हजुरको प्रतिक्रिया